आजदेखि बुद्धको बनारस उडान सुरु
काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आजदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान आजबाट पुनः सुचारु भएको हो । सोमबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्ने बुद्धले जनाएको छ । सुरुवाती चरणमा सातामा दुईृ उडान गर्ने तयारी गरेको बुद्धले उडान सुरू भएको केही समयपछि बुधबार समेत उडान गर्ने जनाएको छ । ५० मिनेटको काठमाडौं–बनारस बिहान ७ः१५ र बनारस–काठमाडौं भारतीय समय ८ः३० मा उड्ने कम्पनीले जानकारी दिएको छ । बुद्धले २०७५ को असारदेखि बनारस उडान गर्दै आएको थियो । बुद्धले उक्त गन्तव्यमा एटीआर–७२ विमानबाट उडान गर्नेछ । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सयभन्दा बढी उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट समेत गरिरहेको छ ।
हिमालय एयरलाइन्सकी एयरहोस्टेस डंगोलले गरिन सगरमाथा आरोहण
काठमाडौं । हिमालय एयरलाइन्समा कार्यरत एयरहोस्टेस (विमान परिचालिका) ले सगरमाथा आरोहण गरेकी छिन् । हिमालयमा कार्यरत एयरहोस्टेस ॐनिका डंगोलले जेठ २ गते बिहान साढे ७ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् । थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनबाट उनले आरोहण गरेको एयरलाइन्सले जनाएकोे छ । कम्पनीले आरोहण सम्पन्न गरेर काठमाडौं फर्किएको डंगोललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो । कम्पनीको उक्त योजनालाई साथ दिदै डंगोलले आरोहण गरेकी हुन । उनले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी थिईन ।
उत्साहित हुँदै पर्यटन व्यवसायीले भने : बिदाको दिन ५० प्रतिशत पर्यटक बढ्छन्
चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले गरेका छन् । विगतका दिनमा सँगै दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले आइतबार पनि बिदा दिनुपर्ने माग गर्दै आएका थिए । पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायी विप्लव पौडेल दुई दिन बिदाको माग आफूहरुको भएको बताए । पोखरा र चितवनको मेघौलीमा रहेको होटल बाराहीका सञ्चालक पौडेलले यो बिदाबाट होमस्टे (घरबास) देखि ठूला होटलसम्म पर्यटक बढ्ने बताए । उनले भने, “यसले आर्थिक क्षेत्र चलायमान बनाउँछ ।” दुई दिन घुमफिर र रमाइलो गरेपछि पाँच दिन गर्ने काम जोश, जाँगर भरिएर थप राम्रो हुने पौडेलको भनाइ छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको बताउँछन् । आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको उनको भनाइ छ । “अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ,” उनले भने । कोभिडका कारण थलिएको पर्यटन क्षेत्र दुई दिन बिदासँगै पहिलेको भन्दा राम्रो हुने आफ्नो अनुमान रहेको भट्टराईले बताए । बिदा हुन थालेसँगै लक्षण सकारात्मक देखिएको उनको भनाई छ । पारिवारिक घुमफिर यो बिदाले बढाउने अपेक्षा व्यवसायीको छ । क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया टेलिफोनबाट बुझ्ने र बुकिङ गर्ने क्रम बढ्न थालेको बताउँछन्। देशको मध्यभागमा रहेकाले सौराहामा एक रात बिताउन छिमेकी धेरै जिल्लाबाट आउन सहज छ । एक रातको बसाइमा यहाँका महत्वपूर्ण गतिविधिमा सहभागी हुनसक्ने भएकाले केही हप्तापछि नै राम्रो नतिजा आउने थपलियाले बताए । विदेशी पर्यटकको सङ्ख्या घटेसँगै यहाँको पर्यटन क्षेत्र आन्तरिकले धानेको छ । मुख्यरूपमा नेपालमा पोखरा, लुम्बिनी, चितवन, काठमाडौँलगायतका क्षेत्रमा पर्यटक धेरै पुग्ने गर्दछन् । आइतबार हुने बिदामा यी क्षेत्रमा पर्यटकको चाप बढ्ने व्यवसायीको अनुमान छ । होटल नारायणी रिसोर्ट गैंडाकोट निर्देशक वसन्त पराजुली दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । उनले भने, “बिदामा परिवारसहित घुम्ने प्रचलन बढ्छ ।” विगतको सार्वजनिक र लामो बिदामा आन्तरिक पर्यटकले होटल भरिने गरेको उनको अनुभव छ । पर्यटनविद् डा विश्व सुवेदी दुईदिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउँछन् । उनले भने, “घुम्न हिँड्नका लागि समय मिल्छ, एक दिन घरको काम र अर्को दिन घुम्ने हिँड्न पुग्छ ।” यसले नजिकका पर्यटन क्षेत्रमा घुम्न जान सहज हुने उनको भनाइ छ । उनले कोरोनाका कारण घरमै बसेकाहरू घुम्न चाहिरहेको बेला बिदा पाउँदा यसले पर्यटन क्षेत्र थप चलायमान बनाउने बताए ।