सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

घोराही सिमेन्टको ४ करोड बढी सेयरको लकइन असार ३१ गते सकिँदै

काठमाडौं । घोराही सिमेन्ट उद्योगको ४ करोड बढी कित्ता सेयरको लकइन सकिने भएको छ । कम्पनीको संस्थापक, उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको नाममा रहेको ४ करोड ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लकइन असार ३१ गते सकिने भएको हो ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको २४ हजार ७०५ कित्ता र कर्मचारीको ९७ हजार ७७२ कित्ता सेयरको लकइन सकिन लागेको हो । लकइन अवधि समाप्त भएसँगै सम्बन्धित सेयरधनीले प्रचलित कानुन तथा नियमअनुसार ती सेयर कारोबार गर्न सक्नेछन् । सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । घोराही सिमेन्ट उद्योगको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

३५ करोड लगानीमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन

काठमाडौं । कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन सुरु भएको छ ।  नेपाली ब्रान्ड ‘ओआरए’ले ललितपुरको इमाडोलमा रु ३५ करोडको लगानीमा उद्योग स्थापना गरी अन्तरराष्ट्रियस्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको छ । कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्वस्तरीय उत्पादन गरिरहेको जनाएको हो ।  ‍‘ओआरए ब्रान्ड’ उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताए । हाल कम्पनीले नौवटा प्रमुख स्किन केयर उत्पादन बजारमा उपलब्ध गराइसकेको र निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । उत्पादन क्षमता विस्तारसँगै कम्पनीले आफ्नै उद्योगबाट एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्नसक्ने जनाएको छ ।  कम्पनी नेपाली तथा कोरियन उद्यमीको संयुक्त सहकार्यमा स्थापना भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले उत्पादन विकासमा सहयोग गरिरहेको जानकारी दिइयो ।   कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत छन् ।