वालेटमै ब्याज पाउने सुविधा, खल्तीको ‘सुपर वालेट’ सबैका लागि खुला

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्छ । यससँगै खल्ती नेपालमा नियो बैंकिङ युग सुरु गर्ने अग्रणी डिजिटल भुक्तानी प्लेटफर्म बनेको कम्पनीले जनाएको छ । यसअघि सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको यो सुविधा अब सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्तामा विस्तार गरिएको छ । सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः जम्मा हुने व्यवस्था छ । हाल वार्षिक २.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ, जुन साझेदार बैंकको मानक दरअनुसार परिवर्तन हुन सक्ने बताइएको छ । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले खाता केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ र कम्तीमा १० वटा कारोबार सम्पन्न गरेको वा वालेटमा न्यूनतम १ हजार रुपैयाँ मौज्दात राखेको हुनुपर्नेछ । सेवा पूर्ण रूपमा डिजिटल भएकाले कुनै बैंक भ्रमण वा कागजी प्रक्रिया आवश्यक नपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले खल्ती एपको ‘सुपर वालेट’ सेक्सनमार्फत सहजै आवेदन दिन सक्नेछन् र आवेदन दिएको भोलिपल्टदेखि सेवा सक्रिय हुनेछ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सुपर वालेटले औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीलाई समेट्दै वित्तीय समावेशीकरणमा टेवा पुर्‍याउने बताएका छन् । उनका अनुसार यो सुविधा बचत संस्कार विकास गर्ने र प्रयोगकर्ताको सानो रकमलाई समेत बढाउने प्रभावकारी माध्यम बन्नेछ । खल्ती अब केवल भुक्तानी प्लेटफर्म मात्र नभई वित्तीय अनुशासन र बचत प्रवर्द्धन गर्ने माध्यमका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।  

गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा बैशाख २५ गते काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को दशौं संस्करणमा उक्त विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ उपाधि प्रदान गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा आयोजकले बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरेको थियो । बैंकका अनुसार यस सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने लक्ष्यमा थप ऊर्जा र हौसला मिलेको छ । साथै बैंकले आफ्ना ग्राहक, सेयरधनी, कर्मचारी, नियमनकारी निकाय तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ । गरिमा विकास बैंक यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेको छ । भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’ मा विभिन्न विधामा उत्कृष्ट तथा रनरअप उपाधि हासिल गरेको थियो । त्यस्तै, कर्पोरेट क्लब नेपालद्वारा फेब्रुअरी २५, २०२५ मा आयोजित समारोहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट समेत सम्मानित भएको थियो । हाल बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवा मार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गरेका हुन् ।  सम्झौतामा योगदानमा आधारित भए/नभएको, उपदान कोष, स्वेच्छिक अवकाश कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने व्यवस्था रहेको छ । अब बैंकका कर्मचारीहरूको व्यक्तिगत अभिलेख तथा खाता तयार गरी परिचय पत्र सम्बन्धित कर्मचारीलाई प्रदान गर्ने, बैंकबाट मासिक/वार्षिक रूपमा कोष कट्टी गरी प्राप्त भएको रकम र विवरण सम्बधित कर्मचारी वा बैंकको खाता अद्यावधिक गर्ने, बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।  त्यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्ने पनि सम्झौतामा उल्लेख छ ।