गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने
काठमाडौं । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो । अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एअरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीपकुमार अधिकारीले जानकारी दिए । “जजिरा एअरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एअरलाइन्स पनि सम्पर्कमा रहेका छन्,” उनले भने । उक्त विमानस्थल बिहीबारदेखि विधिवतरूपमा सञ्चालन भएको छ । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट नगरी भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ । ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ । अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
गौतमबुद्ध विमानस्थलको नयाँ धावनमार्गबाट यती एयरलाइन्सले गर्याे पहिलो उडान
फाइल फाेटाे काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको छ । नयाँ धावनमार्ग सञ्चालनमा आएसँगै आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । नयाँ धावनमार्गबाट आज पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ । बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरुपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको छ । उनले कोरोना महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँ विमानस्थललाई २४ सँै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत्रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत्रुपमा सञ्चालन आएको छ, ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा हो, परियोजनासँग जोडिएका प्रत्यक्ष र अप्रत्यक्षरुपमा संलग्न सबैलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।” महानिर्देशक अधिकारीले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी दिए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ । आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु भएको अप्रेसन रेडिनेश एन्ड एयरपोर्ट ट्रान्सपोर्टका सहसंयोजक विक्रम गौतमले जानकारी दिए । नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने उनको भनाई छ । उनले भने, “सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो, अहिले आएर हामीले अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा आजदेखि सुरु भयो भनेर घोषणा गरिसकेका छौँ ।” यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले पनि सम्पर्क गरिरहेका छन् । विमानस्थलको भ्रमणदेखि विभिन्न प्रक्रियामा चासो दिएका छन् । छिट्टै अन्य एयरलाइन्सले पनि उडान गर्ने विमानस्थलको विश्वास छ । गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आउनु मुलुकको हवाई उड्डयन इतिहासमा नयाँ फड्को भएको सम्बद्ध अधिकारी बताउछन् । रासस