अब तारेदेखि पाँचतारे डिलक्ससम्मका होटलमा संकेत चिन्ह अनिवार्य
काठमाडौं । सरकारले एक तारा स्तरका होटलदेखि पाँचतारे लक्जरी रिसोर्टसम्मले अनिवार्य रूपमा पर्यटकीय सेवाका लागि संकत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै सम्बन्धित रिसोर्ट, तारा स्तरका होटल र सबै प्रकारका बुटिक होटलले अनिवार्य रूपमा होटलको स्तरीकरण बुझाउने संकत चिन्ह राख्नुपर्ने भएको हो । पर्यटन विभागले मंगलबार एक सूचना जारी गर्दै सम्बन्धित निकायमा दर्ता भएको स्तरवर्गीकरण प्रमाणपत्र प्राप्त गरेका होटल÷रिसोर्टहरुले स्तरवर्गाीकरण भए अनुसार राख्न पाउने संकेत चिन्हलाई नामसगैँ प्रष्ट देखिने गरि राख्नुपर्ने जनाएको हो । विभागले सबै स्तरका रिसोर्ट, तारास्तरका होटल तथा सबैस्तरका हेरिटेज बुटिक होटल, पर्यटकस्तरको होटल, पर्यटक इन, पर्यटक लज, मोटेल, बेड एण्ड ब्रेकफाष्ट (बी एण्ड बी) बाट प्रदान हुने सेवा, गुणस्तर, क्षमता, अन्तर्राष्ट्रिय अभ्यास समेतको आधारमा पर्यटकस्तरका पूर्वाधार भएको जनाउनको लागि नेपालभर एकरुपता हुने गरी संकेन चिन्ह निर्धारण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल÷रिसोर्ट संकेत चिन्ह निर्धारण गरिएको सम्बन्धित सार्वजनिक सूचना जारी गर्दै यसको प्रयोग अनिवार्य गर्न र प्रयोग गर्ने होटल तथा रिसोर्टले पर्यटकीय सेवा सुविधा दिन नपाउने बताएको छ । कुन होटलको कुन तारा ? विभागले तारे होटलको स्तरका आधारमा विभागले तारा तोकेको छ । जसअनुसार एक तारास्तरको होटलका लागि एक तारा, दुई तारास्तरको होटलका लागि दुई तारा, तीन तारेस्तरका लागि तीन तारा, चार तारेस्तरका लागि चार तारा, पाँच तारास्तरका लागि पाँच तारा, पाँच तारा डिलक्सस्तरको होटलका लागि पाँच तारा र डिलक्स शब्द, साधारण हेरिटेज बुटिक होटलका लागि तीन तारा र स्याण्डर्ड हेरिटेज बुटिक शब्द लेख्नुपर्ने जनाएको छ । यस्तै, डिलक्स हेरिटेज बुटिक होटलका लागि चार तारा र डिलक्स हेरिटेज बुटिक शब्द, लक्जरी हेरिजेट बुटिक होटलका लागि पाँच तारा र लक्जरी हेरिटेज बुटिक शब्द, साधारण रिसोर्टको लागि तीन तारा र स्याण्डर्ड रिसोर्ट शब्द, डिलक्स रिसोर्टको लागि चार तारा र डिलक्स रिसोर्ट शब्द र लक्जरी रिसोर्टको लागि पाँच तारा र लक्जरी रिसोर्ट शब्द राख्नुपर्नेहुन्छ । तारा स्तरको होटलको नाममा हुने ठगी रोक्न, दर्ता विनाका होटल सञ्चालन गर्न नदिन र नियमन गर्न उक्त व्यवस्था लागु गरिएको विभागका अधिकारीहरु बताउँछन् ।
९ शेर्पा गाइडले गरे केटु हिमालको सफल आरोहण
काठमाडौं । विश्वकै दोस्रो अग्लो केटु हिमालको नौ जना शेर्पा सहित १९ जना आरोहीले सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको आठ हजार ६१० मिटर उचाईमा रहेको माउन्ट केटुको मंगलबार विहान सफल आरोहण गरेका हुन । ९ जना नेपाली शेर्पा गाइड सगैँ चार जना युक्रेनी आरोही, दुई जना पाकिस्तानी आरोही र अन्य देशका चार जना आरोहीले केटुको सफल आरोहण गरेका आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर प्रालिले जनाएको छ । कम्पनीका अनुसार समर सिजनमा आरोहण गरिने केटु हिमालमा यस वर्ष नेपाली कम्पनीका तर्फबाट आरोहण आयोजना भएको थियो । केटु आरोहण गर्ने नेपाली शेर्पा गाइडहरुमा लाक्पा शेर्पा, मिङदोर्ची शेर्पा, पेम्वा रिता शेर्पा, ल्हाक्पा ग्याजेन शेर्पा, मिङमा दोर्ची शेर्पा, छिरिङ नाम्गेल शेर्पा, पेम्वा दोर्ची शेर्पा र टासि शेर्पा रहेका छन् ।
