देशका चार पर्यटकीय गन्तव्य जोड्यो हवाई उडानले
काठमाडाैं । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइतबारदेखि भरतपुर–भैरहवा उडान थालेको हो । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार भरतपुर–काठमाडौं दैनिक नौ वटा उडान हुँदै आएको छ । भरतपुर–पोखरा दैनिक एउटा र भरतपुर–भैरहवा हप्ताको तीन उडान भर्न थालिएको छ । आइतबार, बुधबार र शुक्रबार उडान थालिएको उनले जानकारी दिए । बस्नेतले भने, ‘पर्यटकीय गन्तव्यसँगै उपचारका लागि भरतपुर आउन सहज भएको छ ।’ यससँगै नारायणगढ–बुटवल सडक विस्तार भइरहेकाले यात्रुलाई सहज भएको उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे भारतीय पर्यटक नेपाल आउन भैरहवा–भरतपुर उडान प्रभावकारी हुने बताउँछन् । देशका चार प्रमुख पर्यटकीय गन्तव्य उडानमार्फत जोडिँदै गर्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ । लुम्बिनीमा ठूलो सङ्ख्यामा पर्यटक आएर त्यहीँबाट भारततर्फ फर्कने गरेको भन्दै उनले ती पर्यटकलाई चितवनसहितका गन्तव्यमा ल्याउन उडान महत्वपूर्ण हुने बताए । सडकको यात्रा गर्नु नपरेपछि छोटो समयमा धेरै ठाउँ घुम्न पाउने घिमिरेले बताए । पर्यटनविद् डा विश्व सुवेदीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यहाँसँगको हवाई उडान चितवनका लागि निकै महत्वपूर्ण हुने बताए । विभिन्न देशसँग उडानको सम्झौता भइसकेको भन्दै उनले यहाँका लागि निकट अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा हुने विश्वास व्यक्त गरे । विश्वमा एक अर्बभन्दा बढी बौद्ध धर्मावालम्बी भएको भन्दै उहाँले उनीहरुको पहिलो गन्तव्य लुम्बिनी रहेको जानकारी दिए । त्यसैले त्यहाँसँगको चितवनको सम्बन्ध महत्वपूर्ण हुने सुवेदीको भनाइ छ । चितवन जङ्गल सफारीका लागि देशकै पहिलो गन्तव्य हो । यहाँको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा जङ्गल सफारी गर्न पर्यटक आउने गर्दछन् । एक सिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, चराचुरुङ्गी पर्यटकको रोजाइमा पर्ने गर्दछन् । रासस
नेपाल वायुसेवा निगमको जहाज युद्धग्रस्थ क्षेत्र अफगानिस्तान जाने
काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको उद्धार गर्न जाने भएको छ । आगामी भदौ ११ गते अफगानिस्तानको राजधानी काबुल जाने तयारी गरेको हो । नेपालीको उद्धारका लागि चार्टर्ड उडानको प्रस्ताव आएपछि निगमले परराष्ट्र मन्त्रालयसँग उडानको अनुमति माग गरेको जनाईएको छ । दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । परराष्ट्रबाट चार्टर उडानका लागि अनुमति पाए निगमको न्यारोवडी जहाजबाट काबुलमा रहेका करिब एक सय जना नेपालीको उद्धार हुनेछ । मन्त्रालयले सहसचिवको नेतृत्वमा युद्धग्रस्त अफगानिस्तानमा जोखिमपूर्ण रहेका नेपालीको उद्धारका लागि एक समिति गठन गरेको छ ।
लयमा फर्कंदै आन्तरिक उडान, विदेशी यात्रु नहुँदा बढेन नाफा
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोेखिमलाई ध्यानमा राख्दै सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको मारमा परेका आन्तरिक वायुसेवा कम्पनी विस्तारै पुरानै अवस्थामा फर्कन थालेका छन् । लामो सयमसम्मको बन्दाबन्दी र निषेधाज्ञाको मारमा परेका वायुसेवा कम्पनीले विस्तारै राहत महसुस गर्न थालेका हुन । पछिल्लो समय निषेधाज्ञामा खुकुलो, पर्याप्त मात्रामा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन नहुनु र अन्य यातायातको तुलनामा हवाई यातायात भरपर्दाे र सुरक्षित भएपछि यात्रुको संख्यामा बृद्धि हुन थालेको जनाईएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट विभिन्न गन्तव्यमा दैनिक २ सय १० उडान तथा अवतरण हुने गरेको छ । २०७६ को चैत अघि (कोभिडको पहिलो लहर सुरु भएको भन्दै सरकारले गरेको बन्दाबन्दी) को दैनिक २१० देखि २१२ उडान तथा अवरतण हुँदै आएको थियो । बन्दाबन्दीको अगाडीकै तुलनामा दैनिक उडान तथा अवतरण भएपनि यात्रुको संख्यामा केही कमी आएको वायुसेवा कम्पनीका सञ्चालकहरु बताउँछन् । वायुसेवा संचालकहरुका अनुसार बन्दाबन्दी अघिकै तुलनामा उडान भएपनि वायुसेवा कम्पनीले