नव-निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे १९ खर्ब डलरको राहत प्याकेज

एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना महामारी र आर्थिक संकटसँग जुझ्न १.९ ट्रिलियन डलर (१९ खर्ब डलर) को आर्थिक प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले अमेरिकामा मानविय र धनजनको ठूलो क्षति पुर्‍याएको छ । बाइडेनले यसलाई ‘गहिरो मानविय संकटको घडी’ का रुपमा व्याख्या गरेका छन् । बाइडेनले अगाडी सारेको यो आर्थिक प्याकेज महत्वकांक्षि छ । भ्याक्सिन टेस्ट गर्नकै लागी १ सय ६० बिलियन डलर छुट्याइएको छ । स्वास्थ्य सम्बन्धि अन्य कार्यक्रम र स्थानिय सरकारका लागी ३ सय ५० बिलियन बजेट छुट्याएको छ । महामारीबाट पीडित परिवारको राहतका लागी १ ट्रिलियन खर्च गरिने उनले घोषणा गरेका छन् । त्यस्तै बेरोजगारी भत्ता पनि छुट्याएको छ । ‘अब खेर फाल्ने समय छैन ।’ डेमोक्रेटिक पार्टीबाट चुनाव जितेका बाइडेन भन्छन्, ‘हामीले काम गर्नुपर्छ । र, हामीले अहिल्यै काम गर्नुपर्छ ।’ बाइडेनको यो प्रस्ताब अमेरिकी कंग्रेसबाट पारित भएमा प्रतिव्यक्ति ६ सय देखी १ हजार ४ सय अमेरिकी डलर दिइनेछ । बेरोजगार भत्तामा पनि केही रकम बढाईएको छ । सेप्टेम्बरसम्मका लागी हरेक हप्ता ३ सयदेखी ४ सय डलरका दरले बढाईनेछ । ‘कोरोना महामारीका कारण लाखौं अमेरिकीहरुले बिना गल्ती आफ्नो जागिर गुमाएका छन् । त्यसको साथमा इज्जत र प्रतिष्ठा पनि गुमाएका छन् ।’ बाइडेनले बिहिबार विल्मिङ्टनमा भने ‘अर्थतन्त्रका कारण पीडा भोग्नु परेको छ ।’ कोरोना महामारीका कारण उब्जिएको समस्या समाधान गर्न उनले बाचा नै गरेका छन् । आफ्नो १ सय दिनको कार्यकालमा पर्याप्त काम गर्ने उनले बताएका छन् । बाइडेनले छिटै नै अमेरिकाका राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दै छन् । कोरोना महामारीकै कारण अमेरिकामा ३ लाख ८५ हजार मानिसको मृत्यु भईसकेको छ । कोरोना महामारीपछि बेरोजगारको संख्या पनि ९ लाख ६५ हजार पुगिसकेको छ । जब कि महामारी अगाडी त्यो संख्या लगभग २ लाख २५ हजार थियो ।

चीनमाथि अमेरिकी आर्थिक नाकाबन्दी विफल, अमेरिकातर्फकाे निर्यात ३१७ अर्ब डलरले वृद्धि

बेइजिङ । संयुक्तराज्य अमेरिकासँग चीनको व्यापार बचत (सरप्लस) गत वर्ष सन् २०२० मा अझ फराकिलो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा चीनसँगको व्यापार अन्तरलाई कम गर्ने प्रयास गरेपनि त्यो असफल भएको नयाँ विवरणहरुले देखाएका छन् । कोरोनाभाइरस महामारीका बीचमा पनि अमेरिकामा विद्युतीय र चिकित्सा उपकरणको माग उच्च भएको छ । चीनले कोरोनाभाइरस नियन्त्रणमा ल्याउन कडा लकडाउन सहितका प्रभावकारी कदम चालेसँगै चीनका कारखानाहरु दोस्रो चौमासिक अवधिदेखि पूर्ववत रुपमा संचालनमा आएका छन् भने जनजीवन सामान्य अवस्थामा फर्किएको छ । चार वर्षअघि राष्ट्रपतिको कार्यकाल प्रारम्भ गर्दा चीनसँगको व्यापार घाटा कम गर्ने आफ्नो पहिलो कदम हुने घोषणा गरेका राष्ट्रपति ट्रम्पले अमेरिकी सामान खासगरी सोयाबिनलाई चिनियाँ बजारमा सहज पहुँच दिलाउन बेइजिङसँग आंशिक सम्झौतामा हस्ताक्षर गरेका थिए । तर चिनियाँ भन्सारले सार्वजनिक गरेको विवरणमा सन् २०२० मा अमेरिकासँगको व्यापारमा तीन खर्ब १७ अर्ब डलरले वृद्धि भएको उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा करिब ७.१ प्रतिशतले बढी हो । यो वृद्धि सन् २०१७ को व्यापार बचत रकम करिब २७६ अर्ब डलरभन्दा १४.९ प्रतिशत बढी हो । ट्रम्पले व्यापार घाटा बढ्नुमा चीनले अवाञ्छित व्यापार नीति लिएको र अमेरिकी रोजगार खोसेको आरोप लगाउँदै आउनु भएको थियो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थव्यवस्था कोरोनाभाइरस महामारीका कारण सन् २०२० पहिलो चौमासिकमा केही खुम्चिएको थियो । तर चीनले कोरोनाभाइरस नियन्त्रणमा सफलता प्राप्त गरेसँगै लकडाउनमा सहजीकरण गरिएको र मानिसहरु काममा फर्किन पाएका थिए । चीनको कूल निर्यात पनि ३.६ प्रतिशतले वृद्धि भएको थियो, तर आयात भने १.१ प्रतिशतले खुम्चिएको थियो । सन् २०२० को डिसेम्बरमा निर्यात र आयात दुबै प्रक्षेपण गरिएभन्दा बढी भएको थियो । यस महिनामा निर्यात १८.१ प्रतिशत तथा आयात ६.५ प्रतिशत रहेको चिनियाँ भन्सारले जनाएको छ । चिनियाँ भन्सारका प्रवक्ता लि कुइवेनले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिमा पनि चीनले आयात र निर्यात दुबै क्षेत्रमा उत्कृष्ट पुनरागमन गरेकामा खुशी व्यक्त गरे । उनले पछिल्ला दिनहरुमा नोटबुक कम्प्युटर, घरायासी विद्युतीय उपकरणका साथै मेडिकल उपकरणहरु समेतका विद्युतीय सामानको निर्यात बढेको बताए । डिसेम्बरमा चीनको कूल व्यापार बचत ७८ अर्ब डलर भएको पनि भन्सार प्रशासनले जनाएको छ ।

