आईकाओले दियो गौतमबुद्धलाई अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमाणीकरण दिएको छ । गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न भएको सो विमानस्थललाई आईकाओले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिएको हो । आइकाओले मे ११ तारिख अर्थात बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण पत्र दिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ २ गतेदेखि सो विमानस्थलमा व्यवसायिक उडानको तयारी थालेको छ । क्यालिब्रेस उडानको सफलतासँगै बैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत विमानस्थलमा डेमो उडानसमेत भएको थियो । उक्त विमानस्थलमा बुधबार मात्रै भारती वायुसेनाको जहाजले अवतरण गरेको थियो । जेठ २ गतेदेखि जजिरा एयरले नियमित उडान गर्ने घोषणा नै गरिसकेको छ । विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने क्यानले जनाएको छ । जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको छ । विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन् ।

डाक्टर प्रीति भुसालले गरिन् सगरमाथा आरोहण

काठमाडौं । डाक्टर प्रीति भुसालले सगरमाथाको सफल आरोहण गरेकी छिन् । भुसालले बिहीबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । अर्घाखाँची स्थायी घर भएकी ३४ वर्षीया भुसाल हाल मेडिकल अफिसरको रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छिन् । कोभिड-१९ को लडाइँ विरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ताहरुको योगदानको सम्मान गर्न तथा प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने सगरमाथा आरोहण गरेको उनले बताएकी छिन् ।

बुद्धले आइतबारदेखि यी विमानस्थलमा गर्दैछ रात्रिकालीन उडान

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आइतबारदेखि विभिन्न विमानस्थलमा रात्रिकालिन उडान सुरु गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको भन्दै बुद्धले आईतबारदेखि नियमित उडान भर्ने जनाएको हो । बुद्धले आइतबारदेखि तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा गरी ६ विमानस्थलमा उडान गर्ने जनाएको छ । बुद्धले उक्त विमानस्थलमा राती ८ बजेदेखि मात्र उडान गर्नेछ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुद्धले जनाएको छ । रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने कम्पनीले दाबी गरेको छ । बुद्धले रात्रिकालिन उडानका लागि काठमाडौंमा टुटलसँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा छुटको समेत अफर ल्याउन लागेको जनाएको छ । दोस्रो हब भैरहवा पोखरा विमानस्थललाई बुद्ध एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र पर्यटकहरुलाई पुगेकोछ । पोखरापछि बुद्धले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई दोस्रो हबका रुपमा सबै प्रदेशबाट जोड्ने जनाएको छ । कम्पनीले हाल भैरहवाबाट पोखरा र भरतपुरको उडान गर्दै आएको छ । भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा क्रमशः उडान भर्ने योजना रहेको कम्पनीले जनाएको छ ।