भारतमा एकैदिन ९७ हजारभन्दा बढीमा देखियाे काेराेना, सङ्क्रमितकाे संख्या कति पुग्याे ?
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । महाराष्ट्रमा अहिले पनि दुई लाख ६१ हजार ७९८ जना सक्रिय सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने चार हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । कुल ४८ हजार ४८२ जना सक्रिय सङ्क्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । नमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म आठ हजार १५४ जनाको मृत्यु भएको छ । त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । रासस/एएनआई
कोभिड १९ का कारण विश्वभर २ सय नेपालीको मृत्यू, ३५ हजार संक्रमित
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो । यस्तै नेपालमा मात्र ४५ हजार २ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्य २७ हजार १ सय २७ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ । नेपालमा २ सय ८० जनाको कोरोना कारण ज्यान गएको छ । कोरोना संक्रमणका कारण नेपालसहित ४ सय ८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ८० हजार २ सय १६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार १ सय १० जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ । ५६ हजार ७ सय ७७ जनाको उद्धार कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनपछि विदेशमा अलपत्र गरेका नेपालीहरुको उद्धार कार्यजारी रहेको छ । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली नियोगहरुको संयुक्त पहलमा ५८ देशबाट ३ सय ५९ वटा फलाइट मार्फत हाल सम्म ५६ हजार ७ सय ७७ जना नेपालीलाई ३० देशबाट उद्धार गरिएको छ । यस्तै विदेशमा बिभिन्न कारणले निधन भएका २ सय ९९ जना नेपालीहरुको लास नेपाल पठाएको छ । महामारीमा एनआरएनएको महत्वपूर्ण भूमिकाः मन्त्री ज्ञवाली मध्यपूर्वका ४ देशमा लागू हुने आईएलओको परियोजनाको लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे । विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उनको भनाई थियो । नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए । छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उनले जानकारी गराए । कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमणपछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले कोभिड –१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए । संघको सक्रियतामा शुक्रवार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।
अमेरिकामा कर्पोरेट कर ३४ प्रतिशतले र आयकर ११ प्रतिशतले घट्यो
वासिङ्टन। कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्त राज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ। अमेरिकी बजेट तयार पार्ने कंग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ। बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ उत्पादनभन्दा बढी हुनेछ। यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो। त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो। बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो। कोरोना भाइरस महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ, र यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो। आर्थिक मन्दीका कारण राजस्वमा कमी आएको छ। व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ। कर्पोरेट राजस्व पनि ३४ प्रतिशतले घटेको छ। कोरोना भाइरसका कारण गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो। अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्रऋण उठाउनु स्वाभाविक रहेको बताएका छन्। तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ। डेमोक्रयाट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो। यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ उत्पादनको ९८ प्रतिशत पुग्नेछ, र यो वस्तु तथा सेवाको कूल अंक बराबर हो। बजेट कार्यालयले सन् २०२१ मा राष्ट्रऋण कूल जिडिपीको १०० प्रतिशत पुग्ने जनाएको छ। आगामी दशकमा राष्ट्रऋण करिब १३० खर्ब डलर पुग्नेछ। रासस