मेटलाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यो अवसरले देशभरका लाखौँ मानिसहरूको जीवन र भविष्यको संरक्षणप्रति कम्पनीको निरन्तर प्रतिबद्धता र दीर्घकालीन विकासलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । विगत वर्षहरूमा मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली परिवारको साथ दिँदै आएको छ । आफ्नो यात्राको क्रममा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक पहुँच र सुविधा विस्तारमा उल्लेखनीय लगानी गरेको छ। यसै क्रममा मेटलाइफ नेपालले ‘३६० हेल्थ सेवा’ र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइलाई संयोजन गर्दै मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र सहयोगलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ । मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका प्रमुख (हेड) इलेना बुटारोभाले आगामी वर्षहरूलाई लिएर उत्साह व्यक्त गर्दै भनिन्, 'नेपालसँगै अघि बढ्दै हाम्रा ग्राहकहरूको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।' यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गर्न सफल भएकोमा मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता सामाजिक तथा कल्याणकारी पहलहरूमा कर्मचारीहरूको निरन्तर समर्पणप्रति कम्पनीले प्रशंसा व्यक्त गरेको छ । मेटलाइफ नेपालले सुरक्षा जीवनका सबै आयाममा फैलिनुपर्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारण सभाबाट १९ प्रतिशत लाभांश पारित

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश ३९औँ वार्षिक साधारण सभाबाट पारित गरेको छ । सोमबार काठमाडौंको आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले बैंकको हाल कायम चुक्तापूँजीको १९ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो  । सभाले यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पारित गर्‍यो ।  सभामा सम्बोधन गर्दै बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे । उनले नेपालमा एकमात्र अन्तर्राष्ट्रिय बैंकको रूपमा स्ट्यान्डर्ड चार्टर्ड बैंक विविधताको माध्यमबाट व्यापार र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यमा दृढ रहेको बताए । हाल बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना

काठमाडौं । कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरूलाई विद्युतिय बस र माइक्रोबस खरिदका लागि बैंकबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने डाउन पेमेंटमा परियोजनाबाट निर्धारित अनुदान समेत प्रदान गरिनेछ । बैंकले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थासँगको साझेदारीमा सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनालाई योजना अन्तर्गत समावेश गरेको छ । यसका अतिरिक्त, हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरूले पनि आफ्ना सवारी साधन विद्युतीय सवारी साधनमा परिवर्तन गर्दा थप अनुदान पाउनेछन् । कुमारी बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट ऋणीको सुरुमा आवश्यक पूँजी व्यवस्थापन सहज हुने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोग बढाएर प्रदूषण कम गर्ने बहुआयामिक लाभ पनि हासिल हुनेछ । विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।