भारतमा कोरोनाका बिरामी बढे

भारत । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिएभने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए । हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन्भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्यलाभ गरेका उक्त मन्त्रालयले जनाएको छ । रासस

सिङ्गापुरमा एककिलो गाँजा बोक्दा मृत्युदण्ड

सिङ्गापुर । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् । सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो । मानवअधिकारवादीहरूले पर्याप्त प्रमाण बिना नै उनलाई दोषी ठह¥याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिङ्गापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाई भएको बताएका छन् । लागू पदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिङ्गापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो । ती मध्ये तीन चम्चा हेरोइन तस्करी गरेको आरोपमा दोषी मानिएका बौद्धिकरूपमा अक्षम एक जनालाई पनि फाँसी दिइएको थियो । विश्वका विकसित देशमा गाँजामाथिको प्रतिबन्ध खुलिरहेका बेला सिङ्गापुर भने लचिलो भएको छैन । छिमेकी मलेसियाले मृत्युदण्डमा संशोधन गरेको छ भने थाइल्याण्डमा गाँजाको कारोबारलाई वैधानिक मानिन्छ । अमेरिकाका केही राज्यमा पनि गाँजालाई औषधीय प्रयोजनका निम्ति खुला गरिएको छ । रासस

८० वर्षपछि फेला पर्यो दोस्रो विश्वयुद्धको जहाज

वाशिङ्टन । दोस्रो विश्वयुद्धमा प्रयोग भएको जापानी जहाज ८० वर्षपछि परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानी जहाजमा एक हजारभन्दा बढी यात्रु सवार रहेको बताइएको छ । सन् १९४२ मा पपुवा न्युगिनीमा ८५० जना युद्धबन्दी र करिब २०० नागरिक बोकेको जापानी जहाज मोन्टेभिडियो मारुको भग्नावशेषमा जापानीले पपुवा न्युगिनीमा कब्जा गरेका थिए। जहाजमा को को थिए भन्ने थाहा नभएपछि जहाजलाई पानीमै डुबाइएको थियो । जहाजको भग्नावशेष यसै साताको शुरुमा फिलिपिन्सको दक्षिणी चीन सागरमा भेटिएको थियो । यो मिसन अष्ट्रेलियाको रक्षा मन्त्रालय, अष्ट्रेलियाको साइलेन्टवर्ल्ड फाउन्डेसनका समुद्री पुरातत्वविद् र डच गहिरो समुद्री सर्वेक्षण कम्पनी फुग्रोका विज्ञको संयुक्त प्रयासमा अघि बढाइएको थियो । त्यसपछि यसै महिनाको शुरुमा फिलिपिन्सको तटमा खोजी अभियान शुरु गरिएको थियो । अष्ट्रेलियाको रक्षा मन्त्रालयको सहयोगमा समुद्री पुरातत्व र इतिहास तथा फुग्रोलाई समर्पित साइलेन्टवर्ल्ड फाउन्डेशनले सँगै राखेको मिसनमा भग्नावशेष पत्ता लगाइएको थियो । मोन्टेभिडियो मारुबाट कुनै वस्तु वा मानव अवशेष नहटाइने बताइएको छ । नयाँ खोजमा प्रतिक्रिया दिँदै अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले ट्वीटमा उल्लेख गरेका छन् – ‘८० वर्षभन्दा बढी समयदेखि, सयौँ अष्ट्रेलियाली परिवारले मोन्टेभिडियो मारुको समाचारको लागि पर्खिरहेका छन् । यो हप्ता एक असाधारण खोज प्रयासको लागि सम्बद्ध सबैलाई धन्यवाद, जहाजको अन्तिम विश्राम स्थान पत्ता लगाइएको छ ।’ रासस