धौलागिरि आरोहणका क्रममा ग्रिसेली आरोहीको मृत्यु

फाइल फाेटाे काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ग्रिसेली आरोहीको मृत्यु भएको छ । समुन्द्रि सतहबाट ८ हजार १६७ मिटर उचाईमा रहेको धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा ग्रिसेली आरोही एन्टोनिस स्यकारिसको मृत्यु भएको हो । सेभेट समिट टे«कका प्रबन्ध निर्देशन मिङ्मा शेर्पाले एन्टोनिसको ७ हजार ४ सय मिटर उचाईमा मृत्यु भएको जानकारी दिए । खेलकुद क्षेत्रमा सक्रिय एन्टोनिसको ६० वर्षको उमेरमा मृत्यु भएको हो । उनले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा, कञ्चनजंघा, मनास्लु, ल्होत्से, अन्नपूर्ण लगायतका हिमालको सफल आरोहण गरिसकेका छन् ।

नयाँ वर्षमा अन्नपूर्ण केबलकारका यात्रुलाई जोशी क्याफेको अफर

कास्की । पोखरा सराङ्कोटस्थित अन्नपूर्ण केबलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्षको अवसरमा चैत्र २९, ३० र वैशाख १ गते विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहने छ । काठमाडौंमा रहेको जोशी क्याफेको दुईवटा आउटलेटमार्फत प्रवाह गरिरहेको यस क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा पोखरामा सुरु गरेको हो । यस अवसरमा पोखरेलीहरु र पोखरा पुग्ने पर्यटकहरूलाई यस क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको भरपूर मनोरञ्जन दिन लागेको जनाएको छ ।

होटल भरिन थालेपछि व्यवसायी भन्छन् : उत्साह थपियो

काठमाडौं । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कोरोना महमारीका कारण धरासायी बनेको नेपालको पर्यटन उद्योग पर्यटकको संख्यामा वृद्धि हुन थालेसँगै लय लिन थालेको हो । मार्च महिनादेखि नेपाल भित्रने विदेशीको संख्यामा बढेसँगै होटलहरु भरिन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार यसअघि २० देखि ३० प्रतिशत होटल बुकिङ हुने गरेकोमा अप्रिल महिना सुरु भएसँगै होटलहरु भरिन थालेका हुन । होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै होटलहरु भरिन थालेको बताउँछन् । ‘कोभिडका कारण होटलको अवस्था निकै नाजुक बनेको थियो, अब विस्तारै पर्यटक भित्रने थालेपछि होटलमा भिड बढ्न थालेको छ’, उनले भने, ‘कोभिडको तेस्रो लहरले अधिकांश बुकिङ रद्द भएका होटलहरुमा अहिले विदेशीहरु देखिन थालेका छन् ।’ उनले नेपालमा पर्यकटीय सिजन सुरु भएसँगै अझै विदेशी पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको बताए । उनका अनुसार हाल भारतीयसँगै येरोपियन पर्यटकहरु नेपाल भित्रने गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी विदेशी पर्यटक आगमनले व्यवसायीमा उत्साह थपिएको बताउँछन् । कोभिडका कारण समस्यामा परेका पर्यटन व्यवसायी पछिल्लो समय बढ्न थालेको पर्यटकको संख्याले व्यवसायमा आश थपिएको उनको भनाई छ । नेपालमा पर्यटक सिजन सुरु भएसँगै देखिएको विदेशीको उत्साहले व्यवसायी थप उत्साहित भएको भन्दै उनले अझै विदेशी बढ्ने अपेक्षा व्यक्त गरे । उनले बसन्तयाममा विदेशीको संख्या बढ्न थालेको भन्दै अटम सिजनमा झनै बढ्ने अनुमान गरिएको बताए । पर्यटक सिजन सुरु भएसँगै पर्यटन विभागले विभिन्न हिमाल आरोहणको अनुमति जारी गर्न थालेको छ । विदेशीको माग अनुसार विभागले सानादेखि ठूला हिमाल आरोहणको अनुमति दिएको हो । बुधबार साँझसम्म विभागले विभिन्न १६ हिमाल आरोहणका लागि ४५१ जनालाई आरोहण अनुमति दिएको छ । विभागको तथ्यांक अनुसार सगरमाथा आरोहणका लागि १९ समूहका १७६ आरोहीले अनुमति लिएका छन् । मार्च महिनामै भित्रिए ४२ हजार विदेशी कोभिड महामारी कमि भएसँगै मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशी नेपाल भित्रिएका छन् । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय पर्यटकको संंख्यामा वृद्धि हुन थालेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार मार्च महिनामा सार्क राष्ट्रबाट १७ हजार ६६१ विदेशी नेपाल भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा सार्क राष्ट्रबाट ८ हजार ३८० विदेशी नेपाल आएका थिए । सार्कबाट आउने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । एक महिनामा १५ हजार १३ जना भारतीय नागरिक नेपाल भित्रिएका हुन । सन् २०२१ को मार्च महिनामा १ हजार २०७ चिनियाँ पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय कमी आएको छ । कोरोना महामारीपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आउन थालेको छ । मार्च महिनामा चीनबाट ४३१ जना विदेशी मात्र नेपाल भित्रिएका छन् ।