सन् २०२० लाई फर्केर हेर्दाः अन्य वर्षभन्दा धेरै फरक र पिडादायी

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर बितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोना भाइरसको महामारीका कारण यो वर्ष लामो समयसम्म स्मरणीय वर्ष बन्ने भएको छ । सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सबै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भएका छन् । यस वर्षका मुख्य घटनाहरु यहाँ छोटकरीमा चर्चा गरिएको छ । कोरोना महामारी यस वर्षको सबैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो यस बर्षको मात्रै नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ । कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोपपनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनिकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिँदैछ । इयूबाट बोलायतको बहिर्गमन लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । यूरोपेली संघबाट बाहिरिएपछि अहिले ब्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ । ट्रम्पमय राजनीति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहेपनि यस बर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप प्रत्यारोप, मास्क बहिस्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे। दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यस बर्षले टुंगो लगायो । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले । वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गर्यो । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लाग्यो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि तार्किक निश्कर्षमा पुगेको छैन । सलह आतंक यस बर्षका विश्वव्यापी चर्चित घटना मध्ये सलह आतंक पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक बर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पुर्याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ । ठूला दुःखद घटना यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरी नै तरङ्ग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झण्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे हम्मे पर्यो । आगलागीको असर अन्य देशहरुमा पनि पर्यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी-अमेरिकीको प्रहरीले हत्या गरेपछि रङ्गभेद आन्दोलनले अमेरिका तरङ्गित भयो । किमको मृत्युको हल्ला बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस बर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कविहिन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झण्डै २० दिनपछि उनी प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भएका थिए । उनको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुनेगरेकोमा यस पटक पनि झुटो सावित भएको छ । अल विदा म्यारोडोना फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनु पर्यो । उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए । सन् २००० मा फिफाले मतदान गराउदा अर्र्जेिन्टनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए । खेल जगत्मा कतिपयले उनलाई फुटबलमयी खेलाडी र भगवान्समेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौं खेलप्रेमी स्तब्ध भएका थिए । उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो । माथि उल्लेखित बाहेक पनि बर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरुलाई गुमाएको छ । त्यसैगरी अरु धेरै दीर्घकालिन महत्व राख्ने घटनाहरु पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए । रासस

नयाँ प्रकारको कोरोना भाइरस युरोपेली आठ देशमा पनि पुष्टि

जेनेभा । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइका साथ पालना गर्नु पर्नेमा पनि जोड दिए । कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उनले जानकारी दिएका छन् । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताएपनि उनले देशहरुको नाम भने उल्लेख गरेका छैनन् । उनले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सावुन पानीले हात हुने वा सेनिटाइजरको प्रयोग गर्ने लगायतका उपायहरुलाई कडाइका साथ अबलम्बन गर्न पनि आह्वान गरे । “डब्लुएचओले सवै अवस्थालाई गम्भीरतापूर्वक नियालीरहेको छ,” निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्लुएचओको भनाई छ । नयाँ प्रकारको कोरोना बेलायतमा गत हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ । हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरी सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ । सवैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ । रासस/एएनआई/एपी

कोरियामा कोरोनाको तेस्रो महामारीः ४ भन्दा बढी भेला हुन नपाइने

सउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेको छ । आउँदै गरेको क्रिसमस पर्व तथा नयाँ वर्षका समयमा हुन सक्ने भीडभाडलाई ध्यानमा राखी सरकारले बिहीबारदेखि देशैभर उक्त नियम लागू हुने बताएको छ । यससँगै कम्पनीभित्रै सहकर्मीबाट पनि कोरोना फैलिन सक्ने भएकाले कामका समयमा समेत अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । छड्के जाँचका अवस्थामा कुनै कामदार वा कर्मचारीले मास्क नलगाएको भेटिएमा कम्पनीका तर्फबाट र मास्क नलगाउने कर्मचारीबाट जरिवाना हुने बताइएको छ । यसअघि नै सार्वजनिकस्थलमा ‘नो मास्क नो राइड’ नियम लागू छ । पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाव रहेका सउल, ख्याङ्दिो तथा इन्छन क्षेत्रमा थप कडाइका साथ उक्त नियम लागू गरिने भएको छ । दक्षिण कोरियामा एक हप्तादेखि लगातार दैनिक सङ्क्रमितको सङ्ख्या एक हजार बढी नाघ्न थालेपछि अस्पतालमा शय्या अभाव हुन थालेको छ । सरकारले नियन्त्रणस्वरूप सामाजिक दूरीलाई थप कडा पार्दै आइरहेको छ । दक्षिण कोरियामा हालसम्म सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । जनवरीको अन्तिमदेखि कोरियाले पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । दक्षिण कोरिया सरकारले आगामी जनवरीको अन्त्यदेखि कोरोनाविरुद्ध खोप लगाउने तयारी गरेको छ । सरकारी स्वास्थ्य अधिकारीका अनुसार पहिलो चरणमा अग्रमोर्चामा काम गर्ने स्वास्थ्यकर्मीमा खोप दिइने बताइएको छ । कोरियाले आपत्कालीन प्रयोगका निमित्त प्रारम्भिक आपूर्तिस्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको दुई करोड ५० लाख मात्रा खोप प्राप्त गर्नेछ । हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको पर्खाइ छ ।