होटल भरिन थालेपछि व्यवसायी भन्छन् : उत्साह थपियो

<p>काठमाडौं । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कोरोना महमारीका कारण धरासायी बनेको नेपालको पर्यटन उद्योग पर्यटकको संख्यामा वृद्धि हुन थालेसँगै लय लिन थालेको हो । मार्च महिनादेखि नेपाल भित्रने विदेशीको संख्यामा बढेसँगै होटलहरु भरिन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार यसअघि २० देखि ३० प्रतिशत होटल बुकिङ हुने [&hellip;]</p>

काठमाडौं । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कोरोना महमारीका कारण धरासायी बनेको नेपालको पर्यटन उद्योग पर्यटकको संख्यामा वृद्धि हुन थालेसँगै लय लिन थालेको हो ।

मार्च महिनादेखि नेपाल भित्रने विदेशीको संख्यामा बढेसँगै होटलहरु भरिन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार यसअघि २० देखि ३० प्रतिशत होटल बुकिङ हुने गरेकोमा अप्रिल महिना सुरु भएसँगै होटलहरु भरिन थालेका हुन ।

होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै होटलहरु भरिन थालेको बताउँछन् ।

‘कोभिडका कारण होटलको अवस्था निकै नाजुक बनेको थियो, अब विस्तारै पर्यटक भित्रने थालेपछि होटलमा भिड बढ्न थालेको छ’, उनले भने, ‘कोभिडको तेस्रो लहरले अधिकांश बुकिङ रद्द भएका होटलहरुमा अहिले विदेशीहरु देखिन थालेका छन् ।’

उनले नेपालमा पर्यकटीय सिजन सुरु भएसँगै अझै विदेशी पर्यटकको संख्यामा वृद्धि हुने अनुमान गरिएको बताए । उनका अनुसार हाल भारतीयसँगै येरोपियन पर्यटकहरु नेपाल भित्रने गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी विदेशी पर्यटक आगमनले व्यवसायीमा उत्साह थपिएको बताउँछन् । कोभिडका कारण समस्यामा परेका पर्यटन व्यवसायी पछिल्लो समय बढ्न थालेको पर्यटकको संख्याले व्यवसायमा आश थपिएको उनको भनाई छ ।

नेपालमा पर्यटक सिजन सुरु भएसँगै देखिएको विदेशीको उत्साहले व्यवसायी थप उत्साहित भएको भन्दै उनले अझै विदेशी बढ्ने अपेक्षा व्यक्त गरे । उनले बसन्तयाममा विदेशीको संख्या बढ्न थालेको भन्दै अटम सिजनमा झनै बढ्ने अनुमान गरिएको बताए ।

पर्यटक सिजन सुरु भएसँगै पर्यटन विभागले विभिन्न हिमाल आरोहणको अनुमति जारी गर्न थालेको छ । विदेशीको माग अनुसार विभागले सानादेखि ठूला हिमाल आरोहणको अनुमति दिएको हो । बुधबार साँझसम्म विभागले विभिन्न १६ हिमाल आरोहणका लागि ४५१ जनालाई आरोहण अनुमति दिएको छ ।

विभागको तथ्यांक अनुसार सगरमाथा आरोहणका लागि १९ समूहका १७६ आरोहीले अनुमति लिएका छन् ।

मार्च महिनामै भित्रिए ४२ हजार विदेशी

कोभिड महामारी कमि भएसँगै मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशी नेपाल भित्रिएका छन् । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय पर्यटकको संंख्यामा वृद्धि हुन थालेको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार मार्च महिनामा सार्क राष्ट्रबाट १७ हजार ६६१ विदेशी नेपाल भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा सार्क राष्ट्रबाट ८ हजार ३८० विदेशी नेपाल आएका थिए । सार्कबाट आउने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । एक महिनामा १५ हजार १३ जना भारतीय नागरिक नेपाल भित्रिएका हुन ।

सन् २०२१ को मार्च महिनामा १ हजार २०७ चिनियाँ पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय कमी आएको छ । कोरोना महामारीपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आउन थालेको छ । मार्च महिनामा चीनबाट ४३१ जना विदेशी मात्र नेपाल भित्रिएका छन् ।

Share News