भारतमा सबैभन्दा बढी निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज सम्मानित

काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेड नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मानित भएको छ ।

सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निर्यात गर्ने उद्योगका रूपमा लिटमसलाई उक्त सम्मान प्रदान गरिएको हो । कम्पनीले यो उपलब्धिलाई गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धताको परिणामका रूपमा लिएको जनाएको छ ।

लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान बनाएको छ ।

कम्पनीका उत्पादनहरूले देशभित्रका विभिन्न पूर्वाधार तथा ऊर्जा परियोजनाको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यातमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । उत्पादन क्षमता विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा दक्ष जनशक्ति विकासमार्फत कम्पनीले औद्योगिक विकासमा योगदान पुर्याउँदै आएको छ ।

लिटमसका मुख्य सञ्चालन अधिकृत (सीइओ) प्रकाश काफ्लेले उक्त सम्मानले कम्पनीलाई अझ उच्च लक्ष्य हासिल गर्न प्रेरणा दिएको बताए । 'यो सम्मान हाम्रो सम्पूर्ण टिमको मेहनत र समर्पणको परिणाम हो । आगामी दिनमा पनि निर्यात विस्तार र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढ गर्ने हाम्रो प्रतिबद्धता कायम रहनेछ,' उनले भने ।

कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गर्नुका साथै आयात प्रतिस्थापन र सहायक उद्योगहरूको विकासमा पनि योगदान दिँदै आएको जनाएको छ ।

यस सम्मानले लिटमस इन्डस्ट्रिजलाई नेपालको औद्योगिक उत्कृष्टता र निर्यात प्रतिस्पर्धात्मकताको प्रतिनिधि उद्योगका रूपमा थप सुदृढ बनाएको कम्पनीको भनाइ छ ।   

Share News