गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्षमा

<p>काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्ष २०७९ देखि हुने नेपाल नागरिक उडड्यन प्राधिकरण अधिकारीहरुले बताएका छन् । सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको भनिएकाे उक्त विमानस्थलको परीक्षण उडान अझै भएकाे छैन । माैसममा सुधार भएपछि परीक्षण उडान थालिने र  अगामी बैशाख (नयाँ वर्ष) देखि नियमित उडानको तयारी भएको [&hellip;]</p>

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान नयाँ वर्ष २०७९ देखि हुने नेपाल नागरिक उडड्यन प्राधिकरण अधिकारीहरुले बताएका छन् । सन २०२० को सुरुवाती चरणमा नै नियमित उडान सञ्चालनको तयारी भएको भनिएकाे उक्त विमानस्थलको परीक्षण उडान अझै भएकाे छैन । माैसममा सुधार भएपछि परीक्षण उडान थालिने र  अगामी बैशाख (नयाँ वर्ष) देखि नियमित उडानको तयारी भएको प्राधिकरणका प्राविधिकहरुले बताएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले मंसिर दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने जानकारी सार्वजनिक गरेको थियो । परीक्षण उडानका लागि प्राधिकरणले जिम्मा दिएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक विमानस्थलमा आएर परीक्षण उडानको अध्ययन गरेका थिए ।

एरोथाईका प्राविधिक परीक्षण उडानको अध्ययन गर्न आएको समयमा नै मौसम खराब हुँदा (वर्षा र मौसमका कारण) उनीहरु अध्ययन नै नगरी पुनः थाइल्याण्ड फर्किएको प्राधिकरणका अधिकारीहरुले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा राष्ट्रिय गौरवको आयोजनाहरुलाई नेतृत्व गरिरहेका निर्देशक प्रदीप अधिकारीले मौसमका कारण परीक्षण उडान रोकिएको बताए । यसअघि मौसमका कारण एरोथाइका प्राविधिक आएर फर्किएको भन्दै उनले मौसममा सुधार नहुँदासम्म परीक्षण उडान नहुने बताए ।

‘अहिलेको मौसम एकदम खराब छ । आईतबार मात्र २ बजे विमानस्थल खुलेको छ (उडान तथा अवतरण भएको) । अहिलेकै अवस्थामा परीक्षण उडान गर्न सम्भव छैन, मौसममा सुधार आएपछि मात्र एरोथाइका प्राविधिकले जहाज लिएर आउने जनाएका छन्’, उनले भने, ‘अझै एक डेढ महिना परीक्षण उडान हुनसक्ने अवस्था छैन।’

क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ ।

परीक्षण उडानको टुंगो नलाग्दा विमानस्थल सञ्चालनको अवधि लम्बिएको छ । परीक्षण उडान भएको तीन महिनाभन्दा अगाडी नियमित उडान सञ्चालन गर्न नसक्ने विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने उक्त विमानस्थल ७ वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन ।

विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएको थियो । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना र आइसिपी–२ अन्तर्गतका सम्पूर्ण कामहरु सकिएको विमानस्थल आयोजना कार्यालयले जनाएकोे छ ।

मन्त्री भन्छन्, भारतका कारण ढिलाइ भयाे

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमवहादुर आलेले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतका कारण सञ्चालनमा ढिलाई भएको बताएका छन् । शनिबार विमानस्थलको निरीक्षणपश्चात उनले भारतका कारण समेत सञ्चालनमा केही ढिलाई भएको बताएका हुन ।

गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्दा केही भाग भारतीय प्रयोग हुन्छ । भारतीय आकाश प्रयोग हुने भन्दै भारतले अहिलेसम्म उडान रुट स्वीकृति गरेको छैन् ।

भारतले केही विषयमा अव्जेशन गरेको भन्दै मन्त्री आलेले आफूले भारतका पर्यटनमन्त्रीसँग कुरा गरेको भन्दै छिट्टै समस्याको समाधान हुने समेत जिकिर गरे ।

यस्तै, उनले अबको २ महिनाभित्र सञ्चालनमा ल्याईने बताएका थिए । मौसमका कारण परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारी भएको भन्दै २ महिनाभित्र विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।

Share News