हिमालय एयरलाइन्सको हवाइ टिकट अब बेवसाइटबाटै खरिद गर्न सकिने
काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को वेबसाइटबाट बुकिङ्ग गर्न सक्नेछन । हाल उक्त सेवा प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू (उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा) लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै, एअरलाइन्स्ले अन्य सहायक सेवाहरू (ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन) आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाइएको जनाएको छ । एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन मार्फट टिकट बुकिङ सुरु हुनु कम्पनीको लागि महत्वपूर्ण उपलब्धी रहेको जनाएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सरकारले नियमित रुपमा उडान हुने गन्तव्यमा उडान बन्द गरेर सिमित देशमा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । सिमित देशमा मात्र उडान सञ्चालन हुँदा टिकटका लागि यात्रुहरुलाई समस्या हुँदै आएको थियो । हिमालयले अनलाईन मार्फत टिकट बुकिङको सुविधा दिएसगैँ केही सहज हुने अनुमान गरिएको छ । केही दिन अगि टिकटका लागि हिमालय एयरलाइन्सको कार्यालय अगाडी धेरै यात्रुको भिड लागेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । एअरलाइन्स्ले हाल अबुधाबी, बेइजिङ, छोड्ंछिडं्, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाध गरी ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एअरबस् ३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमी क्लास सीट भएको एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । निकट भविष्यमा एअरलाइन्स्को ल्हासा लगायत दक्षिण एशियाको अन्य प्रमुख शहरहरूमा सेवा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
एनएसीलाई कम्पनी मोडलमा लाने उपसमितिको प्रस्ताव, निगम व्यवस्थापन र कर्मचारी भन्छन्ः हुँदैन
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगम भित्रका अगुवा कर्मचारी सङ्गठनले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । उनीहरुले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा गत शुक्रबारदेखि तालाबन्दी गरेर संघर्षमा उत्रिएका छन् । निगमभित्र देखिएको समस्याबारे जिज्ञासा राख्दा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले कर्मचारीको भविष्य र निगमको अस्तित्वको पक्षमा आम कर्मचारी र व्यवस्थापनको चासो रहेकाले वार्ताबाटै सकारात्मक निष्कर्षमा पुगिने बताईन । ‘निगमलाई अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न, यो कर्मचारीको भविष्यसँग जोडिएको विषय भएकाले व्यवस्थापनले पनि कम्पनी मोडलमा जाने सोच लिनु उचित हुँदैन, सकारात्मक वार्ताबाट समाधान खोजिनुपर्छ, त्यसैले आन्दोलनलाई स्थगित गरेर वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ,’ उनले भनिन् । विभिन्न समयमा निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नका लागि विभिन्न विकल्पहरुको अध्ययन तथा चर्चा परिचर्चाहरु भइनै रहन्छन् । सोही सन्दर्भमा निगममा अहिलेको बहस असान्दर्भिक नभएको पनि निगमले उल्लेख गरेको छ । सरकारले बजेटमार्फत निगमको सङ्गठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नेबारे आवश्यक तयारी स्वरुप विभिन्न विकल्पमा छलफको प्रक्रिया मात्रै अघि बढेको र कर्मचारीको सहमतिमा आगामी कदम चालिने निगमले जनाएको छ । निगमका अनुसार बजेटमा व्यवस्था भए बमोजिम सङ्गठन सुधारका विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाइ उक्त उपसमितिले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरिएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सामाजिक सञ्जालमा एक सूचना पोष्ट गर्दै कम्पनीले मोडलको विषयमा अध्ययन मात्र भएको बताएका छन् । ‘यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन, सञ्चालक समितिले पनि कुनै निर्णय गरेको छैन, समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन्’, उनले लेखेका छन, ‘धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको तर, अहिलेको जस्तो न्यून पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानुहुँदैन भन्ने निगमको स्पष्ट धारणा हो ।’ निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।
ताप्लेजुङकाे सुकेटार विमानस्थलमा नियमित उडान शुरु
फुङ्लिङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ । ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुग्नुभएको थियो । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस