‘औद्योगिक क्षेत्रमा बल प्रयोग नगरौं, भाडा विवाद संवाद र सहमतिबाट टुंग्यायौं’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले औद्योगिक क्षेत्रभित्र देखिएको जग्गा भाडा वृद्धिको विवादलाई बल प्रयोग नगरी संवाद र सहमतिको माध्यमबाट टुङ्ग्याउन आग्रह गरेको छ ।  नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरूको विद्युत लाइन काट्ने र उद्योगीहरूमाथि धरपकड गर्ने तयारी गरेको प्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार (आज ) प्रेस विज्ञप्ति जारी गर्दै १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित करिब ७०० उद्योगहरूलाई त्रसित नपार्न र उत्पादन प्रवाह रोक्ने खालका गतिविधिहरू तत्काल बन्द गर्न नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग जोडदार माग गरेको हो । जग्गा भाडा वृद्धिको विवाद सम्बन्धी सर्वोच्च र उच्च अदालतको फैसला उपर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आफैले विभिन्न मितिमा पुनरावलोकनको मुद्दा दायर गरिसकेको छ । कानुनी रूपमा मुद्दा अझै विचाराधीन रहेको अवस्थामा उद्योगीहरूलाई स्पष्ट विवरण समेत नदिई अकस्मात ७ दिनको छोटो अवधि दिएर बक्यौता तिर्न ताकेता गरिएको महासंघको भनाइ छ । ‘मुद्दा अदालतमा विचाराधीन रहेको परिस्थितिमा सोही बहानामा उद्योगको विद्युत काट्नु र उद्योग सञ्चालनमा अवरोध पुर्याएर मानसिक दबाव दिनु कानुनी राज्य र व्यावसायिक शिष्टाचार विपरीत हो,’ महासंघले भनेको छ । वर्तमान समयमा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको विज्ञप्तिमा उल्लेख छ । यस्तो संवेदनशील समयमा विद्युत लाइन काटेर उत्पादन ठप्प पार्दा स्वदेशी लगानीकर्ताहरूको मनोबल गिर्ने र वैदेशिक लगानी समेत निरुत्साहित हुने महासंघले चेतावनी दिएको छ । उद्योगहरूको निर्वाध सञ्चालनमा सहयोग र सहजीकरण गर्नु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पनि दायित्व भएको स्मरण गराउँदै महासंघले जग्गा भाडाको वैज्ञानिक र व्यावहारिक समाधान खोज्न आग्रहसमेत गरेको छ ।  समस्या समाधानका लागि आफू जतिबेलै सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको समेत महासंघले स्पष्ट पारेको छ ।

महासंघ भन्छ- ५ अर्बको चिया निर्यात रोकिँदा उद्योगको ‘क्यास फ्लो’ ठप्प

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएकाले समग्र चिया उद्योग क्षेत्र नै संकटमा परेको भन्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ । भारतीय चिया बोर्डले गत मे १ देखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ (एसओपी) र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा गम्भीर अवरोध उत्पन्न भएको हो । नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागहरूलाई मध्यनजर गर्दै महासंघले चिया क्षेत्रको रक्षाका लागि सरकारसँग जोडदार माग गरेको हो । नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात र ग्रामीण रोजगारीका दृष्टिले एक रणनीतिक र बलियो खम्बाको रूपमा स्थापित छ । यस क्षेत्रले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारततर्फ निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको महासंघले जनाएको छ । महासंघका अनुसार राज्यलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व बुझाउने र ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरहरूलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको यो संवेदनशील क्षेत्र छिमेकी मुलुकको अव्यवहारिक नीतिगत परिवर्तनका कारण अहिले पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको छ । छिमेकी देशले लागू गरेको नयाँ मापदण्डअन्तर्गत झन्झटिलो गुणस्तर परीक्षण, रिपोर्ट आउन लाग्ने २० देखि २५ दिनको लामो अवधि, अनिवार्य गोदाम शुल्क र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरूका कारण निर्यात पूर्ण रूपमा ठप्प भएको महासंघले जनाएको छ ।  चिया निर्यात हुन नसक्दा उद्योगहरूको नगद प्रवाह रोकिएको छ, जसका कारण उद्योगहरूले किसानलाई हरियो पत्तीको भुक्तानी गर्न, मजदुरको पारिश्रमिक दिन र राज्यलाई कर तथा विद्युत महशुल बुझाउन समेत असमर्थ भएका छन् । यसले गर्दा चिया क्षेत्रमा आश्रित हजारौं किसान, मजदुर र उद्यमीहरूको भविष्य नै संकटमा परेको छ । नेपाली वस्तुहरूको निर्यातमा बारम्बार आउने गुणस्तरसम्बन्धी अवरोधहरू हटाउन नेपालमै अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त एक्रिडिटेड ल्याब स्थापना गर्न आवश्यक रहेको महासंघको भनाइ छ ।  

महिला उद्यमीलाई सार्वजनिक प्रस्तुतीकरण सीप तालिम, २५ जनाको सहभागिता

काठमाडौं । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तीन दिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ । महिला उद्यमीहरूको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण, बोल्ने कला तथा कार्यक्रम सञ्चालन सम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित तालिममा मोरङ जिल्लाका २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो । जेठ २९, ३० र ३१ गते सञ्चालन गरिएको तालिममा प्रभावकारी प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यवहारिक अभ्यासजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । उद्घाटन समारोहमा महिला उद्यम समितिकी सह–संयोजक साधना झाको सभापतित्व तथा संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि सारडाले महिला उद्यमीहरूलाई व्यवसायसँगै आफ्नो विचार र उत्पादन प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता आजको आवश्यकता भएको उल्लेख गरे । तालिमको सहजीकरण ए वान मिडिया प्रालिका सञ्चारकर्मी तथा प्रशिक्षक भागिरथ कुमार पोखरेलले गरेका थिए । प्रशिक्षणका क्रममा सहभागीहरूलाई आत्मविश्वासका साथ बोल्ने तरिका, बडी ल्याङ्ग्वेज, आवाजको प्रयोग, प्रस्तुतीकरण कला तथा प्रभावकारी संवादजस्ता व्यावहारिक अभ्यास गराइएको थियो । समापन समारोहमा संघका अध्यक्ष अनुपम राठीले तालिमबाट प्राप्त सीपले महिला उद्यमीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त ग रे। उनले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । महासचिव संजय कुमार श्रेष्ठले तालिमले महिला उद्यमीहरूलाई व्यवसायिक तथा सामाजिक क्षेत्रमा अझ सक्रिय बनाउन मद्दत गर्ने बताए । सह–संयोजक साधना झाले यस्ता सीप विकास तालिम महिला उद्यमीहरूको सशक्तीकरणका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद व्यक्त गरिन् । सहभागीहरूले तालिमपछि सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, कार्यक्रम सञ्चालन सीप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्रस्तुतीकरण कला विकास भएको प्रतिक्रिया दिएका छन् ।