२९१५ बिन्दुमा झर्‍यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २९१५ बिन्दुमा झरेको छ ।  आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९० करोड रुपेयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टिलरीको ६८ करोड, शिवभ् सिमेन्टको ६५ करोड र लुम्बिनी विकास बैंकको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक, ट्रेड टावर र नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।   

राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा  राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे ।  उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । 

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे छुट प्राप्त गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा आवास, भोजन तथा स्पा सेवामा छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापछि ग्राहकहरूले होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् । यस सुविधा उपभोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले उक्त सहकार्यले ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।