आर्जन गर्ने नाफामा धेरै कमी आएको छ । विदेशी नहुँदा उडान सस्तो भयो बन्दाबन्दी अघिको तुलना जस्तै हाल उडान संख्या र यात्रुको संख्यामा बृद्धि भए तापनि विदेशी यात्रु नहुँदा वायुसेवा कम्पनीले मह्गो भाडादरको उपयोग गर्न पाएका छैनन । विदेशी यात्रुले डलरमा हवाई टिकट काट्दा भाडादर केही महङगो हुँदा वायुसेवा कम्पनीलाई नाफा धेरै हुन्थ्यो । कोरोनाले लामो समय बन्द भएको हवाई सेवा विस्तारै सहज भए तापनि विदेशी नहुँदा उडान सस्तो भएको वायुसेवा कम्पनीका अधिकारीहरु बताउँछन् । पछिल्लोपटक कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै गत वैशाख १६ देखि असार १६ सम्म आन्तरिक उडानमा पूर्णरुपले रोक लगाइएको थियो। असार १७ बाट उडान पुनः खुला गरिएसँगै उडान पुरानै रुपमा हुन थालेको हो । प्रतिघण्टा ८ उडानको अनुमति कोरोना संक्रमणलाई ध्यानमा राख्दै पछिल्लो समय विमानस्थल कार्यालयले प्रतिघण्टा ८ वटा वायुसेवा कम्पनीलाई उडान अनुमति दिने गरेको छ । धेरै उडान हुँदा यात्रुको बढी भिडभाड हुने भन्दै आन्तरिक उडानमा प्रतिघण्टा ८ वटा वायुसेवा कम्पनीलाई उडानको अनुमति दिईएको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारी बताउँछन् । उनका अनुसार पछिल्लो समय वायुसेवा कम्पनीको उडान संख्या र यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । ‘हामीले उडान संख्या तोकेनौ भने यात्रुको बढी भिडभाडा हुँदा संक्रमणको जोखिम उच्च हुन्छ । आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीको मागका आधारमा हामीले भिडलाई कम गर्न उडान संख्या तोकेका हौँ’, उनले भने । पछिल्लो समय अनुमान गरेभन्दा बढी मात्रामा आन्तरिक उडान भएको छ । आन्तरिक उडानको तुलनामा अन्तर्राष्ट्रिय उडानको संख्या न्यून मात्रामा रहेको छ । धेरै देशले नेपाली उडानमाथि लगाएको प्रतिबन्द फुकुवा नगर्नु र नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदा अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको हो । बुद्धको दैनिक १३० उडान पछिल्लो समय बुद्ध एयरले विभिन्न गन्तव्यमा दैनिक १३० वटा उडान तथा अवतरण मार्फत दैनिक ७ हजार यात्रुलाई सेवा दिएको जनाएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले दिएको अनुमति अनुसार यसअघि नै उडान गर्दै आएका गन्तव्यमा दैनिक उक्त संख्यामा उडान तथा अवतरण गर्दै आएको बुद्धका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । कोरोना महामारीपछि पछिल्लो समय अन्य वायुसेवा कम्पनीको तुलनमा बुद्ध एयरले धेरै उडान तथा अवतरण गर्दै आएको छ । उनका अनुसार हाल १० वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हालकाठमाडौं विमानस्थलबाट भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यस्तै पोखरा विमानस्थललाई केन्द्र बनाएर नेपालगन्ज, भैरहवा र भरतपुरमा उडान गर्दै आएको छ । श्रीको दैनिक ३२ उडान यस्तै, आन्तरिक उडान गर्दै आएको श्री एयरलाईन्सले पछिल्लो समय दैनिक ३२ उडान तथा अवतरण गर्ने गरेको छ । श्रीका प्रवक्ता अनिल मानन्धर निषेधाज्ञा पछि आन्तरिक हवाई उडान पुरानै अवस्थामा फर्किन थालेको बताउँछन् । केही गन्तव्यमा फूल अकुपेन्सीमा उडान भए तापनि केही गन्तव्यमा एक तर्फमात्र उडान हुने गरेको उनी बताउँछन् । उनका अनुसार काठमाडौं आउने यात्रुको संख्यामा बृद्धिहुँदा बाहिरिने संख्यामा कमी आएको छ । यतिको ९५ प्रतिशत उडान आन्तरिक गन्तव्यमा उडान गर्दै आएको यति एयरलाइन्सले कोरोना महामारीपछि ९५ प्रतिशत उडान हुँदै आएको जनाएको छ । यतिका प्रवक्ता सुदर्शन बर्ताेला दैनिक ४० उडान तथा अवतरण मार्फत २७ सय यात्रुलाई सेवा दिएको बताउँछन् । ‘हाम्रो क्षमता करिब २८ सय जति हो । दैनिक २७ सय यात्रुलाई सेवा दिएका छौँ, महामारीपछि पुरानै अवस्थामा आन्तरिक उडान फर्कन थालेको छ’, उनले भने, ‘उडान तथा प्रशासनिक खर्च विस्तारै धान्नेको छ । विदेशी पर्यटक नहुँदा सस्तो टिक बिक्री बढेको छ ।’ यसअघि नेपाली यात्रुको तुलनामा विदेशी यात्रुले धेरै हवाई सेवाको उपयोग गर्ने गरेकोमा कोरोना महामारीपछि अधिकाशं नेपाली यात्रुले हवाई सेवाको उपयोग गर्न थालेको उनको बुझाई छ ।