आइतबारबाट मनकामना केबुलकार चल्ने

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आइतबारबाट सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।’ इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकै दिनमा नौ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ । मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।

निगमका कर्मचारीको आन्दोलनमा अर्थमन्त्रीको चासो, समिति गठन गरी अध्ययन गर्न सुझाव

काठमाडौं । नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीले विभिन्न माग राख्दै करिब डेढ महिनादेखि गरेको आन्दोलनको सम्बन्धमा अर्थ मन्त्रालयले चासो देखाएको छ । सरकारले बिना तयारी निगमलाई निजीकरण गर्न लागेको भन्दै निगममा कार्यरत कर्मचारीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । अर्थमन्त्रालयले नेपाल वायुसेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायुसेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका हुन । उनले कर्मचारीहरुसँग छलफल गरी आन्दोलन टुङ्ग्याउनुको साथै निगमको नियमित कामकाज संचालन गर्नुपर्नेमा जोड दिए । निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प सुझाए आवश्यक निर्णय गर्न सरकारलाई सजिलो हुने मन्त्री शर्माको भनाइ छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि दह्रो खालको राजनैतिक नेतृत्वको आवश्यकता औंल्याएका थिए । सामान्य खालको टालटुले सुधारले अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै उनीहरुले राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने सुझाव राखेका थिए । छलफलमा निगमका प्रवन्धनिर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावि रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरेका थिए । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको जनाएका थिए । निगम हाल ५० अर्ब ऋण तथा ११ अब संचित नोक्सानीमा रहेको जनाउदै साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको उल्लेख गरेका थिए । उनका अनुसार विश्वका विभिन्न एयरलाईन्सहरुले एक एयरक्राफ्ट बराबर औसत एक सय २५ कर्मचारी राख्ने गरेकोमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेका छन् । उनले निगम सुधारको लागि हालसम्म विभिन्न समितिले अध्ययन गरी प्रतिवेदन बुझाएको भएपनि कार्यान्वयनमा आउन नसकेको गुसानो गरे ।

चार्टर उडानमा महंगो भाडाः तीन वायुसेवा कम्पनीलाई कारवाही गर्न सिफारिस

काठमाडौं । सरकारले गठन गरेको छानविन समितिले निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले चार्टर उडानमा महंगो भाडा लिएको निष्कर्ष निकालेको छ । कोरोना संक्रमणको जोखिमलाई आंकलन गर्दै सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाको समयमा विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमा महंगो भाडा लिएका थिए । संकटको समयमा वायुसेवा कम्पनीले लुटधन्दा चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले छानविन गर्न एक समिति गठन गरेको थियो । मन्त्रालयको निर्देशनका आधारमा गत असार ७ गते नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई बुझाएको प्रतिवेदनमाअनुसार केही एयरलाइन्सले चार्टर्ड उडानका दौरान तोकिएको भन्दा बढी भाडा लिएको उल्लेख छ । समितिलाई हवाई भाडा महंगो भएको सम्बन्धमा २५ वटा उजुरी परेको जनाईएको छ । सो उजुरीमध्ये सबैभन्दा धेरै कतार एयरवेजले गरेको चार्टर उडानको विषयमा उजुरी परेको थियो । २५ उजुरीमध्ये कतार एयरवेजको १६, टर्किस एयरलाइन्सको ७, हिमालय एयरलाइन्सको २ वटा उजुरी परेको थियो । जसमध्ये निर्धारितभन्दा बढी भाडा लिएको भन्दै कतार एयरवेजको चार्टर उडानको टिकटका सम्बन्धमा ९ वटा, टर्किस एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकटका सम्बन्धमा २/२ वटा उजुरी परेका थिए । सो समितिले निर्धारण गरेभन्दा बढी भाडा असुल गरेको भन्दै ३ वायुसेवा कम्पनीलाई भाडाको सम्बन्धमा थप अध्ययन गरेर कारवाहीका लागि सम्बन्धित नियामक निकायमा सिफारिस गर्नुपर्ने उल्लेख गरेको छ । गत वर्षको बन्दाबन्दीको समयमा समेत वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको मिलोमोतोमा चर्को शुल्क लिएको भन्दै चौततर्फी विरोध भएपछि अध्ययन गर्न समिति गठन गरिएको थियोे । भाडाको विषयमा सो समितिले अध्ययन गरेतापनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन ।