‘करेन्ट’ चाउचाउबारे उत्पादकको आग्रह, निश्चित ब्याचबाहेक अन्य उत्पादन पूर्ण रूपमा खान योग्य

काठमाडौं । यशोधा फुड्स प्रालिले बजारमा उपलब्ध निश्चित ब्याचबाहेक अन्य सम्पूर्ण ‘करेन्ट’ चाउचाउ पूर्ण रूपमा खान योग्य रहेको स्पष्ट पारेको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रतिवेदन र कम्पनीको आन्तरिक सूचनालाई उदृत गर्दै यशोधा फुड्सले उपभोक्ताहरूलाई भ्रममा नपर्न आग्रह गरेको हो ।

कम्पनीद्वारा जारी आधिकारिक विज्ञप्ति अनुसार, खाद्य तथा गुण नियन्त्रण कार्यालयले कैफियत देखाएको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३– ०४ ए भएको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको चाउचाउ मात्र बजारबाट हटाइएको हो । 

सो विशिष्ट ब्याचबाहेक अन्य कुनै पनि मिति र ब्याच नम्बरमा उत्पादित करेन्ट चाउचाउको गुणस्तरमा कुनै समस्या नरहेको कम्पनीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, उक्त निश्चित ब्याचबाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू उपभोक्ताहरूले निर्वाध रूपमा उपभोग गर्न सक्नुहुनेछ ।’

गुणस्तरहीन भेटिएको उक्त एउटा ब्याचबाहेक अन्य सबै उत्पादनहरू पूर्ण रूपमा स्वस्थ र मापदण्ड अनुकूल रहेको सुनिश्चित गर्दै कम्पनीले आफ्ना ग्राहक, खुद्रा बिक्रेता तथा अधिकृत विक्रेताहरूलाई कुनै पनि आशंका नराखी ढुक्क भएर उपभोग तथा बिक्री-वितरण गर्न अनुरोध गरेको छ ।

Share News