मेरियट होटल पनि पब्लिक कम्पनी बन्दै, सय रुपैयाँमा साधारण सेयर
काठमाडौं । पाँच तारे नयाँ होटेल मेरियट पनि पब्लिक कम्पनी बन्ने भएको छ । व्यवसायी शशिकान्त अग्रवालको प्रमुख लगानी रहेको मेरियट होटल अहिले प्राइभेट लिमिटेड कम्पनी छ । पब्लिक कम्पनीको रुपमा परिणत गरी साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु भइसकेको होटलका प्रमुख लगानीकर्ता अग्रवालले जानकारी दिए । ‘हामीले प्रालि कम्पनी बनाएर होटल संचालन गरेका हौं, होटल संचालनमा आएको ३ वर्ष भयो, अब पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर जारी गर्ने भनेर प्रक्रिया सुरु गरेका छौं,’ अग्रवालले विकासन्युजसँग भने । होटल संचालनमा आएको केही समयपछि नै विश्व महामारीको रुपमा फैलिएको कोभिड महामारी नेपालमा पनि फैलन सक्ने भन्दै सरकारले २०७६ चैत दोस्रो सातादेखि नै देशव्यापी लकडाउन गरेको थियो । कोभिड महामारीको कारण विदेशी पर्यटक नेपाल आउन पाएका थिएनन् भने लकडाउन, त्यसपछिको सटडाउन र निषेधाज्ञाका कारण होटल खुल्न पाएका थिएनन् । यस्तै कारणले मेरियट होटलले पनि अपेक्षाकृत व्यवसाय बढाउन पाएको थिएन । परिस्थिति प्रतिकुल भएपनि अहिलेसम्म होटल संचालन नाफामा नै रहेको अग्रवालले बताए । बैंकको व्याज र ह्रासकट्टी हिसाव गर्दा भने होटल नोक्सानीमा रहेको उनको भनाई छ । ‘यो बीचमा अपेक्षाकृत व्यवसाय बढ्न सकेन, कारण सबैलाई थाहा नै छ तर, पनि हामी संचालन नोक्सानीमा छैनौं, बैंकबाट लिएको कर्जाको किस्ता तथा व्याज तिर्नुपर्ने भएकोले होटल नोक्सानीमै छ,’ अग्रवालले भने । उनका अनुसार मेरियट होटलले बैंक तथा वित्तीय संस्थाबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएको छ । होटललाई पब्लिक कम्पनी बनाएर सर्वसाधारणलाई पनि सेयर विक्री गर्ने प्रक्रिया सुरु भइसकेको अग्रवालले जानकारी दिए । ‘होटलको चुक्ता पुँजी करिब २ अर्ब रुपैयाँ छ, चुक्ता पुँजीको १५ प्रतिशत सर्वसाधारणको लागि आईपीओ जारी गर्दैछौं, एफपीओ वा बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने होइन, प्रतिकित्ता सय रुपैयाँको दरमा नै आईपीओ जारी हुन्छ,’ अग्रवालले थपे । उनले आईपीओ विक्रीबाट आएको रकमले होटलको ऋण तिर्न प्रयोग गरिने पनि बताए । ‘करिब ३ अर्ब रुपैयाँ कर्जा छ, आईपीओ विक्री गरेर आएको पैसाले बैंकको ऋण तिर्छाैं, आईपीओ जारी गरेपछि सर्वसाधारणले पनि स्वामित्व लिन्छन्, व्यवसायिक रुपमा अघि बढ्न पनि थप सजिलो हुन्छ, यसैकारण पब्लिकमा जान लागिएको हो,’ उनले भने । चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको होटलले १५ प्रतिशत आईपीओ जारी गर्दा करिब ३० करोड रुपैयाँ बराबरको आईपीओ आउने छ ।
कोभिडको अवस्थालाई हेरेर बजार रणनीति परिवर्तन गर्न सुझाव
काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । बोर्डले यो बीचमा आफुले गरेका काममहरुबारे जानकारी दिँदै नयाँ परिस्थितिमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको हो । जसमा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका हुन् । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय सरकारसँग आग्रह समेत गरेका छन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताए । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए । उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सन्दर्भमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए । सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै, एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिने लाहे थापाले जनसम्पर्क तथा प्रचार प्रसार, अर्का वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले आन्तरिक पर्यटन प्रर्वद्धन तथा योजना, कर्पोरेट निर्देशक सन्तोष पन्तले बोर्डको आय व्यको अवस्था,निर्देशक मणिराज लामिछानेले अनुसन्धान तथा पूर्वाभार विकास एवं निमित्त बजार निर्देशक लक्ष्मण गौतमले बोर्डले यो बीचमा गरेका बजार प्रवद्र्धनका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा पर्यटनसंग सम्बन्धित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (नाटा), प्यासिफिक एसिया ट्रावल एशोसिएसन ९पाटा० एक्सपिडिसन अपरेटर एशोसिएसन लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागी थियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्षमा
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्ष २०७९ देखि हुने नेपाल नागरिक उडड्यन प्राधिकरण अधिकारीहरुले बताएका छन् । सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको भनिएकाे उक्त विमानस्थलको परीक्षण उडान अझै भएकाे छैन । माैसममा सुधार भएपछि परीक्षण उडान थालिने र अगामी बैशाख (नयाँ वर्ष) देखि नियमित उडानको तयारी भएको प्राधिकरणका प्राविधिकहरुले बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मंसिर दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने जानकारी सार्वजनिक गरेको थियो । परीक्षण उडानका लागि प्राधिकरणले जिम्मा दिएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक विमानस्थलमा आएर परीक्षण उडानको अध्ययन गरेका थिए । एरोथाईका प्राविधिक परीक्षण उडानको अध्ययन गर्न आएको समयमा नै मौसम खराब हुँदा (वर्षा र मौसमका कारण) उनीहरु अध्ययन नै नगरी पुनः थाइल्याण्ड फर्किएको प्राधिकरणका अधिकारीहरुले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवको आयोजनाहरुलाई नेतृत्व गरिरहेका निर्देशक प्रदीप अधिकारीले मौसमका कारण परीक्षण उडान रोकिएको बताए । यसअघि मौसमका कारण एरोथाइका प्राविधिक आएर फर्किएको भन्दै उनले मौसममा सुधार नहुँदासम्म परीक्षण उडान नहुने बताए । ‘अहिलेको मौसम एकदम खराब छ । आईतबार मात्र २ बजे विमानस्थल खुलेको छ (उडान तथा अवतरण भएको) । अहिलेकै अवस्थामा परीक्षण उडान गर्न सम्भव छैन, मौसममा सुधार आएपछि मात्र एरोथाइका प्राविधिकले जहाज लिएर आउने जनाएका छन्’, उनले भने, ‘अझै एक डेढ महिना परीक्षण उडान हुनसक्ने अवस्था छैन।’ क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनको अवधि लम्बिएको छ । परीक्षण उडान भएको तीन महिनाभन्दा अगाडी नियमित उडान सञ्चालन गर्न नसक्ने विमानस्थल आयोजना कार्यालयले जनाएको छ । सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ७ वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन । विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएको थियो । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना र आइसिपी–२ अन्तर्गतका सम्पूर्ण कामहरु सकिएको विमानस्थल आयोजना कार्यालयले जनाएकोे छ । मन्त्री भन्छन्, भारतका कारण ढिलाइ भयाे संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतका कारण सञ्चालनमा ढिलाई भएको बताएका छन् । शनिबार विमानस्थलको निरीक्षणपश्चात उनले भारतका कारण समेत सञ्चालनमा केही ढिलाई भएको बताएका हुन । गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्दा केही भाग भारतीय प्रयोग हुन्छ । भारतीय आकाश प्रयोग हुने भन्दै भारतले अहिलेसम्म उडान रुट स्वीकृति गरेको छैन् । भारतले केही विषयमा अव्जेशन गरेको भन्दै मन्त्री आलेले आफूले भारतका पर्यटनमन्त्रीसँग कुरा गरेको भन्दै छिट्टै समस्याको समाधान हुने समेत जिकिर गरे । यस्तै, उनले अबको २ महिनाभित्र सञ्चालनमा ल्याईने बताएका थिए । मौसमका कारण परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारी भएको भन्दै २ महिनाभित्र विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।