घरजग्गा कारोबारले बनायो करोडौंको होटलको मालिक, आधा दर्जन हिमालको दृश्यावलोकन झ्यालबाटै

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाका रामसुन्दर बके पेशाले घरजग्गा कारोबारी हुन् । उनी अहिले पनि घरजग्गा कारोबार नै गरिरहरेका छन् । तर, अहिले बाकेको अर्को पेशा थपिएको छ । उनी अहिले होटल/रिसोर्ट व्यवसायी भनेर पनि चिनिन्छन् । उनले हालै भक्तपुरको सुर्यविनायक नगरपालिकाको रानीकोटमा रिसोर्ट सञ्चालन गरेका छन् । अरुले घरजग्गा कारोबार गरेको देखेर सानै उमेरबाट घरजग्गा कारोबारीमा लागेका उनी हाल रिसोर्ट सञ्चालककै रुपमा आफुलाई स्थापित गर्न चाहन्छन् । ४८ वर्षीय बाकेले २५ करोड रुपैयाँ लगानी गरेर रानीकोटमा भिलेज हाइल्याण्ड नामक रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । २ हजार मिटर उचाईमा रहेको सो रिसोर्टबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न पनि सकिन्छ । ‘सानै उमेरमा अरुले गरेको देखेर जग्गा कारोबारी भएँ, मेरो रुची रिसोर्ट हुँदै होटल सञ्चालन गर्ने थियो, आफूसँग होटल सञ्चालन गर्ने रकम जम्मा गरेर रुची अनुसारको व्यवसाय सुरु गरेँ, अहिले दुवै व्यवसायलाई नै समय दिइरहेको छु,’बकेले भने । ४ वर्ष पूर्वाधार निर्माणमा खर्च गरेका उनले होटल सञ्चालनको तयारी गर्ने बेलामा कोरोना भाइरस (कोेभिड–१९) को महामारी सुरु भएको थियो । महामारीले बीचमा केही समय सञ्चालनमा कठिनाई भएतापनि पछिल्लो समय उल्लेख्य रुपमा स्वदेशी पर्यटकको भिड लाग्ने गरेको उनको भनाई छ । अहिले स्वदेशी पर्यटकहरु रमाइलो गर्नकै लागि रानीकोट पुग्ने गरेका छन् । आधा दर्जन हिमालको दृश्यावलोकन काठमाडौंबाट करिब २० किलोमिटर दूरीमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टबाटै आधा दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न पाइन्छ । दोर्जे लाक्पा, लाङटाङ, मनास्लु, पुमरी, गौरीशंकर लगायतका हिमालहरु रिसोर्ट तथा रिसोर्टकै झ्यालबाट हेर्न सकिने उनी बताउँछन् । साथै, काठमाडौं उपत्यकाका तीनै शहर भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका अधिकाश भागहरु पनि होटलका कोठाहरुबाटै देख्न सकिने उनको भनाई छ । ललितपुरको लाँकुरीभञ्ज्याड, काभ्रेको पनौती, कुसादेवीदेखि समेत रानीकोट हाइकिङ रुट प्रख्यात छ । यस्तै, ऐतिहासिक मानिने रानीकोट, धार्मिक हिसाबले प्रख्यात बाघभैरव समेत सो क्षेत्रमा छ । होटल वरिपरी घना जंगल भएकाले भविष्यमा जिप सफारीको योजना पनि बनाएको उनको भनाई छ । ‘हामीले जिप सफारिको योजना बनाएका थियौँ, कोभिडका कारण योजना केही पछि धकेलिएको छ, कोभिड नभएको भए हाल जिप सञ्चालनमा आइसक्थ्यो,’ उनले भने । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । काठमाडौंबाट नजिककोे स्थान र अग्लो क्षेत्रमा रहेको रानीकोटबाट उपत्यकाका तीनै जिल्ला देखिनेभएपछि पर्यटकको आकर्षण केन्द्र बनेको बाके बताउँछन् । सहज पक्की सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै उनले कोरोना भाइरसको महामारीको बीचमा पनि स्वदेशी पर्यटकको भीड नै लाग्ने गरेको छ । के छन् सुविधा ? पर्यटकीय क्षेत्र घुम्ने र रमाइलो गर्नेहरुका लागि रानीकोट गज्जवको ठाउँ हुन सक्ने उनको भनाई छ । साढे पाँच रोपनी जग्गामा फैलिएको रिसोर्टमा हाल तीन वटा भवन छन् । २१ वटा कोठा रहेको रिसोर्टमा ६५ जना राख्ने क्षमता रिसोर्टको छ । केही समयअघि मात्र भिलेज हाइल्याण्ड रिसोर्टलाई पर्यटन विभागले पर्यटकस्तरीय होटलको रुपमा मान्यता दिएको थियो । पर्यटक स्तरीय होटलसरह मान्यता पाएको रिसोर्टलाई तीन तारे सरह बनाउँदै शाखा विस्तार गर्ने योजना रहेको पनि उनले बताए । रिसोर्टमो स्विमिङ पुल र पिङको सुविधा पनि छ । रिसोर्टमा हाल एक रातको ३५ सय रुपैयाँ लिने गरेको उनले बताए । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट ७ किलोमिटर दूरीमा रहेको रिसोर्टका सबै कोठाहरु डिलक्स हुन् । सूर्यविनायक चोकबाट रिसोर्ट जाँदा ५ किलोमिटर पिच र २ किलोमिटर कच्ची बाटो हिँड्नुपर्छ । चितवन र सोलुखुम्बुमा पनि शाखा सञ्चालक बाकेले भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुखुम्बुको पटालेमा शाखा सञ्चालन गर्ने योजना रहेको बताए । रिसोर्ट सञ्चालनका लागि जमीन पनि खरिद गरिसकेको उनले सुनाए । ‘होटल मेरो रुचीको क्षेत्र हो, रानीकोटमा बनाएको भिलेज हाइल्याण्ड रिसोर्टको शाखा चितवन र सोलुको पदले भन्नै स्थानमा विस्तार गर्ने योजना बनाएको छु, त्यसका लागि दुई स्थानमा रिसोर्टकै नाममा जग्गा खरिद गरिसकेको छु, अग्ला क्षेत्रमा होटल सञ्चालन गर्ने मेरो तयारी हो’, उनले भने । उनका अनुसार शाखा सञ्चालनका प्रक्रिया अगाडि बढिसकेको छ । तर, कोरोनाको कारण भने काम अगाडि बढाउन केही समस्या भएको उनको भनाई छ । रानीकोट पुग्ने आन्तरिक पर्यटकमध्ये अधिकांश हाइकिङ मार्फत जाने गरेका छन् । हाइकिङका लागि उपर्युक्त गन्तव्यको रुपमा मानिएको रानीकोट डाँडाँमा नै सो रिसोर्ट रहेको छ । कोरोना र लकडाउनको कारण लामो समय घरभित्रै थुनिएका शहरियाहरु खुला हावामा सास फेर्न र मनोरम प्राकृतिक छटाहरुमा रमाउन रानीकोट पुग्ने गरेका छन् ।

