काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले लघुवित्त संस्थाहरूलाई लघु बैंक भन्न पाउनुपर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै लघुवित्तहरूलाई सहकारीको रूपमा बुझ्नु गलत भएको र लघु बैंकको रूपमा स्वीकार गरिनुपर्ने धारणा राखे ।
शाक्यले लघुवित्त संस्थाहरूलाई हेर्ने सामाजिक र सरकारी दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘लघुवित्त संस्थालाई हेर्ने दृष्टिकोण नै फरक छ । लघुवित्तलाई लघुवित्त होइन, अब ‘लघु बैंक’ भन्न पाउनुपर्छ ।’
लघुवित्त क्षेत्रका समस्या समाधानका लागि नियामक निकायलाई सक्रिय बनाउनुपर्ने उनको तर्क थियो । ‘अब घचघच्याउने बेला आएको छ,’ उनले भने ।
लघुवित्त क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक जटिलताहरूलाई सम्बोधन गर्न ३६ वटा बुँदामा सुधार गर्नुपर्ने विषय पहिचान भएको उनले बताए ।
आफूले राष्ट्र बैंकभित्र सुधारका लागि निरन्तर पहल गरिरहेको बताउँदै शाक्यले अब लघुवित्तकर्मीहरूलाई पनि एकजुट भएर दबाब सिर्जना गर्न आग्रह गरे । ‘मैले राष्ट्र बैंकभित्र घचघच्याइरहेको छु, अब लघुवित्तकर्मीहरूले पनि आफ्नो तर्फबाट आवाज बुलन्द पार्नुपर्छ,’ उनले भने ।