गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, “हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।” उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् । बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो । विमानस्थलबाट उडान भर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् । व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ ।

बढ्न थाले नेपाल आउने विदेशी पर्यटक, मार्च महिनामै भित्रिए ४२ हजार

काठमाडौं । कोरोना महामारीका कारण सुस्त बनेको नेपालको पर्यटक क्षेत्रले गति लिन थालेको छ । कोभिडका कारण सबैभन्दा मारमा परेको पर्यटन क्षेत्रले कोरोना संक्रमितको संख्यामा कमी आएसँगै गति लिन सुरु गरेको हो । नेपाल पर्यटन बोर्डले कोभिड कम भएपछि नेपाल भित्रने विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेको जनाएको छ । बोर्डको तथ्यांक अनुसार कोभिड पछिकै धेरै विदेशी पर्यटक मार्च महिनामा भित्रिएका छन् । मार्च महिनामा मात्रै ४२ हजार ६ जना विदेशी नेपाल भित्रिएका छन् । सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय पर्यटकको संंख्यामा बृद्धि हुन थालेको हो । तथ्यांक अनुसार मार्च महिनामा सार्क राष्ट्रबाट १७ हजार ६६१ विदेशी नेपाल भित्रिएका हुन । गत वर्षको मार्च महिनामा सार्क राष्ट्रबाट ८ हजार ३८० विदेशी नेपाल आएका थिए । सार्कबाट आउने विदेशीमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । एक महिनामा १५ हजार १३ जना भारतीय नागरिक नेपाल भित्रिएका हुन । सन् २०२१ को मार्च महिनामा १ हजार २०७ चिनियाँ पर्यटक नेपाल भित्रिएकोमा पछिल्लो समय कमी आएको छ । कोरोना महामारीपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आउन थालेको छ । मार्च महिनामा चीनबाट ४३१ जना विदेशी मात्र नेपाल भित्रिएका छन् ।

चेन होटल शिन्तामणीले मोक्ष मुस्ताङ रिसोर्टको व्यवस्थापन गर्ने, एक रातकै साढे १ लाख

काठमाडौं । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ । मुस्ताङकाे चर्चित मोक्ष होटलको व्यवस्थापनकाे जिम्मा शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिटालिटी ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने बताइएको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायी होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ । शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो । एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो । रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ । कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ । अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको सुरुआत गरेका हुन् । कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ । विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम सुरु गरिएको जनाइएको छ । शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे । कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ । महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सिइओ शेर्पाको भनाइ छ । शिन्ताममणि होटलका निर्देशकसमेत रहेका आर्किटेक्चर बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए । अर्का निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि परियोजना सञ्चालन गर्ने रहर पहिलादेखि रहेकाले अहिले साकार भएको बताए । मोक्ष होटल समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायी होटल सञ्चालन गर्दै आएको छ । रासस