वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री विजयी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् । संघको सोमबार (आज) सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) र कोषाध्यक्षमा धनमायाँ सिन्जाली (३२३ मत) प्राप्त गरी विजयी भएका छन् । सात पदाधिकारीसहित १७ पदमा भएको निर्वाचनमा खत्री समूहले सात पदाधिकारी र आठ सदस्यमा विजयी हासिल गरेको छ ।
'करको भार घट्यो, आत्मविश्वास बढ्यो'
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले बजेटलाई परम्परागत रूपमा समर्थन वा विरोधमात्र नगर्ने प्रष्ट पारेका छन् । बजेटले देशमा लगानीको वास्तविक वातावरण सिर्जना गर्यो कि गरेन भन्ने कुरा मुख्य भएको उनको भनाइ छ । बजेट वक्तव्यपछि आफ्नो धारणा राख्दै अध्यक्ष श्रेष्ठले आगामी बजेटले निजी क्षेत्रको खस्किएको आत्मविश्वास बढाउने अपेक्षा गरिएको बताए । नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि कानुनको अभाव भन्दा पनि पुराना र अल्झाउने खालका कानुनहरू मुख्य समस्या रहेको अध्यक्ष श्रेष्ठले औंल्याए। ‘पुराना अल्झाउने कानुनले निजी क्षेत्रमा समस्या निम्त्याइरहेको छ,’ उनले भने, ‘तर यस पटकको बजेटमार्फत विभिन्न अनावश्यक निकायहरूको खारेजी र मर्जर गर्ने घोषणा हुनु सकारात्मक छ । यसबाट हामीले राम्रो अपेक्षा राखेका छौं ।’ नेपालमा वैदेशिक लगानी भित्र्याउने सवालमा उनले कानुनी जटिलता सुधार्नुपर्नेमा जोड दिए । विदेशी पुँजी कानुनभन्दा पनि ‘विश्वास’ मा बग्ने भएकाले नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा स्थापित गर्न उचित वातावरण बनाउनु जरुरी रहेको उनको तर्क थियो । यद्यपि ऊर्जा क्षेत्रका लागि भने बजेट सकारात्मक रहेको उनले बताए । बजेटले ऊर्जा उत्पादनसँगै यसको निर्यातमा विशेष जोड दिएकोमा उनले खुसी व्यक्त गरे । बजेटले शेयर बजारका लागि गरेको व्यवस्थाको स्वागत गर्दै अध्यक्ष श्रेष्ठले पूँजीगत लाभकरको अन्तिम व्यवस्थाले पुँजी बजारमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। तर, कर नीतिका सम्बन्धमा भने उनले मिश्रित प्रतिक्रिया दिएका छन् । केही वस्तुहरूमा करका दरहरू खारेज गरिए तापनि समग्रमा करको वास्तविक भार नघटेको उनको दाबी छ । अझै पनि केही निश्चित क्षेत्रहरूमा करको भार यथावतै रहेकाले यसले उद्योगी व्यवसायीलाई सजिलो नबनाउने उनले उल्लेख गरे ।
रिलायन्स स्पिनिङ मिल्स र शिवम प्लास्टिक इन्डस्ट्रिज सम्मानित
काठमाडौं । निकासी व्यापारमार्फत नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल उद्योग परिसंघले नेपालका दुई कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डष्ट्रिजलाई सम्मान गरेको छ । परिसंघले आफ्नो २३ औं वार्षिक साधारसभाको अवसरमा कदरपत्रसहित उक्त सम्मान गरेको हो । यी दुबै गोल्याण ग्रुप अन्तर्गतका कम्पनी हुन् । रिलायन्स नेपालमा धागो उत्पादन गरी निर्यात गर्ने अग्रणी पब्लिक कम्पनी हो । तीन दशकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । त्यसैगरी, शिवम् प्लास्टिकले पोलिप्रोलिन ओभन फ्याब्रिक उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको उक्त फ्याब्रिक खाद्यान्न प्याकेजिङ, पोलिमर, सिमेन्टका साथै एचडीपीई ओभन टर्पोलिन फ्याब्रिकमा प्रयोग गरिन्छ । कम्पनीको उत्पादन क्षमता ११ हजार १ सय २५ टन फ्याब्रिक/स्याक्स र ४ हजार ६ सय २० टन टर्पोलिन रहेको छ । उद्योग परिसंघले प्रदान गरेको कदरपत्रमा नेपालबाट भारतमा निकासी हुने वस्तुहरुको निर्यात गरी मुलुलकको अर्थतन्त्रमा योगदान पुर्याएको उल्लेख छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवाल, प्रमुख वित्त अधिकृत अनिल सोमानी, शिवम् प्लास्टिकका विशाल थापा र गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रे सहभागी थिए । गत फागुनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स यसअघि पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सम्मानित भएको छ । नेपाल सरकारले सन् २०२५ मा रिलायन्सका प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई महत्त्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) बाट सम्मान गरेको थियो । सोही वर्ष भन्सार विभागले ७६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रिलायन्सलाई उत्कृष्ट निर्यातकर्ता तथा रोजगारदाता कम्पनीको रूपमा सम्मान गरेको थियो ।