संशोधन आवश्यक भन्दै मन्त्रिपरिषद्बाट फिर्ता पठाईयो हवाई नीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको हवाई नीति २०७७ मन्त्रिपरिषद्को बैठकबाट फिर्ता भएको छ । गत फागुनमा मन्त्रिपरिषद्को बैठकमा पठाईएको उक्त नीति बिहीबार मन्त्रालयमा फिर्ता पठाईएको हो । उक्त नीतिमा संशोधन आवश्यक रहेको भन्दै मस्यौदा फिर्ता पठाईएको जानकारी आएको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले हवाई क्षेत्रको सुधार र विकासका लागि भन्दै मन्त्रालयले तयार पारेको नयाँ हवाई नीति २०७७ लामो समयदेखि मन्त्रिपरिषद्मै रोकिएको थियो । यसअघि नै मन्त्रिपरिषद्मा दर्ता भएतापनि स्वीकृति नभएको भन्दै शेरबादुर देउवा सरकारले स्वीकृत नगरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् उनिहरुका अनुसार हवाई नीति सगैँ अन्य तीन वटा प्रस्तावसमेत फिर्ता आएको छ । राष्ट्रिय हवाई नीति २०५० लाई १३ वर्षपछि परिमार्जन गरी २०६३ लागू भएको थियो । अहिले झण्डै डेढ दशकपछि नयाँ नीतिको मस्यौदा तयार पारिएको थियो । नयाँ नीतिमा वायुसेवा कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहन गर्नेदेखि अन्तर प्रदेश उडानमा छुट दिने विषय समावेश भएका छन् । यसैगरी, नीतिमा वायुसेवा कम्पनी खोल्न आवश्यक पर्ने पुँजी बढाउने र पुराना वायुयान आयातमा थप कडाइ गर्ने विषयसमेत समावेश गरिएको छ । साथै हवाई क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन फ्लाइङ स्कुलको विषय पनि अगाडि बढाइएको छ भने कुनै व्यक्ति वा संस्थाले निजी प्रयोजनका लागि समेत विमान राख्न पाउने व्यवस्था नीतिमा गरिएको छ । यस्तै, नीतिमा विमानस्थलको निर्माण र सञ्चालन गर्ने अधिकार निजी क्षेत्रलाई पनि दिइने र विमानस्थल निर्माणमा ३ तहको लगानी रहने विषय समावेश गरिएको छ ।
संक्रमणरहित उडान गछौँ, संख्या थपियोस
काठमाडौं । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि सङ्क्रमणरहित उडानको प्रतिबद्धता जनाएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणरहित उडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कोभिड–१० सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य तथा हातेमालोका लागि निरन्तर तयार रहेको जनाएको छ । वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय र नियामक प्राधिकरणले सुझाएको निर्देशिकाअनुरुप पूर्ण सावधानीका साथ हवाई सेवा सञ्चालन गरिरहेको सङ्घको भनाइ छ । सङ्क्रमणलाई मध्यनजर गर्दै प्राधिकरण सहज सरल उडानका लागि प्रतिघण्टा आठ वटा उडानको मात्र तालिका सञ्चालन ल्याएको छ । त्यसअनुरुप बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म स्लटअनुसार काठमाडौँबाट उडान हुने अवस्था रहेकाले काठमाडौँँ तथा बाहिरी विमानस्थलमा यात्रुको चाप न्यून देखिएको र विमानस्थलका उच्च अधिकारीबाट हरेक दिन अनुगमन भइरहेको जनाइएको छ । विगत केही सातादेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा बाटोघाटो क्षति पु¥याएको तथा कतिपय डाइभर्सन बगाउनुका साथै पुलमा क्षति पुगेको अहिलेको परिस्थितिमा वायुसेवा कम्पनी सहज भाडा दरमा यात्रु ओसारपसार गरिरहेको विज्ञप्तिमा उल्लेख छ । अहिले दैनिक एक हजार २०० भन्दा बढी यात्रु आवतजावत गरिरहेको विमानस्थलले जनाएको छ ।
शंकर ग्रुपले नक्सालमा ८ अर्बको लगानीमा पाँचतारे होटल बनाउँदै
काठमाडाैं । कोरोना महामारीबीच काठमाडौंको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो । आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालीटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए । विश्वमा छ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो । सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण शुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो । सन् २०२२ को अन्त्य सम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्रगतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ । पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५ गेष्ट रुम रहनेछन् । हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ । उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ । उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् । अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ । निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ । यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो । पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् । यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ । रासस