कोरोना सङ्क्रमणका बेला नागरिक उड्डयन प्राधिकरण नाफामा
काठमाडाैं । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ । प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आव (२०७७/७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा ५७ करोड ४५ लाख अर्थात् २७ दशमलव ७१ प्रतिशतले बढ्न गई दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ । त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा २९ करोड ३२ लाख अर्थात् ४८ दशमलव ६४ प्रतिशतले घट्न गई ३० करोड ९६ लाख आम्दानी भएको छ । आव २०७५/७६ मा नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६/७७ मा करिब २९ प्रतिशतले घट्न गई छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७/७८ को कूल आम्दानी आव २०७५/७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ । आव २०७७/७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ । चालू आव का लागि पुँजीगत खर्चतर्फ ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ चार अर्ब १० करोड ८४ लाख गरी जम्मा ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । यस अतिरिक्त नेपाल सरकारलाई मू.अ.कर भुक्तानी दुई अर्ब ९२ करोड २३ लाख, लाभांश भुक्तानी ५२ करोड ३५ लाख, साँवा व्याज भुक्तानी ६६ करोड ४६ लाख, प्रशासकीय पुनरावलोकन तथा पुनरावेदनको लागि ४० करोड, कर्मचारी अवकास कोष तथा अन्य भुक्तानीको लागि ११ करोड ५६ लाख, कर्मचारी लाभान्स र स्थीर सम्पत्ति प्रतिस्थापनका लागि दुई अर्ब २२ करोड विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को स्रोततर्फ नियमित आम्दानी पाँच अर्ब ५९ करोड २९ लाख, विमानस्थल विकास शुल्क ७९ करोड एवं ऋण, शेयर तथा अनुदानबाट २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा २७ अर्ब ७२ करोड ६४ लाख हुने अनुमान गरिएको छ । विसं २०७८/७९ मा प्राधिकरणको कूल बजेट ४३ ४३ अर्ब ६७ करोड ७७ लाख रहेको छ । प्राधिकरणको आव २०७६/७७ सम्मको कूल सञ्चित नाफा १६ अर्ब एक करोड २० लाख रहेको छ । रासस
क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन
काठमाडाैं । पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने १० क्यासिनो कम्पनीलाई यही मसान्तभित्र उक्त रकम बुझाउन समयावधि तोकेको हो । विभागले क्यासिनो नियमावली, २०७० अनुरुप सञ्चालित कम्पनीहरुले आव. २०७७/०७८ को इजाजत पत्र नवीकरण दस्तुर र आब. २०७८/०८९ को लागि तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर अविलम्ब दाखिला गर्न अनुरोध गरेको छ । आबं २०७६/०७७ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरेको र नवीकरणका लागि २०७८ पुस समान्तभित्र दाखिला नगरेमा आर्थिक ऐन, २०७८ को दफा १६ (४) बमोजिम थप शुल्क तथा वार्षिक थप शुल्क लाग्ने छ । साथै समयमा नवीकरण नभएका कम्पनीको हकमा क्यासिनो नियमावलीमा व्यवस्था भएबमोजिम इजाजत पत्र रद्द हुने विभागले स्पष्ट पारेको छ । रोयल्टी र नवीकरण दस्तुर नबुझाउने कम्पनीहरुमा होटल सांग्रीलाको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रा.लि., तारागाउँ रिजेन्सी होटल परिसरको प्राइड इन्टरटेनमेन्ट, होटल डेला अन्नपूर्णको एटलान्टिक रिक्रिययसन., मल्ल होटल परिसरको बेल्लिज नेपाल. र एभरेष्ट हस्पिटालिटी एन्ण्ड होटलको डेल्टइन नेपाल प्रा.लि. छन् । त्यस्तै होटल टाइगर रुपन्देहिको एसएचएल म्यानेजमेन्ट सर्भिसेज., भ्यू होटल सिचद्धार्थ परिवारले चलाएको ज्याकपट गेमिङ सेन्टर, बाराको इच्चा होटलमा रहेको स्माइल कलेक्सन, होटल सोल्टी थिवक्रिम होटेल्स तथा रिसोर्टस् काँकेको इम्पेरियल इन्टरनेश्नल. र काठमाडौंको सोल्टी होटलमा सञ्चालित माजोङ इन्टरटेनमेन्ट प्रा.लि छन् ।
निजगढ विमानस्थलमा मुआब्जा वितरणका लागि तत्काल १० अर्ब बजेट आवश्यक
काठमाडौं । बाराको निजगढमा निर्माण गर्न लागिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि तत्काल १० अर्ब बजेट आवश्यक रहेको पाइएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको सम्बन्धमा भएको छलफलमा संस्कृति, पर्यटन तथा नाागरिक उडड्यनमन्त्री प्रेम आलेले सो कुरा बताएका हुन । विमानस्थललाई समयमै सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनका नेताहरुले जोड दिएका थिए । बैठकमा सहभागी नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा ढिलाइ भएको भन्दै छिटोभन्दा छिटो विमानस्थल निर्माणलाई गति दिनुपर्ने धारणा राखेका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरुको सहमती भएको बताए । उनले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि उल्लेख गरेका थिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।