धार्मिक पर्यटकको रोजाइ बन्यो बागलुङ
गलकोट । यतिबेला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने धार्मिक पर्यटकको लहरै चलेको छ । केही वर्ष अघि सरासर मुक्तिनाथ पुगेर फर्कने भारतीय तथा आन्तरिक पर्यटकले बसाइँ लम्ब्याउन थालेका छन् । उनीहरूले मुक्तिनाथ पछिको दोस्रो रोजाइ बागलुङमा पर्न थालेको बताएका छन् । अहिले बागलुङको कालिका मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा आउने धार्मिक पर्यटकमध्ये मुक्तिनाथ दर्शन गर्न आएको पाइएको छ । अहिले पञ्चकोट, कालिका मन्दिरलगायतका धार्मिक क्षेत्रमा मुक्तिनाथ दर्शन लेखेका सवारी साधन प्रशस्त देखिन्छन् । बागलुङको प्रवेशद्वारमै रहेको बागलुङ कालिका, विश्वको लामो झोलुङ्गे पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, ढोरपाटन, रिगताललगायतको क्षेत्रमा पनि अहिले पर्यटकको चाप देखिन्छ । बागलुङमा चैतेदसैं र नयाँ वर्षपछि यहाँ पर्यटकको चाप निकै रहेको पाइएको छ । बागलुङमा अहिलेसम्मकै धेरै पर्यटक आएको पर्यटन व्यवसायीको दाबी छ । टिकटक तथा फेसबुकका कारण पञ्चकोट, शालग्राम, लामोपुल र कालिका मन्दिर आउने पर्यटकको चाप बढी भएको हो । बागलुङमा आएको व्यवसायी बताउँछन् । नयाँ वर्षपछि बागलुङमा अत्यधिक पर्यटकको आगमन भएको छ । बागलुङमा खासगरी मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वरमा पुग्ने तीर्थयात्रु पनि बागलुङ आउन थालेका छन् । पर्यटकको आगमनले कालिका मन्दिर, लामो झोलुङ्गे पुल र बाङ्गेचौर क्षेत्र पर्यटक र सवारी साधनले भरिएको पाइन्छ । बागलुङ र पर्वत जिल्लाको बीचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा समेत पर्यटक आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेको होटल तथा रेष्टुराँ व्यवसायी सङ्घले जनाएको छ । सङ्घका अनुसार थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ भने होटलमा पाहुनासमेत आउन थालेका छन्, त्यसैले यहाँका होटल व्यवसायीमा आशा पलाएको छ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धन भएपछि निकै राम्रो भएको छ । पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरनामा पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढ्दै गएको छ । चैते दसैं सम्पन्न भएको भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेकाले रौनक बढेको बताइएको छ । चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटल भरिभराउ भएको होटल व्यवसायी सङ्घले जनाएको छ ।
‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ । विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटिएम मेशिन र दुईवटा पिओएस मेशिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस
पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीको ध्यानाकर्षण
काठमाडौं । पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका हुन् । कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय चलायमान हुन सुरु गरेको अवस्थामा अध्यागमन विभागले मिति २०७९ वैशाख ३ गते नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि ‘अन अराइभल भिसा’ शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटिएम मेसिनबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकाले नगद नै लिएर आउन सूचना जारी गरेको थियो । यस किसिमको सामान्य कमजोरी सुधार गर्नुको सट्टा नेपाल भ्रमणमा आउने पर्यटकलाई नगद नै ल्याउनुपर्ने भन्ने झन्झटिलो व्यवस्थाले पर्यटकलाई नेपालप्रति थप नकारात्मक बनाउने तथा हाम्रो संरचनाप्रति विश्वासनीयतासमेत घटाउने व्यवसायीको भनाइ छ । “तत्काल एटिएम मेशिन, इन्टरनेश्नल डेबिट एण्ड क्रेडिट कार्ड, स्वीफ मेसिन, फोनपेहरू थप गरी पर्यटकको आगमनलाई सहज हुने गरी तुरुन्त कार्य अगाडि बढाउन पर्यटन व्यवसायीको तर्पmबाट जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । नेपाल आउने पर्यटकलाई प्रभावित गर्ने यस्ता सूचना बारम्बार छोटो समयमा जारी भइरहँदा पर्यटकलाई थप जटिलता थप्नेतर्पm सचेत रहन पनि व्यवसायीले अनुरोध गरेका छन् । यस किसिमको निर्णय गर्दा पर्यटन व्यवसायीको राष्ट्रिय संस्था तथा सरोकारवालासँग परामर्श नगरी गर्ने प्रचलनबाट पर्यटन व्यवसाय थप प्रभावित हुने हुँदा आगामी दिनमा यस्ता निर्णय गर्नुपूर्व सरोकारवालासँग आवश्यक परामर्श लिनसमेत आग्रह गरिएको छ । साथै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एटिएम मेसिन दुरुस्त सञ्चालन हुने व्यवस्था गर्न सम्बन्धित वाणिज्य बैंकहरूलाई निर्देशन दिन तथा ई–पेमेन्ट गेटवेमार्पmत विदेशबाटै सहज भुक्तानीका लागि वातावरण बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक प्रबन्ध गर्न पनि व्यवसायीले माग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थप वाणिज्य बैंकहरूका एटिएम बुथको सङ्ख्या वृद्धि गर्न, आवश्यक व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समेत माग गरिएको छ । त्यसैगरी नेपाल भ्रमण गर्ने पर्यटकका लागि ई–भिसा इस्यू गर्ने प्रबन्ध मिलाउन व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्ने संस्थामा नेपाल एशोएिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा), होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) रहेका छन् ।