नेपाल एयरलाइन्सका कर्मचारीको विरोधमा आयल निगमका कर्मचारीको समर्थन
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको आन्दोलनमा नेपाल आयल निगमका कर्मचारीले समर्थन गरेका छन् । निगमलाई निजीकरण गर्ने तयारी भएको भन्दै आन्दोलनमा उत्रिएका निगमका कर्मचारीको आन्दोलनमा सोमबार आयल निगम कर्मचारी संघले समर्थन जनाएको हो । संघले निगमका कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै वायुसेवा निगमको प्रवन्धपत्र, नियमावली संसोधन गरि निजीकरण गर्ने प्रयास भएको प्रति ध्यानकर्षण भएको जनाएको छ । ‘नेपालको एकमात्र राष्ट्रिय ध्याजावाहक नेपाल वायुसेवा निगमलाई कोहि कसैको स्वार्थका लागि गैर जिम्मेवारी ढङगले निजीकरण गरिनु खेदजनक छ’, कर्मचारी संघका महासचिव झविन्द्र विकले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगम बचाउने आन्दोलनमा संघर्षरत नेपाल वायुसेवा निगममा क्रियाशिल सबै ट्रेड यूनियनहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछौँ ।’ निगमलाई नीजिकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् । नीजिकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजिनामा माग गर्दै वायु सेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् । आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले एक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् । नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताए । निजीकरण गर्न लागिएको भन्दै १० दिनदेखि निगमका कर्मचारी आन्दोलित बनेका छन् । मागसम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै कर्मचारीहरुले मंगलबार निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको फोटो सहित कार्यालय प्रवेशमा निषेश व्यानर सहित प्रदर्शन गर्ने जनाएका छन् ।
नेपालसहित ४५ देशका ४५७ जनाले गरे सगरमाथाको सफल आरोहण
काठमाडौं । कोभिड–१९ को दोस्रो लहरका बाबजुत नेपाल सहित ४५ देशका नागरिकले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्यांक अुनसार सन् २०२१ को वसन्तकालीन सिजनको हिमाल आरोहण अन्तरगत सगरमाथामा उक्त देशका ४ सय ५७ आरोहीले सफल आरोहण गरेका हुन । विभागका अनुसार यस वर्षको आरोहण अन्तरगत सगरमाथा सहित ६ हिमालमा ६३३ जनाले सफल आरोहण गरेका हुन । जसमध्ये ३० जना महिला, २३० जना पुरुष र ३७३ जना सहयोगी शेर्पा गाइडहरुले सफल आरोहण गरेका छन् । विभागले विभिन्न १६ वटा हिमाल आरोहणका लागि ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति लिएका थिए । १६ हिमाल आरोहणको अनुमति दिईएकोमा यस सिजनमा ६ वटा हिमालको मात्र सफल आरोहण भएको छ । कुन हिमालमा कतिले गरे आरोहण : विभागकी निर्देशक मिरा आचार्यका अनुसार यस सिजनमा ६ वटा हिमालको सफल आरोहण भएको छ । ६ वटा हिमालमध्ये सगरमाथामा सबैभन्दा धेरै तथा बरुणचेमा २ जनाले आरोहण गरेका थिए । सगरमाथा आरोहण अन्तरगत सगरमाथा चुचुरोमा ७ जना नेपालीसहित ४ सय ५७ जना पुगेका थिए । जसमा ४३ जना महिला र ४ सय १४ जना पुरुष थिए । विभागले जारी गरेको अन्तिम नतिजा अनुसार अमादब्लममा २४, अन्नपूर्ण प्रथममा ६८, लोत्सेमा ७२, पुमरीमा १० र सगरमाथामा मात्रै ४ सय ५७ ले आरोहण गरे । नेपालले आरोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । हालसम्म खुला गरिएकामध्ये ३ सय ३९ चुचुरामा मात्रै सफल अरोहण भइसकेको छ भने ७५ वटा हिमचुचुरामा आरोहण भइसकेको छैन् । यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारीतर्फका युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा)ले सगरमाथा आरोहण गरेका थिए । चार जनाको मृत्यु यस वर्षको हिमाल आरोहण अन्तरगत सगरमाथा आरोहणका क्रममा चार जनााको मृत्यु भएको छ । जसमा दुई नेपाली गाइड तथा दुई जना विदेशी अरोही हुन । पर्यटक गाईड संखुवासभाका आङदोर्जी शेर्पा र पेम्बाटासी शेर्पा तथा अमेरिकी नागरिक पूवे लिउ र स्विस आरोही अब्दुल वाराइचको मृत्यु भएको थियो । उनीहरुमध्ये स्विस नागरिक अब्दुल वाराइच र गाइड आङ दोर्जीको सगरमाथा आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको थियो । १६ हिमालको अनुमति यसपटक विभागले १६ वटा हिमालका लागि नेपालसहित ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति दिइएको थियो । जसमा सगरमाथाका लागि ४०८ जना आरोही, मनास्लुमा १, आमादब्लमा २७, अन्नपूर्ण पहिलोमा ४४, बरुणचेमा १५, धौलागिरीमा ३३, ल्होत्सेमा १२५, नुप्सेमा ३८ जनाले आरोहण अनुमति दिएका थिए । यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ ।
पर्यटन मन्त्रालयले भन्यो, निगम निजीकरणबारे छलफल समेत भएको छैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरणबारे छलफल समेत नभएको जनाएको छ । मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने वा निजी कम्पनिमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना तथा कार्यक्रम नभएको जनाएको हो । मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको प्रेश विज्ञप्ती अनुसार पछिल्लो समय निगमको निजीकरणबारे अनेक समाचार सम्प्रेषण भइरहेका बेला मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको समेत जनाईएको छ । निगममा कार्यरत कर्मचारीहरु निगम सञ्चालक समितिले रातारात निजीकरणको निर्णय गरेर नियमावली तथा प्रवन्धपत्र मन्त्रालयमा पठाएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले कर्मचारीलाई थाहा नदिई निजीकरणको फाइल पर्यटन मन्त्रालयहुँदै अर्थ मन्त्रालयमा पुगेको भन्दै निगमको प्रवन्धपत्र जलाउने देखि महाप्रबन्धक तथा निगममा तालाबन्दी समेत गरेका थिए । उनीहरुले निगमलाई कम्पनी मोडलमा लाने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने जनाउँदै आएका छन् । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थ मन्त्रालय र निगम सञ्चालक समितिको निर्देशनअनुसार काम गरेको भन्दै निजीकरणको विषय हल्लामात्र रहेको बताउँदै आएका छन् । ‘निगमलाई कम्पनी मोडलमा लैजानुपर्छ भन्ने कुरामा म स्पष्ट नै छु,’ पौडेल भन्छन् ‘तर अहिले ऋण धेरै भएकाले कम्पनी मोडलमा तत्काल लैजानु हुँदैन ।’ नियमावली तथा प्रबन्धपत्रमा भएका विषय मस्यौदा मात्रै भएकाले कस्ता प्रावधान राख्ने भन्नेबारे बृहत् छलफल गर्न सकिने उनले बताए । ‘यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन, सञ्चालक समितिले पनि कुनै निर्णय गरेको छैन, समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन’, उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको तर, अहिलेको जस्तो न्यून पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानुहुँदैन भन्ने निगमको स्पष्ट धारणा हो ।’ निगमका अनुसार बजेटमा व्यवस्था भए बमोजिम सङ्गठन सुधारका विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाइ उक्त उपसमितिले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरिएको छ । निगम सञ्चालक समितिले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गर्न सञ्चालक समिति सदस्य किशोर प्रधानको संयोजकत्वमा समिति गठन गरेको थियो ।