एनएमबि बैंकले पायो डिजिटल सर्भिसेज् आइसीटी अवार्ड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । बैंकले नयाँ डिजिटल माध्यम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो । यस उपलब्धिले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिबिम्बित गर्दछ । एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अप्पर हेवाखोला हाइड्रोपावरले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरूलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सो दरमा लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

१३४ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले बढेर २५८४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ७६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सागर डिस्टीलरीको ८ करोड, सीईडीबी होल्डीङसको ७ करोड, लुम्बिनी विकास बैंकको ६ करोड ९६ लाख र मन्जुश्री फाइनान्सको ६ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   मंगलबारको कारोबारमा अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशतले बढेका छन् । निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक ०.१६ प्रतिशतले घटेका छन् ।