सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो । यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ । रासस/सिन्हवा
श्रीलङ्कामा इन्धन कारोबारमा क्यूआर कोड लागू
काठमाडाैं । श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्यूआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइदा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । देशभरीका सबै पेट्रोल पम्पहरुमा यो व्यवस्था गरिएको र उपभोक्तालाई पनि यस बारेमा जानकारी गराइएको उर्जा मन्त्री कन्चना विजेसेकेराले बताउनु भयो । उहाँले इन्धन लिनका लागि पेट्रोल पम्पहरुमा भिडभाड नगर्न पनि उपभोक्तहरुलाई अनुरोध गर्नु भएको छ । सरकारले उपभोक्तको चापका आधारमा हरेक पेट्रोल पम्पलाई इन्धनको कोटा निर्धाण गरेर कोटा अनुसारको इन्धन उपलब्ध गराएको छ । एजेन्सी
म्यानमारमा सङ्कटकाल छ महिना थप
याङ्गुन । म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको जानकारी दिएको हो ।सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरु छ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ । यहाँका कार्यबाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रुअरी १ मा एक वर्षका लागि सङ्कटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले सङ्कटकाल लम्ब्याएको थियो । म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ । रासस/सिन्ह्वा