बागलुङका होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति
फाइल फाेटाे बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ । झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्यवसायीहरु कोरोनाविरुद्धको खोपमासमेत प्राथमिकतामा नपर्दा निराश भएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको प्रत्यक्ष मार होटल व्यवसायमाथि छ । पर्यटन क्षेत्र ठप्प हुँदा र जिल्लाभित्रै पनि मानिसको आउजाउ घटेपछि प्रायः होटल सुनसान बनेका छन् । होटल व्यवसायीका अनुसार व्यापार छैन । घरभाडा, कर्मचारीको तलब, पानी र बिजुलीमा हुने खर्च भने नियमित छ । यहाँका ९५ प्रतिशत होटल भाडाको घरबाट सञ्चालित छन् । ऋणधन गरेर व्यवसाय थालेकाहरुलाई ब्याज र किस्ता चलाउनै धौ धौ छ । छिट्टै व्यवसाय लयमा नफर्के कतिपय व्यवसायी पलायन हुनुपर्ने स्थिति छ । होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले खोपमा आफूहरुलाई विभेद गरिएको बताए । उनले सेवा क्षेत्रको मुख्य र संवेदनशील व्यवसायलाई सरकारले उपेक्षा गरेको समेत आरोप लगाए । ‘सार्वजनिक यातायात, बजार, कार्यालय खुलेका छन्, तर होटल खोल्न अनुमति दिइएको छैन’, उनले भने । होटल पिस प्यालेसका सञ्चालकसमेत रहेका राजभण्डारीले रेष्टुराले जस्तो ‘टेक अवे’ र ‘होम डेलिभरी’ सेवा होटलले दिन नसक्ने जनाए । होटलमा खाना र रात बिताउनका लागि पाहुना आउने भएपनि त्यही बेला होटल बन्द गर्नुपर्ने नियम अमिल्दो भएको व्यवसायी बताउँछन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयानुसार जारी निषेधाज्ञामा साँझ ७ बजेसम्म मात्र सेवा सञ्चालन गर्न पाइने उल्लेख छ । यहीबीच होटल व्यवसायीले सोमबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई भेटेर व्यवसाय सञ्चालनमा सहजीकरण र खोपको प्रबन्ध गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीका पीर मर्का सुनेका प्रजिअ कार्कीले होटल व्यवसाय माथिबाटै प्राथमिकताको सूचिमा नपरेका कारण खोप दिलाउन नसकिएको बताए । उनले केन्द्रको नीति अनुसार तोकेर आएमा अबको चरणमा होटल व्यवसायीलाई खोपको सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । किराना, मासु, फलफूल तथा तरकारी, ग्यास व्यापारीलगायतले खोप पाइसकेका छन् । अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मीपछि उमेर समूह र अति संवेदनशील व्यवसायलक्षित गरी अहिले खोप अभियान चलिरहेको छ । होटललाई पनि अति संवेदनशील व्यवसायमा सूचिकृत गरी यथाशीघ्र खोप उपलब्ध नगराए तालाचाबी बुझाएर आन्दोलनमा जान व्यवसायीहरु