जेनजी आन्दोलनले जीडीपीको ५ प्रतिशत नोक्सान भयो : विरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ । अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने । उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे । ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ । ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने । उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ । ‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ । केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने । उनले केही समयअघि ज्वाइन्ट भेन्चरको लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकिएको धारणा राखे । उनले केही महत्वपूर्ण प्राथमिकताका क्षेत्रहरू निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए । उनले उर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको धारणा राखे ।
राजेन्द्र मल्ल भन्छन् - व्यवसायीलाई सरकारले ढुक्क बनाउन सक्नुपर्छ
काठमाडौं । नेपाल चेर्म्बस अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनर्उत्थानका आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । ‘अहिलेको अवस्थामा सरकारले व्यवसायीहरुलाई डराउनुपर्दैन भन्ने खालको सुरक्षा प्रत्याभूति दिलाउनुपर्नेछ,’ मल्लले भने । जेनजी आन्दोलनपछि ति युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण अघि बढाउनुपर्ने उनको भनाइ छ । ‘देशमा शान्ति व्यवस्था छ । डराउनु पर्दैन भनेर सरकारले भन्न सक्नुपर्छ, जेनजी अवस्थाका युवाहरु स्वदेशमा कम नभएर विदेश जाने गरेका छन् । हाम्रो युवालाई स्वदेशमै राखेर पठनपाठनको व्यवस्था गर्नुेपर्यो,’ उनले भने । निवर्तमान अध्यक्ष मल्ले वार्षिक ३ लाख जनसंख्या घट्ने गरेको तथ्यांक प्रस्तुत गर्दै सरकारले अब गर्नै पर्ने कामका रुपमा स्टार्टअपलाई आगाडि बढाउनु पर्ने धारणा राखे । अहिले सरकारी अफिसमा ढिलासुस्ती र झन्झटिलो प्रक्रिया रहेको बताउँदै अब यसलाई सुधार गर्न आवश्यक रहेको सुनाए । उनले अहिले आईटी र एआईको प्रचुर सम्भावना रहेको बताउँदै हामीले गाउँको दुर दराजमा आईटी कार्यक्रम चलाउन सकेमा प्रभावकारी हुने बताए । उनले पछिल्लो समय पर्यटन क्षेत्रमा निकै ह्रास आएको उल्लेख गर्दै सरकारले तत्कालै नेपाल सुरक्षित छ भनेर विश्वव्यापाी प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘सबैभन्दा ठूलो समस्या भनेको औपचारिकभन्दा अनौपचारिक कारोबार चलिरहेको छ । सानो करको दायरामा राखेर अघि बढ्नुपर्छ । हामीसँग खर्बौं रेमिट्यान्स भित्रिएको छ । अनावश्क रुपमा खर्च भइरहेको छ । यसको सदुपयोग गर्नुपर्छ,’ उनले भने । उनले निजि क्षेत्रको धनजनको क्षति हुँदा देश ५/६ वर्ष पछाडि धकेलिएको बताए ।
निजी क्षेत्रको घोषणा : आर्थिक सुधार र समृद्धिमा एकजुट हुने
काठमाडौं । अर्थतन्त्र सुधार र मुलुकको समृद्धिका लागि निजी क्षेत्रका व्यवसायीहरूले एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल, निर्यात व्यवसायी महासंघ र नेपाल युवा उद्यमी मञ्चलगायतका व्यवसायीक छाता संगठनका पदाधिकारिहरुको सोमबार राजधानीमा सम्पन्न संयुक्त छलफलमा व्यवसायीले साझा प्रतिवद्धता जनाएका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा स्थल यातायात तथा पारवाहन समितिका सभापति शिव प्रसाद घिमिरेको पहलमा आयोजित कार्यक्रममा हालैको जेनजी आन्दोलनले सिर्जना गरेको परिस्थिति, व्यवसायमा देखिएका समस्या र त्यसका समाधानबारे विस्तृत छलफल भएको थियो । कार्यक्रममा बोल्ने व्यवसायीहरुले पछिल्ला आन्दोलनका कारण उद्योग र व्यापारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सरकारको विशेष पहलमा नाका केही दिनमै खुलेको उदाहरण प्रस्तुत गरे । उनीहरुले राज्यले दृढतापूर्वक काम गरेमा व्यवसायसँग सम्बन्धित समस्या सजिलै समाधान हुने धारणा राखे । छलफलमा सहभागी व्यवसायीहरुले आगामी यात्रामा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्ने, व्यवसायिक नीतिनिर्माणमा युवा पुस्ताको सक्रियता सुनिश्चित गर्ने, पुनर्निर्माणमा सक्दो सहयोग गर्ने र बौद्धिक तथा सक्षम युवालाई प्रोत्साहन गर्ने विषयमा सहमति जनाए । व्यवसायीहरुले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले सुरक्षामा प्रश्न उठेको र यसले बेरोजगारी बढाउने चेतावनी पनि दिए । उनीहरुले निजी क्षेत्रको अर्थतन्त्रमा रहेको योगदानलाई अझ प्रगाढ बनाउन निर्यात प्रवर्द्धन, पर्यटन संरक्षण र अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने आवश्यकता औंल्याए। कार्यक्रममा हालको परिस्थितिबारे अनुभव र चुनौती प्रस्तुत गर्दै व्यवसायीहरुसँगै विभिन्न वस्तुगत संघका सदस्यहरूको पनि समस्याका सम्भावित समाधान र राज्यले गर्न सक्ने कदमबारे सुझाव राखेका थिए । छलफलको विस्तृत प्रतिवेदन तयार गरी छिट्टै सरकार र सम्बन्धित निकायलाई बुझाइने निर्णय गरिएको छ । व्यवसायीहरुको भनाइमा, अहिलेको संवेदनशील परिस्थितिमा सरकारलाई मार्गदर्शन दिने र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने काममा व्यवसायी, उद्यमी र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको छ । कार्यक्रममा सबै व्यवसायिक सस्थाका पदाधिकारीसहित ३ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।