विमानभित्रै झडपपछि आकस्मिक अवतरण

एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भने,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ । सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो । यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली–लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ । मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पु¥याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ । एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरीमा एफआइआर पनि दर्ता गरिएको छ । एयर इन्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्वपूर्ण छ । हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछौं ।” अन्य यात्रुहरुलाई परेको असुविधाप्रति कम्पनीले दुःख प्रकट गर्दै सोमबार दिउँसो लण्डनका लागि उडान तालिका परिवर्तन गरेको जनाएको छ । विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पिडित दुवै दिल्ली बाहिरका हुन् । रासस

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

एजेन्सी । श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८।५ प्रतिशतले अधिक भएको श्रममन्त्रीले बताए । गत जनवरीमा ४३ करोड ७५ लाख तथा फेब्रुवरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको श्रीलङ्काको केन्द्रीय बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कका अनुसार सन् २०२१ मा पाँच अर्ब ४९ करोड र सन् २०२२ मा तीन अर्ब ८० करोड डलर विप्रेषण आप्रवाह भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलङ्काको वैदेशिक राजस्वको प्रमुख स्रोत हो । रासस

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध

अस्ट्रेलिया । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन् । साथै उनले उक्त प्रतिबन्ध यथाशीघ्र कार्यान्वयन हुने बताएका छन् । यसअघि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य र न्युजिल्याण्डले उक्त एप्लिकेशनमाथि प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संसद्, युरोपेली आयोग र २७ सदस्यीय युरोपेली सङ्घका तीन प्रमुख संस्थाले पनि आफ्ना कर्मचारीका उपकरणमा टिकटक निषेध गरेका छन् । ती संस्थाले कर्मचारीलाई आफ्ना मोबाइल फोनबाट टिकटक हटाउन आग्रह गरेको छ । चिनियाँ प्राविधिक कम्पनी बाइटेन्सले आफ्नो स्वामित्वको टिकटकमा आवद्ध व्यक्तिका विवरण चीन सरकारलाई उपलव्ध नगर्ने जनाउँदै अमेरिकी प्रयोगकर्ताका विवरणलाई पनि चीनको पहुँच बाहिर राख्ने बताएको छ । अन्य सामाजिक सञ्जाल कम्पनीभन्दा धेरै प्रयोगकर्ताको विवरण सङ्कलन गरेको आरोपमा टिकटकको मातृ कम्पनी विवादमा पर्दै आएको छ । यद्यपि उसले आफ्नो व्यवस्थापन स्वतन्त्र रहेको र टिकटकका विवरण सुरक्षित रहेको दाबी गर्दै आएको छ । गोपनीयता र सुरक्षा चिन्ता जनाउँदै भारतले सन् २०२०मा टिकटक र ‘मेसेजिङ एप वी च्याट’लगायत दर्जनौँ चिनियाँ एपमा राष्ट्रव्यापी प्रतिबन्ध लगाएको थियो । चीन र भारतबीचको सीमा क्षेत्रमा दुवै देशका सैनिक आमनेसामने भएपछि नयाँदिल्लीले उक्त निर्णय गरेको थियो । चिनियाँ र भारतीय सेनाबीचको भिडन्तमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएकामा चीनले त्यसको आलोचना गर्दै त्यसलाई राज्यशक्तिको दुरुपयोग भनेको छ । साथै उसले अन्य देशका कम्पनीलाई अमेरिकाले दबाइरहेको आरोप पनि लगाएको छ । रासस