अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरिने समय नजिकिदै छ । यसै जनवरी २१ तारेखमा उनको कार्यकाल पूरा हुँदैछ । जाँदाजाँदै उनले ७ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्रम्पले प्रयोगकर्ताको सम्पूर्ण जानकारी चिनियाँ सरकारसामु पुर्‍याएको आरोप लगाएका छन् । यस्ता एप्सहरुले राष्ट्रिय सुरक्षामा खतरा बढाएको उनको आरोप छ । बीबीसी का अनुसार अलिपे, विच्याट लगायत अन्य चिनिया कम्पनीसंग जोडिएका एप्समार्फत कारोबारमा प्रतिबन्ध लगाएका हुन् । ट्रम्पले जारी गरेको आदेश अनुसार वीमेट, वीच्याट पे, अलिपे, क्यामस्क्यानर, क्यूक्यू वालेट, शेयर इट्, टेन्सेन्ट क्यूक्यू र डब्ल्यूपीएस अफीसमाथी प्रतिबन्ध लगाइएको छ । ‘यस्ता एप्स निमार्ण गर्ने डेभ्लपर्स र चिनियाँ सफ्ट्वेयरमाथि अमेरिकाले कडा कदम चाल्नुपर्छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘यसले हाम्रो राष्ट्रिय सुरक्षामाथि खतरा बढाउँछ ।’ अनलाइन कारोबारका लागी अलिपे निकै लोकप्रिय प्लेटफर्म हो । त्यस्तै क्यूक्यू वालेट र विच्याट् पे पनि संसारभर उत्तिकै लोकप्रिय एप्स हुन् । ट्रम्पको आदेशको असर ४५ दिनपछि देखिनेछ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध

एजेन्सी । फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । जनवरी २० मा ट्रम्पको कार्यकाल सकिदै छ । उनको कार्यकालभरका लागी फेसबुकले प्रतिबन्ध लगाएको फेसबुकका कार्यकारी प्रमुख मार्क जुकरबर्गले बिहिबार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो जानकारी गराएका हुन् । बुधबार अमेरिकी संसद भवनमा आक्रमण भएको थियो । त्यसपश्चात् ट्रम्पलाई २४ घण्टाका लागी प्रतिबन्ध लगाइएको थियो । ‘यस्तो अवस्थामा हाम्रो प्लेटफर्म य्रयोग गर्न दिनु चुनौतीपूर्ण हुनेछ ।’ जुकरबर्गले भने ‘थप दुई हप्ताका लागी हामीले प्रतिबन्ध लगाएका छौं ।’ अब ट्रम्पले दुई हप्ता फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न पाउने छैनन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई ट्रम्पले सजिलै सत्ता हस्तान्तरण गर्न नमानेको बुझिएको छ । शान्तिपूर्ण अवस्था नआउञ्जेलसम्मका लागी उनलाई प्रतिबन्ध लगाइएको जुकरबर्गले लेखेको छन् । यसअघि ट्रम्पलाई ट्वीटरले पनि प्रतिबन्ध लगाएको थियो । विवादित ट्वीटहरु ट्रम्पले डिलिट गरेपछि उनलाई ट्वीटरले उक्त प्रतिबन्ध फुकुवा गरेको थियो ।  

कोरोनाका कारण ६०० बढी पत्रकारको मृत्यु

जेनेभा । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन ९पीईसी०ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । त्यसैगरी एसियाका १४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको यस संस्थाले पत्रकारहरु समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरुमा सङ्क्रमणको खतरा धेरै रहेको बताइएको छ । “पत्रकारहरु स्थलगत रुपमा काम गर्नु पर्ने व्यावसायिक प्रकृतिका भएकाले सङ्क्रमणको सम्भावना बढी हुन्छ, त्यसैले उनीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पनि प्राथमिकता दिनुहुन सबैलाई अनुरोध छ,” पीईसीका महासचिव ब्लैस लेम्पेनद्वारा जारी वक्तव्यमा लेखिएको छ । फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरु बढी खतरामा रहेको उनको भनाइ छ । देशअनुसार हेर्दा कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा भएको देखिएको छ । पेरुमा ९३ जनाको मृत्यु भएको उल्लेख छ । दोस्रो धेरै ब्राजिलमा ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस