अमेरिकामा एक हप्ताभित्रै कोभिड-१९ बाट १० हजारको मृत्यु
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोना संक्रमणबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् । अझै पनि विश्वभर १ लाख ६ हजार व्यक्ति गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका छन् । रासस-एपी
जापानको बेरोजगार दर तीन वर्ष यताकै उच्च
टोकियो । जापानको बेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको सङ्ख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०.२ प्रतिशतले वृद्धि हुँदा यो सङ्ख्या ३.४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत)मा कुनै परिवर्तन नदेखिएको पनि तथ्याङ्कले देखाएको छ । त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ । जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्याइएको छ । रासस/सिन्ह्वा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए । ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए । चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानुनी चुनौतीहरू दिएका थिए । तर अदालतले ट्रम्पले लगाएका आरोपहरुमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरु खारेज गरिदिएका थिए । हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकार गर्न नजिक पुगेको देखिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताएका छन् । इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ । अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गरेका देखिएको छ । संविधान अनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन राष्ट्रपति-निर्वाचितका रुपमा रहने छन् । रासस/एएफपी