सिटी एक्सप्रेसको दशैं–तिहार अफर सार्वजनिक, हरेक हप्ता १ जनालाई १ लाख

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 'यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' नामक यो योजना लगातार ९ हप्ता सञ्चालन हुनेछ । योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले रु १ लाख प्राप्त गर्नेछन् भने हरेक दिन सबै ग्राहकले सिटी पेबाट क्याशब्याक पाउने व्यवस्था गरिएको छ । भाद्र १६ देखि कात्तिक १५ गतेसम्म लागू हुने यस अफरमा विदेशबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुनेछन् । उपहार विजेता चयन विद्युतीय प्रणालीमार्फत हुने र यसमा कम्पनीका कर्मचारी सहभागी नहुने सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिती थियो । रेमिट्यान्स क्षेत्रमा १९ वर्षदेखि सेवा दिँदै आएको सिटी एक्सप्रेसले हालै सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यसबाट रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरिएको छ ।

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा १.४८ गुणा बढी आवेदन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गरेको एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा माग भन्दा १.४८ गुणा बढी आवेदन परेको छ । साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशनमा ल्याइएको १० रुपैयाँ अंकित दरका ५ करोड इकाईका लागि कुल ८२,८२८ जना आवेदकले ७४ करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको इकाई खरिदका लागि आवेदन दिएका हुन् । यस स्किम एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको दोस्रो खुलामुखी योजना हो । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति अनुसार यस योजनाको अधिकतम आकार बीजपूँजीसहित १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँसम्म रहने व्यवस्था छ । त्यसैले माग भन्दा बढी आवेदन परे पनि नियमावलीअनुसार सबै योग्य आवेदकलाई माग बमोजिम इकाई बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले यसमा लगानी गर्ने सम्पूर्ण लगानीकर्ता, निष्काशन प्रक्रियामा सहयोग गर्ने सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, नेपाल धितोपत्र बोर्ड र अन्य सम्बद्ध निकायलाई धन्यवाद व्यक्त गरेको छ ।

आईसिएफसी फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र '८ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९' निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस सम्बन्धमा बिहीबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन गरिनेछ । हाल आईसिएफसी फाइनान्सले २१ शाखा कार्यालय र १८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।