दुई दिनमा १०७ पर्यटक हुम्लामा

सिमकोट । जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १०७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको छ । दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका कोरोना सङ्क्रमणको त्रासका कारण बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागी गुरु सदगुरुसहित विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् । दुई वर्षदेखि होटल व्यवसाय सुनसान रहँदा पछिल्लोपटक नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न भारतीय धार्मिक गुरु सदगुरुको टोली हुम्ला आउने भएपछि होटल व्यवसायीमा आशा पलाएको छ । एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएका होटल व्यवसाय ओरालो लागेका बेला मानसरोवर कैलाशको दर्शन गर्न पर्यटक आउन थालेपछि व्यवसायले पुनःजीवन पाउने आशामा व्यवसायी खुशी भएका छन् । पर्यटन व्यवसायी याङ्की लामाले कोरोना महामारीले हिल्सा नाका बन्द हुँदा पहिलोपटक सदगुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला आउन लागेपछि होटल व्यवसायीमा आशा पलाएको बताए । दुई सिजनसम्म बन्द भएका होटल अब सञ्चालनमा आउने बाटो खुलेको जनाउँदै उनले अब व्यवसायीमा उत्साह छाउन थालेकामा खुसी व्यक्त गरे । सदगुरुसहितको टोली हुम्लाबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदलमार्गमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न आउने भएपछि १०७ जना काठमाडौँबाट हेलिकोप्टरमार्फत सिधै सिमकोट आइपुगेका छन् । ट्रेकर सोसाइटीका राजन अधिकारीका अनुसार यसमा कुक, गाइड र आवश्यक सामग्री सबै आइपुगेका छन् । टोली हुम्ला पुगेपछि तरकारी र दैनिक उपभोग्य वस्तुको बजारमा बिक्री बढेको छ । उनले हुम्ला पुगेका टोलीले कोरोनाका कारण होटलमा बस्ने व्यवस्था नगरेर सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको जानकारी दिए । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ । कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएका भरिया खोजिएको र उनिहरुले टोलीसँगै भारी बोकेर लाप्चासम्म पुग्नु पर्नेछ । पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने र बिहीबार बिहान मात्र पैदलमार्गबाट लाप्चातर्फ जानेछन । सदगुरुसँग १२ जना भारतीयलगायत १० देशका तीर्थलु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइकलसमेत मङ्गलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पु¥याइएको हो । होटल व्यवसायीमा आशा पलायो दुई वर्ष अगाडिसम्म सिमकोटमा पर्यटक लक्षित गरेर स्थापना भएका १३ वटा होटललाई मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको सम्झँदै होटल सङ्घका अध्यक्ष मिम लामाले कोरोनाको अवधिमा सुस्ताएका यी होटल अब पुनः पर्यटकको आगमन सुरु भएसँगै उत्साहित भएको बताए । हिन्दूहरूका चर्चित सदगुरु आउने र पैदलमार्गबाट नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शनका साथै पूजापाठ पनि गर्ने भएका कारण यसको सकरात्मक सन्देश जाने विश्वास पर्यटन तथा होटल व्यवसायीले गरेका छन् । आगामी असोजसम्म लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएका कारण भारतबाट धेरै धार्मिक पर्यटकले सम्पर्क गरिरहेको पर्यटन व्यवसायी विजय लामाले बताए । अब कोरोना त्रासका कारण कम पर्यटक भित्रिने सङ्ख्या ह्वात्तै बढ्ने र यसबाट शिथिल भएको होटल व्यवसाय पुरानै लयमा आउने उनले विश्वास व्यक्त गरे । रासस

पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाले १५ लाखसम्म ऋण पाउने

काठमाडौं । कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिले १५ लाखसम्म ऋण पाउने भएका छन् । उनीहरुले स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन सो मात्राको कर्जा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था गरेको हो । साथै, बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जा दिने नयाँ व्यवस्था गरेको छ । यससँगै महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह हुने छ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा पनि कर्जा दिने र यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने बैंकले जनाएको छ ।