काठमाडौं । वर्षासँगै मौसममा आएको खराबीका कारण आईतबार बिहानैदेखि आन्तरिक उडानमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालयका अनुसार वर्षासँगै मौसममा खराबी हुदाँ भिजिविलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेका हुन ।
आईतबार बिहानैदेखि पोखरा विमानस्थलमा उडान तथा अवतरण हुन सकेको छैन । यस्तै दिउँसो १ बजेसम्म विराटनगर विमानस्थलमा समेत उडान हुन सकेको छैन भने भरतपुर विमानस्थलमा उडान सुचारु भएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बिहानैदेखि समस्या आएको भरतपुर विमानस्थलमा दिउँसो १ बनेबाट उडान सुचारु भएको छ । उनका अनुसार भिजिविलिटी कम हुने र बढ्दा उडान रोकिएका हुन ।
अन्य गन्तव्यका उडान रद्द नभएपनि पोखरा उडान रद्द गरिएको छ । बुद्धले मात्र दिउँसो १ बजेसम्म ७ वटा पोखरा उडान रद्द गरिसकेको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आइतबार विभिन्न वायुसेवा कम्पनीको दुई सय आठ वटा उडान अवतरणको तालिका छ । आन्तरिक तर्फको नियमित उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय तर्फको उडान निरन्तर भइरहेको छ ।