आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका छन् । साथै, कम्पनीको पानीपोखरी स्थित ११ तल्ले नयाँ भवन सञ्चालनमा आउँदैछ, जसमा प्रधान कार्यालय स्थानान्तरण हुनेछ र अन्य तल्ला भाडामा उपलब्ध गराइनेछ । सभामा अध्यक्ष ढकालले जानकारी दिए कि समीक्षा वर्षमा कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखा, ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयर मार्फत सेवा प्रदान गर्दै आएको छ । बीमा प्रिमियम संकलन रु. ३८६ करोड ५९ लाख पुगेको छ भने दावी भुक्तानी रु. २ अर्ब ४६ करोड ३३ लाख पुगेको छ । कम्पनीले स्वास्थ्य बीमा योजनामा नवीन सेवा, विदेशी पर्वतारोहण तथा ट्रेकिङ्गमा बीमाको सुरुवात जस्ता डिजिटल र ग्राहकमैत्री पहलहरू अघि बढाएको जानकारी सभामा दिइयो । अध्यक्ष ढकालले सेयरधनीहरूको समर्थन र सरकार तथा नियामक निकायहरूको सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले भविष्यमा पनि बीमा बजारमा विश्वसनीयता, पारदर्शिता र गुणस्तरीय सेवा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

इटहरीस्थित एनआईसी एशिया बैंकमा अराजक गतिविधि, दोषीमाथि कारबाहीको माग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको इटहरी शाखामा एक व्यक्तिले कलुसित मनसायका साथ प्रवेश गरी बैंक कर्मचारीमाथि गालीगलौज तथा अभद्र व्यवहार गरेको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएको छ । बैंकका अनुसार उक्त व्यक्तिले शाखा कार्यालयभित्र अराजक गतिविधि गर्दै हुलहुज्जत र होहल्ला मच्चाएको थियो । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह हुने स्थानमा यस्ता गैरकानूनी तथा उच्छृङ्खल गतिविधि अस्वीकार्य भएको बैंकले स्पष्ट पारेको छ । बैंक कार्यालयभित्र आगजनी तथा जिउज्यानमा हानी पुर्‍याउने उद्देश्यसहित पेट्रोलजस्ता अति प्रज्वलनशील पदार्थ छर्कनेजस्ता कानूनद्वारा बर्जित गम्भीर क्रियाकलापले बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सिर्जना भएको बैंकको भनाइ छ । यस्ता गतिविधिले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बैंकिङ क्षेत्रको काम गर्ने वातावरणमा गम्भीर असर परेको र कर्मचारीहरूले असुरक्षा महसुस गर्न थालेको बैंकले जनाएको छ । कुनै पनि बहानामा कर्मचारीमाथि हुने अभद्र व्यवहार सह्य नहुने उल्लेख गर्दै बैंकले उक्त घटनामा संलग्न व्यक्तिमाथि सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । साथै बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरूको शान्ति–सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ ।

युनिक नेपाल लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । बैठकले देशव्यापी रूपमा बढ्दै गएको लघुवित्तविरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढ्नु, व्यवसायिक मन्दीका कारण ऋणीको व्यवसाय प्रभावित भई कर्जा असुली हुन नसक्नु तथा युवा पलायनका कारण कर्जा लगानी विस्तार हुन नसकेको निष्कर्ष निकालेको छ । साथै, कम्पनीको निष्क्रिय कर्जा बढ्दै जाँदा आम्दानीको ठूलो हिस्सा नोक्सानीमा डुबेको र यसले मुनाफा घट्दै नगद प्रवाहमा समेत असर परेको बैठकको निष्कर्ष छ । यस्तो अवस्थामा सेयरधनीलाई लाभांश बाँड्ने चाहना हुँदाहुँदै पनि संस्थाको वित्तीय अवस्था जोगाउनु नै उत्तम विकल्प ठहर गर्दै लाभांश वितरण नगर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।