खजुरीको नेपाल: २ अर्बको आम्दानी, १.५ अर्ब ऋण
काठमाडौं । बिस्कुट, कुकिज तथा पेस्ट्री/पफ्स उत्पादन गर्ने खजुरीको नेपाल प्रालिले सन् २०२५ मा २ अर्ब ४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २०.२२ प्रतिशत अर्थात् ३४ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार पछिल्ला वर्षहरूमा खजुरीको नेपालको आम्दानी निरन्तर बढ्दै आएको छ । सन् २०१९ मा ९९ करोड ८० लाख रुपैयाँ रहेको कारोबार सन् २०२० मा १ अर्ब १५ करोड २० लाख रुपैयाँ पुगेको थियो । यस्तै, सन् २०२१ मा १ अर्ब २८ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ६४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ७३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । ‘खजुरीको’ ब्रान्डको बलियो पहिचान, अनुभवी व्यवस्थापन टोली तथा देशव्यापी वितरण सञ्जालले राजस्व वृद्धिमा महत्त्वपूर्ण योगदान गरेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामै पनि कम्पनीको आम्दानी करिब ३० प्रतिशतले बढेको छ । खजुरीको नेपाल सन् २००४ अप्रिलमा स्थापना भएको हो । यसअघि कम्पनी सन् १९९५ देखि एकल स्वामित्वको फर्मका रूपमा सञ्चालन हुँदै आएको थियो । हाल कम्पनीका उत्पादन युनिटहरू ललितपुर, चितवन र मकवानपुरमा रहेका छन्, जहाँबाट देशभर वितरण सञ्जाल विस्तार गरिएको छ । कम्पनीको सेयर स्वामित्व एउटै परिवारका ६ जना सदस्यमा सीमित छ । कम्पनीका अध्यक्ष ओमनाथ महर्जन हुन् । पारिवारिक स्वामित्व र दीर्घकालीन अनुभवका कारण खजुरीको नेपाल नेपाली खाद्य उद्योगमा स्थापित र विश्वासिलो ब्रान्डका रूपमा परिचित हुँदै आएको छ । कम्पनीका अनुसार बिस्कुट तथा कुकिज उद्योग अत्यन्त प्रतिस्पर्धात्मक रहेको छ । घरेलु तथा बहुराष्ट्रिय ब्रान्डको उपस्थितिले बजारमा दबाब सिर्जना गरिरहेको छ भने नयाँ उत्पादनको प्रवेश र उपभोक्ताको प्राथमिकतामा हुने परिवर्तनले मागमा असर पार्न सक्ने कम्पनीले जनाएको छ । हाल लागू उच्च आयात शुल्क कम्पनीका लागि सकारात्मक भए पनि नीतिगत परिवर्तन भए व्यवसायमा असर पर्न सक्ने जोखिम रहेको छ । उद्योगका प्रमुख कच्चा पदार्थ सफा गरिएको गहुँको पिठो, घ्यू, पाम तेल र चिनी-कृषि आधारित भएकाले बाढी, सुख्खा, कीरा प्रकोपजस्ता प्राकृतिक जोखिमबाट प्रभावित हुने सम्भावना रहन्छ । यस्ता जोखिम सन् २०२२ र सन् २०२५ मा देखिएको भन्दै त्यसले उत्पादन लागत र मुनाफामा दबाब सिर्जना गरेको कम्पनीले जनाएको छ । खजुरीको एक विश्वसनीय नेपाली ब्रान्ड हो, जसको सुरुआत ललितपुरको चापागाउँस्थित सानो घरेलु बेकरीबाट भएको थियो । संस्थापक जगन्नाथ महर्जनले आफ्ना बुवालाई घरमै पाउरोटी र बिस्कुट बनाएर बेच्ने काममा सहयोग गर्दै व्यावसायिक यात्रा सुरु गरेका थिए । बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएर सुरुवात गरेको खजुरीको नेपालले काठमाडौं उपत्यकापछि व्यवसायलाई क्रमशः ठूलो औद्योगिक सञ्चालनमा रूपान्तरण गरिएको छ । आज खजुरीकोले डेढ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीले बिस्कुट, कुकिज, पफ, स्टिक चाउचाउ उत्पादन गर्दै आएको छ भने केही उत्पादन विदेशमा समेत निर्यात गरिरहेको जनाएको छ । व्यवसाय विस्तारसँगै कम्पनीले बैंकबाट कर्जा समेत बढाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । कम्पनीका अनुसार १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र २३ करोड रुपैयाँ अल्पकालीन ऋण लिएको छ । यसअघि कम्पनीले ८७ करोड ४७ लाख दीर्घकालीन र २२ करोड ५३ लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १० करोड रुपैयाँ मात्रै ऋण लिएको थियो ।
बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औं धादिङ महोत्सवको उद्घाटनमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशाययुक्त जलविद्युत् आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका छन् । त्यस अवसरमा उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको बताए । नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको जनाउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेकोसमेत उल्लेख गरे । उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेको बताए । ‘गत भदौको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनःनिर्माण गर्दै सञ्चालनमा ल्याइसकेका छौं । निजीक्षेत्र कुनै पनि आयोजना तोकिएका समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट/स्रोतमा सम्पन्न गर्ने गरेका छौं,’ उनले भने । ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभीत भएको बताए । ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजीक्षेत्र किन सधैँ उपक्षित भएको छ,’ उनले भने ।
अर्थतन्त्र आगामी चुनावको साझा एजेन्डा बनोस् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेन्डा बन्नुपर्ने धारणा राखेका छन् । बिहीबार स्याङ्जामा आयोजित वालिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्र विकासको एजेन्डालाई प्राथमिकता दिन र सबैको साझा एजेन्डा बनाउन आग्रह गरेका हुन् । उनले भने, 'राष्ट्रिय अर्थतन्त्रको विकास अहिलेको पहिलो आवश्यकता हो । देशमा यतिखेर संसद् निर्वाचनको तयारी भइरहेको छ । सबै दलको साझा एजेन्डा आर्थिक विकास बनोस् । म सबै दललाई यही आग्रह गर्न चाहन्छु ।' साथै, अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेन्डाहरू समावेश गर्न पनि आग्रह गरे । उनले औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास गर्न र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न निजी क्षेत्रले विगत लामो समयदेखि प्रयास गरिरहेको र यस्तै एजेन्डाहरू राज्यसमक्ष राख्दै आएकाले आगामी निर्वाचनमा पनि ती एजेन्डाले प्राथमिकता पाउनुपर्ने तर्क गरे । उनले जुनसुकै सरकार आए पनि अर्थतन्त्र सबैको साझा एजेन्डा बन्नुपर्ने अडान विगतदेखि नै निजी क्षेत्रले राख्दै आएको उल्लेख गर्दै यसका लागि सबै दललाई एउटै मञ्चमा राखेर महासंघले बहस चलाउँदै आएको र आर्थिक विकासका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनको माग गरिएको प्रसंग स्मरण गरे । उनले उक्त आयोगका कतिपय सुझावहरू हाल कार्यान्वयनमा आइसकेको पनि बताए । अध्यक्ष ढकालले देशमा लगानीको वातावरणका लागि अवरोध बनेका कतिपय परम्परागत कानुनहरूको संशोधनदेखि महासंघको विधानलाई समयसापेक्ष बनाउनेसम्मका काम आफू महासंघको नेतृत्वमा आएपछि सम्पन्न भएका पनि स्मरण गरे ।