बाध्य हुने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । महासंघ र जिल्ला संघले संयुक्त रुपमा प्रजिअसमक्ष बुझाएको ज्ञापनपत्रमा यही साउन १५ गतेभित्र माग पूरा नभए १६ गतेदेखि धर्नालगायत विरोधका कार्यक्रम गरिने उल्लेख छ । यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि खोप नपाएको व्यवसायीको गुनासो छ । शुरुमा एक सय व्यवसायीलाई मात्र भएपनि खोपको प्रबन्ध गर्न माग गरिएको जिल्ला संघका अध्यक्ष राजभण्डारीले बताए । उमेर समूह र प्राथमिकताप्राप्त क्षेत्र÷पेशा बाहेकका व्यक्तिले पनि भनसुनका आधारमा खोप लगाइरहेका बेला होटल व्यवसायी भने अहिलेसम्म खोपबाट बञ्चित छन् । खोपसँगै सहज रुपमा व्यवसाय सञ्चालन र व्यवसाय पुनःउत्थानका लागि सरकारले राहत र सहुलियत दरको कर्जा प्रवाहको योजना ल्याउनपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसाय उकास्नका लागि गण्डकी प्रदेश सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीहरुले नै लाभ लिन नसकेको महासंघका अध्यक्ष चोखालले बताए । ‘कर्जा दिनका लागि बैङ्कले धितो खोज्यो, हाम्रा व्यवसायीहरु अधिकांश गाउँबाट आएर होटल चलाएका छन्, धितो राख्न सक्ने अवस्था छैन’, उनले भने, ‘पहिले पनि कर्जा लिएका र ठूला व्यवसायीले मात्र लाभ लिए ।’ कर्जामा ब्याज मिनाहा, पुनःकर्जा, कर छुटलगायतका योजनाबाट सबै व्यवसायी समान रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ । उनले महामारी अझै यस्तै रहिरहे र राहत पनि नपाउने हो भने व्यवसायीहरु होटल बन्द गर्नुपर्ने अवस्थामा आएको बताए । स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित होटल व्यवसायलाई नियमित सञ्चालनका लागि अनुमति दिनुपर्ने आवाज व्यवसायीबाट उठेको छ । होटल व्यवस्थापनले पनि भौतिक दूरी कायम गर्ने, पाहुना कम राख्ने, स्वास्थ्य सावधानी अपनाउने कुरामा सचेत हुनुपर्नेमा अध्यक्ष चोखालको जोड छ । यहाँ झण्डै दुई सय होटल, रेष्टुरा छन् । बागलुङ नगरपालिकामा मात्र त्यो सङ्ख्या ७० को हाराहारीमा छ । साना, ठूला सबै होटलमा गरी करिब रु. ५० करोड लगानी छ । पर्यटकीयस्तरका होटलको सङ्ख्या भने १५ छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशले गत वर्ष नै प्रदेशभर सञ्चालित होटलको संख्या र लगानी विवरणसमेत संकलन गरेको थियो । होटलको स्थिति बुझने र सोही अनुसार राहत कार्यक्रमका लागि पहल गर्न विवरण उठाइएपनि त्यसले कुनै परिणाम दिन सकेन । कोरोना महामारी साम्य नभएसम्म होटल, रेष्टुरा व्यवसाय पुरानै अवस्थामा फर्कन कठिन छ । धेरै जनसङ्ख्यालाई खोपको पहुँचमा पु¥याउन सके स्थिति सहज हुने ठानिएको छ । कोराना मत्थर भएर निषेधाज्ञा पूर्ण रुपमा हटेपछि आन्तरिक पर्यटक घुम्न निस्कने र त्यसबाट होटल व्यवसाय चलायमान हुनेमा व्यवसायी आशावादी छन् । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी होटलमा पूर्वाधार, गुणस्तर र स्वास्थ्य सावधानीका लागि व्यवसायीले पनि लगानी बढाउनुपर्ने अवस्था छ । रासस