तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

फाइल फाेटाे काठमाडौं । तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले एक साता पोखरा-जोमसोम उडान बन्द हुने जनाएको हो । कम्पनीको अनुसार जेठ २० गतेदेखि जेठ २७ गतेसम्म पोखरा-जोमसोम उडान बन्द हुनेछ । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

नयाँ रणनीति र स्वरूपमा सञ्चालनमा आउँदै अन्नपूर्ण होटल

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे अन्नपूर्ण होटल पुनः सञ्चालनमा आउने भएको छ । होटल व्यवस्थापनले होटलको स्तरोन्नति गरेर नयाँ स्वरूपमा सञ्चालनमा ल्याउन लागेको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण अनिश्चितका लागि बन्द भएको होटल नयाँ स्वरूपमा सञ्चालनमा आउने होटलकी सञ्चालक तथा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । सञ्चालक राणाका अनुसार अहिले होटल पुनः सञ्चालनको तयारी भइरहेको छ । अब केही समयपछि होटल नयाँ स्वरूप र शैलीका साथ सञ्चालन हुने उनको भनाइ छ । ‘हामीले कोरोनाको समयमा खर्च धान्न नसकेर बन्न गर्ने निर्णय गरेकमा थियौं, होटलको संरचना पनि पुरानो जिर्ण भइसकेको छ, अहिले होटललको स्तरोन्नति तथा पुनर्निर्माण गर्ने योजना बनाइरहेका छौं, पुनः सञ्चालनमा आउन यति नै समय लाग्छ भन्न सकिन्न, जति सक्दो छिटो सञ्चालनमा ल्याउने हाम्रो तयारी छ,’ विकासन्युजसँग भनिन् । उनले नयाँ बिजनेस प्लानका साथ आउन लागेको पनि बताइन् । उनले अहिले नै यो गर्ने भन्ने यकिन भइनसकेको बताउँदै अन्नपूर्ण होटललाई समय सापेक्ष र नयाँ शैलीमा व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिइन् । उनले होटलको पुर्ननिर्माण तथा स्तरोन्नतिमा लाग्ने खर्चको पनि यकिन नभएको बताइन् । दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा राणाको ९० प्रतिशतभन्दा बढी सेयर छ भने बाँकी नेपाल ट्रस्ट, गोरख शम्शेर, खेतान समूहलगायतको सेयर छ । २०७७ मंसिरमा कोरोनाको कारण देखाउँदै र संरचना जिर्ण भएको भन्दै होटल व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको थियो । होटल बन्द भएसँगै कर्मचारीलाई समेत दिनुपर्ने बाँकी सबै सुविधा हिसाब गरेर लिन सूचना जारी गरेको थियो । पछिल्लो समय कोरोनाको सन्त्रास कम हुँदा पर्यटन व्यवसायमा पनि सुधार हुँदै गएको उनको भनाइ छ ।

मुक्तिनाथलाई भेटी अब प्रभु बैंक खातामा

बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्यूआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवद्र्धन गरिएको हो । नेपाल राष्ट्र बैँक पोखरा कार्यलयका प्रमुख डा रामशरण खरेलले नेपालको बैंकिङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यममार्फत सरलता र सहजता आएको बताए । उनले प्रभु बैंक र फोन–पेको संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको बताए । प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम् बैंकिङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए । उनले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए । प्रायः मठमन्दिरमा चड्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ ।