चितवनमा पर्यटकको चाप बढ्यो : होटल भरिभराउ
फाइल फाेटाे चितवन । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायी बताउँछन् । अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ मुग्लिन सडकखण्ड दिउँसोमा बन्द हुने हुँदा केही प्रभावित भए पनि बिहान बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए । साँझसम्ममा सबै होटल भरिने उनको अनुमान रहेको छ । उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ सौराहामा दुई वटा होटल सञ्चालन गर्दै आउनुभएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउनुहुन्छ । होटल सेभेन स्टारमा आज साङ्गीतिक कार्यक्रम रहेको भन्दै उहाँले अर्को होटेल पनि भरिएको बताए। उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’ क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या राम्रो छ ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ । पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए। उनले भने, ‘अहिलेको नयाँ वर्ष पर्यटकको उपस्थिति राम्रो छ ।’ जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए। क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले क्रमश पर्यटक बढ्दै गएको साँझसम्ममा होटल भरिने अपेक्षा छ भने। सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । सङ्घको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् । पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा आठ हजार पर्यटक अट्न सक्ने क्षमता छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर, पैदल यात्रा गरेर दुर्लभ बाघ, गैँडाजस्ता वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । थारु संस्कृति हेर्न पर्यटक रुचाउँछन् । कोभिडका कारण थला परेको पर्यटन व्यवसाय उठ्ने अपेक्षामा व्यवसायी रहेका छन् ।
नारायणी नदीमा लामो समयपछि फेरि देखिन थाल्यो डल्फिन
नवलपुर । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उनले डल्फिन देखेका थिए । गत वर्ष नारायणी नदीको भेलौजी भन्ने स्थानमा समेत डल्फिन फेला पारेका उनी यतिबेला उत्साहित छन् । लामो समयदेखि नारायणी नदीमा डल्फिन देखिन छाडेकामा विगतको वर्षदेखि क्रमशः यस क्षेत्रमा डल्फिन फेला पार्दा आफू उत्साहित भएको उनले बताए । ‘नारायणी नदीमा लामो समयपछि फेरि डल्फिन देखिन थालेको छ, यसले यस क्षेत्रका संरक्षणकर्मीलाई उत्साहित बनाएको छ’, उनले भने । नवलपरासी पूर्वनवलपुरको अमलटारीघाटदेखि नारायणी नदीको त्रिवेणीसम्म विभिन्न स्थानमा विभिन्न समयमा डल्फिन देखिन थालेको छ । धेरैजसो नारायणी नदीको अमलटारी घाट र भेलौजी भन्ने स्थानमा डल्फिन देखिने गरेको छ । यी स्थानमा नदीको सतह गहिरो र शान्त रहेकाले डल्फिन यस क्षेत्रमा देखिएको हुनसक्ने संरक्षणकर्मी महतोले बताए । लामो समयको अन्तरालपछि क्रमश : डल्फिन देखिनु आफैँमा खुसीको कुरा भएको उनले बताए । यस क्षेत्रमा दुई वटा डल्फिन देखिने गरेको महतोले बताए । गत मङ्सिर १४ गते डल्फिनको फोटोसमेत खिच्न भ्याएका थिए । संरक्षणकर्मी डिबी चौधरीलेसमेत हालैमात्र नारायणीमा डल्फिन फेला पारेको बताए । पहिला नारायणी नदीमा धेरैजसो डल्फिन देखिने गरेकामा हराउँदै गएकामा फेरि अहिले डल्फिन देखिन थालेको उनको भनाइ छ । त्रिवेणीस्थित नेपाल भारत सीमामा रहेको बाधका कारण धेरैजसो डल्फिन बाँधबाट तल गएपछि माथि आउन नसक्दा यो क्षेत्रमा डल्फिन देखिन छाडेको उनको भनाइ छ । ‘अमलटारीदेखि त्रिवेणीसम्म डल्फिनका लागि राम्रो वातावरण छ, पानीको गहिराइ, आहाराका लागि माछा सबै छ तर डल्फिन तलमाथि नदीमा डुलिरहन्छ, त्रिवेणीमा रहेको ब्यारेजका कारण डल्फिन एकपटक तल गएपछि फर्किन मुस्किल हुन्छ’, उनले भने ‘पहिला धेरै देखिने ठाउँ हो पछि विस्तारै हराउँदै गयो, विगतको वर्षयता देखिन थालेको छ, यो खुसीको कुरा हो ।’ नारायणी नदीमा डल्फिन देखिनु पर्यटकीय दृष्टिकोणलेसमेत फाइदाजनक भएको उनको भनाइ छ । नदीमा डल्फिन देखिँदा आन्तरिक तथा बाह्य पर्यटक डल्फिन हेर्नकै लागि आउने हुँदा यसले पर्यटकीय गतिविधिलाई बढाउने संरक्षणकर्मी चौधरीले बताए । ‘यस क्षेत्रमा डल्फिन हेर्न पाइन्छ भनेर आउने पर्यटक बढ्छन्, यो पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम बन्नसक्छ, जसले गर्दा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धन हुन्छ’, उनले भने । डल्फिन एक स्तनधारी जलचर जीव हो । नेपालको नारायणी नदीसहितका विभिन्न नदीमा डल्फिन देखिए पनि संरक्षणमा ठोस पहल भने नभएको संरक्षणकर्मी चौधरीले बताए । नारायणी नदीमा डल्फिन देखिएपछि यसको संरक्षणमा काम गर्न आवश्यक रहेको उनको भनाइ छ । नदीमा हुने प्रदूषण नियन्त्रण, डल्फिन रहेको क्षेत्रमा त्यसलाई अवरोध हुने गतिविधि नियन्त्रण, तिहारी जालबाट माछा मार्न नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । ‘नदीमा प्रदूषण बढ्दो छ, यसको नियन्त्रण गर्ने, तिहारी जाल थापेर, करेन्ट लगाएर माछा मार्ने काम रोक्नेलगायतका काम गरे डल्फिन जोगाउन सकिन्छ’, उनले भने, ‘यसबाहेक वरपरका समुदायलाई समेत यसको महत्व बुझाएर संरक्षणमा लगाउन आवश्यक छ ।’ नारायणी नदीमा नियमितरुपमा डल्फिन देखिँदा यसलाई हेर्न पर्यटकको आगमन बढ्ने र यसले जिल्लामा पर्यटनका माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास लिइएको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानाले बताए । ‘हाम्रा लागि पनि खुसीको कुरा हो, डल्फिन हेर्नकै लागि पर्यटक आए, यसले आर्थिक क्रियाकलाप बढाउँछ, पर्यटनलाई जीविकोपार्जनको माध्यम बनाउनेका लागि थप लाभ मिल्नेछ’, उनले भने ।
पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै
कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नेछन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए । उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगेको छ । उनले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा विमानस्थल उद्घाटन कार्यक्रमको अन्तिम तयारीमा छौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन सङ्घ संस्थाको सहभागितामा उद्घाटन समारोह विशेष र भव्य हुनेछ ।” पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थल उद्घानका दिन बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ । त्यसैगरी बिहान ११ बजेपछि औपचारिक कार्यक्रम शुभारम्भ हुनेछ भने अपराह्न २ बजेपछि ‘सेलिब्रेसन’को कार्यक्रम छ । पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका झाँकी, फेसन सोलगायतका कार्यक्रमका साथ उद्घाटन समारोहलाई भव्य बनाइने निर्देशक गौतमले बताए । अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले पनि काम सुरु गरेको छ । महानगर समरोह भव्य बनाउने गरी जुटेको छ । उद्घाटन समारोहपछि उत्सवको जिम्मा महानगरको छ । महानगरले विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिका झाँकी अभिनन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुति र सेलिब्रेसन गरिने जनाएको छ । विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलगायतलाई रथारोहणसहित अभिनन्दन गरिनेछ । महानगरले उद्घाटनलाई लक्ष्य गरी यही पुस १३ गते लेक साइडदेखि कोत्रेसम्म राजमार्गमा बृहत् सरसफाइ कार्यक्रम गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थितरूपमा भव्य र सभ्य बनाउनुपर्ने आचार्यले बताए । यो दशकौँ लामो पोखरेलीको सपना मात्र नभए पश्चिम क्षेत्रकै ‘लाइफलाइन’का रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्वपूर्ण हुने बताए । उनले भने, “उद्घाटन समारोहलाई भव्य बनाउने गरी महानगरले काम गरिरहेको छ । यसका लागि विभिन्न उपसमिति गठन गरी काम गरेका छौँ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत विमानस्थल कोसेढुङ्गा सावित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥याउनु आवश्यक छ । अन्तर्राष्ट्रिय सहरसँग हुने पोखराको सीधा सम्पर्कले पोखरा प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।” विमानस्थलको उद्घाटनका दिनदेखिनै सबै आन्तरिक उडान सोही विमानस्थलबाट हुनेछन् । निजी विमान कम्पनीले नयाँ विमानस्थलबाट उडान सुरु गर्नका लागि कार्यालय व्यवस्थापन लगायत तयारी सकेका छन् । बुद्ध, यति र सौर्य एयरले परीक्षण उडानसमेत सम्पन्न गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पोखरेलीले झण्डै पाँच दशकअघि सपना देखेका थिए । लामो प्रतीक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनको अवस्थामा आउँदा पोखेरेली हर्षित छन् । यसबाट पोखराको समृद्धिको ढोका खुल्ने अपेक्षा यहाँका नागरिकको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको र विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रले बढी लाभ लिने भएकाले समेत पर्यटन व्यवसायी उत्साहित भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । विमानस्थल सञ्चालनमा आउने भएपछि आफूहरु हर्षित र उत्साहित भएको उनले बताए । कोरोनापछि प्रभावित पर्यटन क्षेत्रलाई विमानस्थल सञ्चालनसँगै पर्यटक आगमन बढेर राहत मिल्ने विश्वास रहेको बताउँदै श्रेष्ठले भने, “विमानस्थल सञ्चालनमा आउने भएपछि हामी व्यवसायी, लगानीकर्ता सबै हर्षित भएका छौँ । पर्यटन क्षेत्रलाई ठूलो राहत मिल्ने विश्वास छ । अन्तर्राष्ट्रिय विमानस्थलसँगै पोखराको प्रवद्र्धन विश्वभर फैलाउने र धेरै पर्यटक भित्र्याउने योजना बनाउने छौँ ।” पोखरा विमानस्थल चिनियाँ निर्माण कम्पनी सीएएमसीइले निर्माण गरेको हो । यसअघि गत वर्ष चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेला विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो । चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।