गुगलले मिडियालाई ३५ करोड रुपैंयाँ बाँड्दै

एजेन्सी । गुगलले कोरोना भ्याक्सिनबारे फ्याक्ट चेक गर्न मिडियालाई ३ मिलियन डलर (३५ करोड, १० लाख, ५३ हजार एक सय रुपैंयाँ) छुट्याएको छ । भ्याक्सिनबारे गलत समाचार रोक्न यो बजेट छुट्याएको हो । द गुगल न्युज इनिसियटिभले मिडिया र फ्याक्ट चेक गर्ने संस्थाहरुलाई यो रकम प्रदान गर्न लागेको घोषणा गरेको छ । बेलायति समाचार संस्था रोयटर्सका अनुसार कोभिड १९ को भ्याक्सिन बारे भ्रमपूर्ण समाचार छापिएपछि सत्य, तथ्य सूचना दिन गुगलले चासो दिएको हो । यसअघि गुगलले फ्याक्ट चेकिङ प्रोजेक्टका लागी अप्रिलमा ६.५ मिलियन (७६ करोड, ६ लाख १५ हजार, ५० रुपैंयाँ) र डिसेम्बरमा १.५ मिलियन (१७ करोड, ५५ लाख, २६ हजार ५ सय ५० रुपैंयाँ) प्रदान गरेको थियो । गुगलले प्रदान गर्न लागेको यति ठूलो रकम कसले पाउँदैछ ? के फ्याक्ट चेकिङ मात्र पर्याप्त छ त ? फस्र्ट ड्राफ्ट, कोम्प्रोभा, फुल फ्याक्ट, मल्टिडाडट्इएस, कोरेक्टिभ, पोलिटिफ्याक्ट, कैसर हेल्थ न्युज, स्ट्यान्डफोर्ड युनिभर्सिटी, द इन्टरनेश्नल फ्याक्ट चेकिङ नेटवक्र्स, साइन्स फिड्ब्याक र डाटा लिड्सले अप्रिलले ग्रान्ट पाएका थिए । यस्तै डिसेम्बरको सूरुवातमा द अस्ट्रेलियन साइन्स मिडिया सेन्टर र द टेक्नोलोजि नन् प्रोफिट् मिडानले १ मिलियन डलर (११ करोड ७० लाख १७ हजार ७ सय) प्राप्त गरेका थिए । यी संस्थाले पत्रकारहरुलाई आवश्यक पर्ने सूचना र अनुसन्धानपछि प्राप्त तथ्य उपलब्ध गराउँथे । अहिले गुगलले प्रदान गर्न लागेको फन्डमा जुनसुकै मिडिया हाउसले एप्लाइ गर्न सक्नेछन् । तर, प्रतिष्ठित फ्याक्ट चेकिङ संस्थासँग मिलेर काम गर्नु पर्नेछ । फ्याक्ट चेकिङ संस्थासंग सहकार्य गरेर मिडिया आउटलेटले फ्याक्ट चेकको काम गर्न सक्नेछन् । यसमा पत्रकार, डाक्टर संयुक्त रुपमा पनि मिलेर काम गर्न सक्नेछन् ।