काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय कार्यालयमा राजश्व विभागले छापा मारेको छ ।
पदयात्रा व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्डको रकम पारदर्शी नभएको व्यवसायीको उजुरीका आधारमा विभागले शुक्रबार दिउँसो छापा मारेको हो । विभागले टानबाट आवश्यक कागजपत्र समेत नियन्त्रणमा लिएको छ ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्याटका विषयमा विभागका अधिकारीहरुले सोधपुच्छ गरेको बताए ।
टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा सन् २००८ जनवरी १ देखी टिम्स कार्यान्वयनमा ल्याईएको थियो । टानको अवधारण अनुरुप पदयात्रीहरुको सुरक्षाको लागि टिम्स ल्याईएको थियो, टिम्सको प्रभावकारी कार्यान्वयनका लागि दुई निकायविच समझदारी–पत्रमा हस्ताक्षर भई विगत १३ बर्षदेखी टिम्स सम्बन्धी कार्यहुँदै आएको हो ।
पर्यटन बोर्डले खर्च गर्न पाउने ३० प्रतिशत, बोर्ड र टानको संयुक्त कोषमा रहने अर्को ३० प्रतिशत र मजदुर कल्याणकारी कोषमा रहने १० प्रतिशत रकम राखिने व्यवस्था गरिएको थियो । तर सम्झौता अनुसारको रकम विगत लामो समयदेखि टानले पाएको छैन ।
पर्यटन बोडसँग टानले टिम्स कार्ड खरिद गरेर बिक्री गर्दै आएको थियो । उक्त बिक्री प्रक्रियामा अनियमितता भएपछि लामो समयदेखि उक्त रकम खर्च हुन सकेको छैन ।