१२ प्रतिशत लाभांश बाँड्ने निर्धन उत्थान लघुवित्तको घोषणा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

५ महिनामै वीरगञ्ज भन्सारले उठायो ९६ अर्बभन्दा बढी राजस्व

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आवको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १२ अर्ब १ करोड रुपैयाँ अर्थात् १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । जबकी कार्यालयले गत आवको ५ महिनामा भने ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको ५ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए । ‘कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, कार्यालयले सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले चालु आवको ५ महिनामध्ये सबैभन्दा धेरै राजस्व पनि मङ्सिर महिनामा सङ्कलन भएको बताए । साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड रुपैयाँ तथा मङ्सिर महिनामा भने २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयालाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको ५ महिनामा वार्षिक लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन भएको छ ।   

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने अनलाइन कर्जा ट्र्याकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकहरूले अब आवेदनको अवस्था बुझ्न बैंकको शाखामा धाउनुपर्ने वा पटक–पटक फोन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । बैंकले डिजिटल माध्यमबाट कर्जा प्रक्रिया थप पारदर्शी, सहज र छरितो बनाउने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ प्रदान गरिनेछ । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा गई ‘अनलाइन कर्जा ट्र्याकिङ’ सेवा चयन गरेर वा सिधै https://digi.nmb.com.np/loan-tracker मार्फत आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकले यस सेवाले ग्राहक अनुभव सुधार गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ ।