पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको परीक्षण उडान सम्पन्न

कास्की । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ । आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो । यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ । सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन । सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ । विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए । उनका अनुसार युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय ‘सिआरजे २००’ जहाजमा जेट इन्जिन भएकाले सुरक्षित एवं आरामदायीसहित द्रुत गतिको मानिन्छ । हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताउनुभयो । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीसँग समन्वय गर्दै अघि बढ्ने जनाएको छ । इञ्चार्ज यादवले भने, ‘हाम्रो सेवालाई थप चुस्त बनाउने क्रममा पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुसीको कुरा हो । पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ ।’ पोखरा–काठमाडौं भाडा सुरुआतमा न्यूनतम चार हजार एक सय तोकिएको छ । यात्रुको चापअनुसार अन्य एयरलाइन्ससरह मूल्य तोकिने कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै विमान कम्पनीहरुले परीक्षण उडान गर्दै आएका छन् । केही दिनअघि बुद्धएयर र यति एयरलाइन्सले सफलतापूर्वक परीक्षण उडान गरेका थिए । पुस १७ देखि नवनिर्मित विमानस्थलदेखि आन्तरिक हवाई सेवा दिनका लागि कम्पनीले कार्यालय व्यवस्थापनलगायतका कार्य गरिरहेका छन् ।

पोखरामा पर्यटकलाई अब सूर्योदयसँगै जिपलाइनको मजा

  कास्की । साहसिक पर्यटनमा रुचि राख्नेहरूका लागि अब पोखरामा सूर्योदयसँगै जिपलाइनको मनोरञ्जन प्राप्त गर्ने भएका छन् । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य सराङकोटबाट हेमजाको याम्दीसम्म विसं २०७० देखि जिपलाइन सञ्चालन गर्दै आएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालले स्वदेशी तथा विदेशी पर्यटकलाई सूर्योदय र जिपलाइनको अनुभवसँगसँगै प्रदान गर्न लागेको हो । पोखराको सराङकोटमा सूर्योदयको दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई जिपलाइनको अनुभवसमेत सँगै प्रदान गर्न सो सुविधा ल्याइएको हाइग्राउण्ड एडभेञ्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताए । उनकाअनुसार बिहान ५ देखि ५ः३० बजे पर्यटकलाई पोखराको लेकसाइडबाट गाडीमा सराङकोटसम्म पुर्याएर सूर्योदय दृश्यावलोकनसहित जिपलाइनको अवसर प्रदान गरिनेछ । हाल बिहान ९ बजेपछि मात्र जिपलाइन सेवा सञ्चालन हुँदै आएको छ । उनले भने ‘सनराइज हेर्न आउने एडभेञ्जर लभर्सहरूका लागि बिहानको समयमा जिपलाइनको अवसर थिएन, सो कमी हटाउँदै उनीहरूलाई सबेरै साहसिक जिपलाइनको अनुभव दिलाउने गरी यो प्याकेज ल्याएका हौँ, यसबाट पोखरामा पर्यटकले थप सुविधा प्राप्त गर्नेछन् र रमाउने छन् ।’ हाल दैनिक चार सयदेखि पाँच सय जनासम्म पर्यटक सूर्योदय हेर्नका लागि सराङकोटमा पुग्ने गरेका छन् । उनीहरूलाई लक्षित गरी हाइग्राउण्डले जिपलाइन सेवा सुरु गरेको हो । सनराइज प्याकेजमा स्टेशनसम्म आउन र गन्तव्यसम्म यातायात सुविधा, सराङकोटमा बे्रकफास्ट र जिपलाइनको अनुभव समेटिएको छ । सो प्याकेजमा प्रतिव्यक्ति रु १२ हजार शुल्क लाग्ने कम्पनीले जनाएको छ । सराङकोटमा समुद्र सतहदेखि एक हजार पाँच सय ५० मिटरको उचाइमा रहेको स्टेशनबाट याम्दीमा नौ सय ५० मिटर उचाइको तल्लो स्टेशनसम्म जिपलाइन सञ्चालन हुने गरेको छ । दुई स्टेशनबीचको दूरी एक किमी आठ सय मिटर छ । विश्वमै छ सय मिटरको सबैभन्दा भिरालो (स्टिपेष्ट) जिपलाइन रहेको कम्पनीले विश्व रेकर्डको सर्टिफिकेट प्राप्त गरेको निर्देशक मानन्धरले बताए । सो प्रमाणपत्र प्राप्त गरेसँगै कम्पनीको प्रवद्र्धनका लागि सघाउ पुग्ने बताइन्छ । हाइग्राउण्ड एडभेञ्जरले एक दशकअघिदेखि पोखरामा जिपलाइन सुरु गरेको हो । सो कम्पनीले हाल साहसिक पर्यटकलाई लक्षित गरी जिपलाइन, बञ्जी, स्विङ र एटिभी ड्राइभ सञ्चालन गरिरहेको छ । पोखरामा पछिल्लो समय साहसिक पर्यटकीय गन्तव्य थपिँदै जाँदा पर्यटकको बसाइ अवधि बढाउन सहयोगी भएका छन् । पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङबाट साहसिक पर्यटकीय गन्तव्य सुरु भएको यहाँ जिपलाइन, बञ्जीसँगै क्यानोनिङलगायतले पर्यटकलाई मनोरञ्जन प्रदान गरिरहेका छन् ।

