नेशनल लाईफको गोसाईकुण्ड हेली टुर सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि पुस ७ गते देखी ९ गते सम्म ‘गोसाईकुण्ड हेली टुर’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि कम्पनीले संचालन गरेको मासिक अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले काठमाण्डौ बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो । भ्रमणमा जानु पूर्व कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुलाई सफल भ्रमणको शुभकामना दिदै यस प्रकारको भ्रमणले अभिकर्ताहरुको मनोवल वृद्धि भई कम्पनीको व्यवसाय समेत प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट भई भ्रमण कार्यक्रममा सहभागि हुन सफल करिब २०० जनालाई अथक परिश्रम र मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतले सम्मान पनि गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीले आयोजना गर्ने यस प्रकारको भ्रमणले आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

३ करोडमा काभ्रेको बेथानचोकमा केबुलकार निर्माण हुने

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबुलकार निर्माण हुने भएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबुलकार निर्माणको योजना अघि सारेको बताए । केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ । गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागिएको बताए । उनले केबुलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे । आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबुलकारका लागि नौवटा टावरहरु रहने छन् । केबुलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ । कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो ।

नक्सालमा परम्परागत पैदलमार्ग बन्ने, सवारी साधनलाई ‘नो इन्ट्री’

काठमाडौं । काठमाडौंको नक्सालमा परम्परागत पैदल मार्ग (ट्रेडिसनल वाक वे) बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले करिब ५ करोडको लागतमा उक्त मार्ग बनाउन लागेको हो । आयुक्त कार्यालयले काठमाडौं महानगरसँगको सहकार्यमा काठमाडौं महानगरपालिको वडा नम्बर १ नक्साल क्षेत्रमा उक्त पैदल मार्गको निर्माण गर्न लागेको हो । जसको लागि ठेक्का समेत लगाइ सकेको छ । परम्परागत पैदल मार्ग निर्माण ठेक्का लगाइ आयोजनाको अध्ययनको काम समेत भइरहेको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर राजिव श्रेष्ठले बताए । पैदल मार्ग निर्माणको लागि महानगरको वडा नम्बर १ ले पनि अध्ययन गरिरहेको बताइएको छ । इन्जिनियर श्रेष्ठका अनुसार परम्परागत पैदल मार्ग निर्माणको प्रक्रिया अहिले द्रुत गतिमा अगाडि बढी रहेको छ । नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मेवारी दिइएको थियो । नक्साल क्षेत्रमा कमलपोखरीबाट नक्साल पुलिस हेडक्वार्टर हुँदै नागपोखरीदेखि भगवती मन्दिरसम्म पैदल मार्गको निर्माण हुने छ । करिब ६ सय मिटरको क्षेत्रमा यो मार्ग बन्न लागेको हो । यो काम स्थानीय तहको मागअनुसार नै हुन लागेको हो । पैदल मार्ग निर्माण भए पश्चात् सो ठाउँमा हिँड्न मात्र मिल्ने छ । यातायात भने सञ्चालन गर्न पाइँदैन । ‘पैदल माग निर्माण हुने भनिएको ठाउँ एउटा छुटै इतिहास बोकेको ठाउँ रहेछ, त्यहाँ अहिले पिच बाटो नै छ, गाडी कुदी रहेका छन्, त्यसलाई रोकेर, स्थानीयको माग अनुसार हिँड्न मात्र मिल्ने बनाउन लागेका हौं,’ उनले भने । नक्साल क्षेत्र परम्परागत पैदल मार्ग निर्माण गर्नको लागि अनुमानित ५ करोड रुपैयाँ बजेट छ । यो काम गर्नको लागि आयुक्त कार्यालयले केही समय अगाडि ठेक्का लगाएको छ । अहिले उक्त आयोजना मूल्याङ्कनको चरणमा रहेको पनि श्रेष्ठले जानकारी दिए । आयोजनाको काम अगाडि बढाउनको लागि अझै केही समय लाग्ने पनि जिल्ला आयुक्त कार्यालयले बताएको छ । ‘आयोजना काम अगाडि बढाउने ठाउँ प्लस जस्तो एरिया छ, त्यो ठाउँमा ४ ठाउँमा गेट राखी पीच निकालेर त्यहाँभित्र परम्परागत सामग्रीको प्रयोग गरी वाक वे बनाउने हो,’ उनले भने ।