बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको  ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ । जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने उद्देश्य सहित नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना ग्राहक माझ ल्याएको हो । उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउन पुग्दछन् । त्यसका लागि बेष्ट फाइनान्सले हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था मिलाएको छ । स्थानीय निकायहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने तथा उक्त बिरुवा रोपेर हुर्काउने र ५ बर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी समेत गरेको छ । उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्र्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस काठमाडौंको तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका वडा नं. १ स्थित बेष्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौंर स्थित खाली जग्गामा पाँच सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौंतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । उक्त वृक्षारोपण कार्यक्रमलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढि क्लबहरुले ऐक्यबद्धता जनाएका थिए ।

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्‍यो ‘समुन्नति योजना-२’, नयाँ खाता योजनासँग आकर्षक सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै 'ग्लोबल आइएमई समुन्नति योजना-२' नामक नयाँ खाता योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०० रुपैयाँ कायम गरी खाता खोल्न सक्नेछन् । यो योजनाअन्तर्गत ग्राहकले निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ सेवा, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड सेवा, खातामा रकम जम्मा र झिक्दा शुल्क नलाग्ने सुविधा, साथै बैंकिङ सम्बन्धी परामर्श लगायतका सेवा पाउनेछन् । खासगरी बैंकिङ पहुँचबाट टाढा रहेका व्यक्तिहरूलाई वित्तीय प्रणालीमा समावेश गराउने उद्देश्यले ल्याइएको यो योजना बैंकको वित्तीय समावेशीकरण अभियान अन्तर्गत ल्याइएको हो । साथै, योजनाले ग्रामीण तथा दूरदराजका क्षेत्रका नागरिकलाई बैंकिङ सेवामा जोड्ने अपेक्षा गरिएको छ । बैंकका अनुसार, समुन्नति योजना–२ बाट ग्राहकले उच्चतम ब्याजदरको लाभ लिन सक्नेछन् भने बचत संस्कार अभिवृद्धि गर्न र डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न पनि यसले सहयोग गर्ने विश्वास लिइएको छ । ग्लोबल आइएमई बैंक नेपालभर ३५० भन्दा बढी शाखा, सयौं एटीएम, र देशका सबैजसो प्रमुख स्थानमा सेवा विस्तार गरिसकेको छ । यो योजना पनि देशभरका सबै शाखा कार्यालयहरूमा उपलब्ध हुने जानकारी बैंकले दिएको छ ।

समृद्धि र पोखरा फाइनान्सबीच मर्जर समझदारी, नयाँ संस्था पोखरा फाइनान्सका नाममा अघि बढ्ने

पोखरा । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच एकापसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार बिहान ८:३० बजे पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । समझदारी अनुसार समृद्धि फाइनान्स र पोखरा फाइनान्सबीच एक सेयर बराबर एक सेयरको स्वाप अनुपात कायम हुनेछ । मर्जरपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड रहनेछ भने केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । संयुक्त संस्थाको सञ्चालक समितिमा समृद्धि फाइनान्सबाट अध्यक्षसहित ४ जना र पोखरा फाइनान्सबाट ३ जना प्रतिनिधित्व गर्नेछन् । अध्यक्ष पदमा समृद्धि फाइनान्सका प्रतिनिधि रहनेछन् । सम्झदारीपत्रमा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका मर्जर समिति संयोजक सुदीप घिमिरे र पोखरा फाइनान्स लिमिटेडका मर्जर समिति संयोजक तिल बहादुर गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरे । सम्झदारीले संयुक्त संस्था सबल, सक्षम र प्रतिस्पर्धी वित्तीय संस्था बन्ने अपेक्षा गरिएको छ । यसले नेपाल राष्ट्र बैंकको मर्जर प्रवर्द्धन गर्ने नीतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । संस्थापक तथा सर्वसाधारण शेयरधनीहरूको हित सुरक्षित रहने र समग्र देशको वित्तीय प्रणालीमा सुधार आउने अपेक्षा गरिएको छ ।