बुद्ध एयरका अध्यक्ष बस्नेतको मृत्यु, यसरी बनाए सफल एयर

काठमाडौं । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको ९३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका अध्यक्ष बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएका थिए । उनले नेपाल बार एसोसिएसनको संस्थापक सदस्य भएर काम गरेका थिए । सर्वोच्च अदालतको न्यायाधीश र नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त समेत भएर उनले काम गरेका थिए । वि.सं. २०२४ मा कानुन, न्याय तथा शिक्षा मन्त्री र वि.सं. २०२५ मा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका उनी नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुन् । उनले ७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर हवाई सेवा सुरु गरेका हुन् । हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनलाई नै जान्छ । उनका २ छोरा र १ छोरी रहेका छन् । हाल बुद्ध एयरलाई जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले प्रवन्ध निर्देशकका रूपमा हाँकिरहेका छन् । नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बन्न सफल भएको छ । जनजनको विश्वास जितिसकेको बुद्ध एयरले वार्षिक करिब ३० लाख स्वदेशी र विदेशी यात्रुलाई सेवा दिइरहेको छ । एउटा जहाज र ९९ जना कर्मचारीबाट सुरु भएको बुद्ध एयरसँग १६ वटा जहाज र १५ सय कर्मचारी कार्यरत छन् । बुद्ध एयरलाई यो अवस्थासम्म ल्याउँदा विभिन्न कालखण्डमा धेरै उतारचढाब भोग्नु पर्याे । बस्नेत अप्ठेरा दिनमा कहिल्यै आत्तिएनन् । उल्टै निरन्तर सक्रिय रहँदै यात्रुको सेवा र धैर्यबाट सफलताको सिंढी चढिरहे । अध्यक्ष रहेका बस्नेतलाई कम्पनी स्थापना गर्दा नाम र लोगो राख्दा अलमल भएको थियो । सुरुमा हनुमान एयर राख्ने योजना बनाएका उनले घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ र लोगोमा बुद्धको मूर्ति राखे । तर, एक दिन एक जना श्रीलङ्कालीले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा उनी झसङ्ग भए । ‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ भनेका थिए । तर, बस्नेत पछि हटेनन् । ‘वीच ९०’ नयाँ जहाज माउन्टेन फ्लाइटका लागि निकै राम्रो र १८ सिट भएको थियो । वीच ‘हकर्स’ कम्पनीको जहाज अमेरिकी कम्पनीले बेलायती कम्पनी किनेर बनाएको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । उनलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न उनलाई बडो कष्ट भयो । बिजनेस प्लान लिएर चारैतिर भौतारिए । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो । बस्नेतले अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको घरबाट नै कार्यालयको सुरुवात गरेका थिए । साँघुरो अफिसमा सबै जना कच्याककुचुक परेर बस्थ्थे । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थिए । २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् । अन्ततः पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बल्दै, बुद्ध एयरको लोगो टल्काउँदै गरेको जहाँज गौचरणमा ओर्लियो । दशैं टीकाको दिन परीक्षण उडान पोखरा गर्याे । ११ अक्टोबर १९९७ का दिन पहिलो व्यावसायिक उडान सुरू गरेको थियो । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान गरेको थियो । नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेको थियो । ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । बुद्ध एयरकर्मीहरुले ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ, पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भने । कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएको छ । ठूलो जहाजमा जानुपर्छ भन्ने आवज उठेपछि सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्याएको थियो । सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायो । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेपछि थप जहाज पनि भित्र्याउन सफल भयो । सन् २०११ सेप्टेम्बर २५ को दिन माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाएको पीडाले उडान र जनशक्तिलाई थप सशक्त बनायो । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्याएर एफडीएमको मद्दतले हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेको छ । देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान गर्याे । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यो । यसैगरी सन् २०१२ को मार्चबाट साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेको छ । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु गरेको भएपनि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गरेको छ । सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर दिई वार्षिक ३० लाख यात्रुलाई सेवा दिइरहेको छ ।