राहुल गान्धीको पुनरावेदन खारेज
नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । रासस
युक्रेनको वैदेशिक व्यापार ७ प्रतिशतले घट्यो
युक्रेन । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ । खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ । मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र रसायनहरू लगायतका वस्तुहरू छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९.६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो । रासस
‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’
कोरिया । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका प्रक्षेपणका तस्बिर शक्तिशाली क्यामराले नखिचिएकाले अझैपनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाई छ । मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य टोही उपग्रह महत्वपूर्ण हुने बताउँदै खुफिया सूचना सङ्कलन गर्ने भूउपग्रहबारे जानकारी लिएका थिए । वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएका बताइएको छ । उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले गरेको बृहत् सैन्य अभ्यासबाट अझ रिसाएको उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको छ । रासस