सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटमा
संयुक्त राष्ट्रसङ्घ । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् । उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् । रासस
कम्बोडियाको बर्डफ्लुको जोखिम मानव समुदायमा कम रहेको डब्लुएचओको भनाइ
नोमपेन । कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ । यसअघि, गत हप्ता दक्षिणपूर्वी एसियाली राष्ट्रले बर्ड फ्लुबाट दुई जना मानिसमा सङ्क्रमण भएको पुष्टि गरेको थियो । दक्षिणपूर्वी प्रि वेङ प्रान्तकी ११ वर्षीया बालिका पहिलो सङ्क्रमित व्यक्ति रहेको र उनको फेब्रुअरी २२ मा भाइरसका कारण मृत्यु भएको थियो । उनका ४९ वर्षीय बुबालाई एक दिनपछि भाइरसको लागि सकारात्मक परीक्षण गरिएको थियो र हाल उनी प्रे वेंग प्रान्तीय रेफरल अस्पतालमा आइसोलेसनमा छन् । मृतक बालिकाको सम्पर्कमा रहेका अन्य ११ जनाको बर्ड फ्लु भाइरसको परीक्षणमा सङ्क्रमण पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेसम्मका प्रमाणका आधारमा यो भाइरसले मानिसलाई सजिलै सङ्क्रमित गर्दैन र एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु असामान्य देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘अहिलेसम्म उपलब्ध सूचनाका आधारमा डब्लुएचओले यो भाइरसबाट उत्पन्न हुने जोखिम कम भएको आँकलन गरेको छ,’ उनले भने । कम्बोडियाका लागि डब्लुएचओका प्रतिनिधि ली आइलानले प्रकोपविरुद्ध द्रुत प्रतिक्रियाका लागि साउदी अरबको पनि प्रशंसा गरेका छन् । रासस
युद्धग्रस्त यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसङ्घद्वारा ४ अर्ब ३० करोड डलर माग
जेनेभा । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष चार अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् । यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ । यमन जलवायु सङ्कटको प्रभाबको अग्रपङ्क्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ‘विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भए पनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौं यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,’ संयुक्त राष्ट्रसङ्घले सोमबार जारी विज्ञप्तिमा भनिएको छ । सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । गत वर्ष अप्रिल २ मा शुरू भएको युद्धविराम गत अक्टुबरमा समाप्त भएको थियो । जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो सङ्कट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् । ‘यो हाम्रो अपीललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्ट्रसङ्घ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब एक करोड १० लाख मानिससम्म पुग्नका लागि २.२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो । रासस