यी हुन् १९ यात्रु बोकेको तारा एयरको जहाज उडाउने क्यापटेन घिमिरे

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो । १९ यात्रु लिएर उडान भरेको ताराको ९ एनएईटी ट्विनअटर विमानको नेतृत्व बरिष्ठ क्यापटेन प्रभावकरप्रसाद घिमिरेले गरेका थिए । उनी तारा एयरका अनुभवी पाइटल हुन भने ट्विनअटर जहाजका प्रशिक्षक पाइलट (आइपी) हुन् । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन–एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । क्यापेटन घिमिरेसँगै केही समय उडान गरेका क्यापटेनहरु उनी अनुभवी पाइटल रहेको बताउँछन् । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमा घिमिरेसँगै उडान गरेका निगमका पाइटल निप्रेन्द्र भट्टराई   उनी अनुभवी क्यापटेन रहेको बताउँछन् । ‘उहाँ मभन्दा धेरै सिनियर क्यापटेन हो, मैले निगमको ट्विनअटर जहाज उडान गर्दा उहाँ क्यापेटन हुनुहुन्थ्यो, क्यानको सेफ्टी विभागबाट निगमको ट्विनअटर जहाज उडान गर्न आउँदा उहाँसँगै उडान भरेको थिएँ, उहा एकदमै सहयोगी क्यापेटन हुनुहुन्थ्यो,’ क्यापटेन भट्टराईले भने । जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को सेफ्टी विभागबाट जागीर सुरु गरेका क्याप्टेन घिमिरेले नेपाल एयरलाइन्समा समेत उडान गरेका थिए । सन् २००४ देखि तारा एयरमा आवद्ध भएका उनी ट्विनअटर जहाजका आइपी हुन । क्यापेटन घिमिरेको दुई छोरी र श्रीमती छन् । बिहान १० बजेदेखि सम्पर्कविहीन भएको सो जहाज दिउँसो १ बजेसम्म भेटिएको छैन । जहाज हराएको मुस्ताङको घोडेपानी क्षेत्र आसपासलाई केन्द्रमा राखेर जहाजको खोजी कार्य भैरहेको जनाइएको छ । सो जहाजमा चालक दलका तीन सदस्यसहित इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

ताराको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका, खोजी कार्य तीब्र

काठमाडौं । तारा एयरको जहाज मुस्ताङको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गरिएको छ । आइतबार बिहान पोखराबाट जोमसोमको उडेको सो जहाज मुस्ताङ जिल्लाको लेते क्षेत्रमा दुर्घटनामा परेको शंका गर्दै सो क्षेत्रमा खोजी केन्द्रित गरिएको छ । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दुर्घटनामा परेको हो। १९ यात्रु लिएर पोखराबाट आइतबार बिहान ताराको जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ९ एन -एईटी कलसाइनको जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए। आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडान भरेको जहाज उडान भरेको १२ मिनेटदेखि सम्पर्क विहीन भएको थियो । चालक दलसहित १९ यात्रु लिएर उडान भरेको ताराको ९–एनएईटी ट्विनअटर विमानको नेतृत्व बरिष्ठ क्यापटेन प्रभाकर घिमिरेले गरेका थिए । जहाज सम्पर्क विहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, तारा एयरको उद्धार टोलीले मुस्ताङको लेते लेक वरपर खोजी केन्द्रित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुर जहाजका क्यापटेन प्रभाकरप्रसाद घिमिरेको फोन लोकेशन ट्राक गरेर खोजी कार्य सुरु गरिएको बताए । ‘उहाँको फोनको अन्तिम लोकेशन मुस्ताङको लेतेको लार्के आसपास देखाएको छ, सोही लोकेशनलाई आधार बनाएर उद्धार टोलीले खोजी कार्य जारी राखेको छ,’ उनले भने । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कंडेल मुस्ताङको लेतेदेखि लार्जुङ आशपासलाई लोकेट गरी खोजी कार्य जारी गरिएको बताउँछन् । ‘अहिलेसम्म जहाज भेटिएको छैन, हामीले लेतेदेखि लार्जुङ एरियालाई लोकेट गरेर खोजी कार्य जारी राखेका छौँ, नेपाली सेनाको जहाज भर्खर न्यारीकोट क्षेत्रमा ल्याण्ड गरेको छ, फिस्टेल एयरको जहाज सोही क्षेत्रमा घुमिरहेको छ’, उनले भने । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसी पनि अहिलेसम्म जहाज नभेटिएको बताउँछन् । ‘जहाज खोजी कार्य जारी छ, यो ठाउँमा भेटियो भनेर मलाई कसैले भनेको छैन, जसजसले भेटियो भनिरहेका छन्, ती सबै हावा कुरा हुन्,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता केसीले भने । जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु सवार थिए ।

१९ यात्रु बोकेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि १९ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहीन भएको हो । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला सम्पर्क विहीन भएको जानकारी आएको बताए । ‘मैले पनि भरखर खबर पाएको छ, बाँकी विवरण आउन बाँकी छ’, उनले भने । एयरलान्सका अनुसार जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।