पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट दिइने

काठमाडौं । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि अन्तर्राष्ट्रियतर्फको उडान र अवतरणमा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार विमानस्थलमा अवतरण शुल्क, विसन शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शतप्रतिशत छुट दिने निर्णय भएको छ । यस्तो छुट अन्तर्राष्ट्रिय उडान भर्ने स्वदेशी तथा विदेशी एयरलाइन्सले पाउनेछन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीबाट पुस १७ गते सन् २०२३ जनवरी १ तारिख देखि व्यावसायिक उडान सञ्चालन गर्ने क्यानले घोषणा गरिसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । विमानस्थल उद्घाटन बिहान ११ बजे हुने र औपचारिक समारोहपछि विमानस्थलमा अन्य कार्यक्रम पनि सञ्चालन हुने क्यानले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही पुस ७ गते निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयर र यती एयरलायन्सले आफ्नो परीक्षण उडान गरिसकेका छन् । त्यस्तै गुण एयरलाइन्सले पनि परीक्षण उडान गरेको छ । विमानस्थल सञ्चालनका लागि तयार भएसँगै मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । पोखरा विमानस्थलमा एरो थाई कम्पनीको जहाजले गत मङ्सिर ५ देखि ११ सम्म एक साता सफलतापूर्वक यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडानको प्रतिवेदन सकारात्मक आएसँगै विमानस्थल व्यावसायिक उडानयोग्य भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको सात महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले विमानस्थलमा व्यावसायिक उडान सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन, अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतका सम्पूर्ण तयारी पूरा गरिएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको काम पनि अन्तिम चरणमा पुगेको विमानस्थलले जनाएको छ । पहिलो चरणअन्तर्गत १६ मिटर कटान गरी यान्त्रिक उडान गरिएको थियो । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । ठेकेदार कम्पनी उमा एन्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा मङसिर १८ देखि फोहोर फाल्न बन्द गरिएको छ । विमानस्थल सञ्चालनमा सहजीकरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएकाले यसलाई सुव्यवस्थितरूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिए । पोखरा विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिन्छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो । तथ्याङ्कअनुसार काठमाडौं आएका विदेशी पर्यटक मध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यसले पोखरालाई अन्तर्राष्ट्रिय शहरका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

बजारीकरणमा सहयोगी बन्दै जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल, पर्यटक बढे

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ । पहाडी जिल्लामा सडक अभावका कारण सवारीसाधन सञ्चालन हुन सक्दैनन् । त्यसैले स्थानीयले आफ्ना उत्पादन डोकोमा बोकेर सहरसम्म पुर्याउन पनि समस्या हुने गर्दछ । तर यी पुलका कारण खोला या नदिकिनारसम्मै पुग्ने र सहर उक्लिनुपर्ने अवस्था नहरकेकाले पुलबाटै उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ । जिल्लाका विभिन्न स्थानमा स्टिलद्वारा निर्माण भएका ८० वटा यस्ता पुलले कृषि उत्पादनको बजारीकरण गर्न तथा आवतजावतमा सुविधा भएको हो । गाउँमा उत्पादन भएका फसल तथा अन्य कृषिजन्य उत्पादनले बिक्री हुन थालेपछि स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका– ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुंर्जाले बताए । विगतमा जिल्लाका दुर्गम तथा पिछडिएका स्थानका खोलामा पुलको अभावले वर्षायाममा आउने बाढीका कारण स्थानीयले कष्टपूर्ण जीवन बिताउँदै आएका थिए । म्याग्दीमा निर्माण गरिएका झोलुङ्गे पुल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, तात्कालीन जिल्ला विकास समिति, अन्तर्राष्ट्रिय संस्था कादुरी, बिबिएलको आर्थिक सहयोगमा अत्यधिक रुपमा निर्माण गरिएका छन् । म्याग्दीको रत्नेचौर र बागलुङको कुडूले जोड्ने ठूलो खोलामाथि निर्माण गरिएको तीन सय ८८ सय मिटर लामो झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो पुल मानिन्छ । पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणका लागि सहज भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरका निवर्तमान वडाअध्यक्ष टेकबहादुर रावलले यो पुलले आवतजावतमा सहजताका साथै रत्नेचौरमा पर्यटकको चहलपहल बढाउन सहयोग पुगेको बताए । रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायतका गतिविधि गर्ने भएकाले पुलले सुविधा पुगेको उनको भनाइ छ । त्यसैगरी बागलुङको पञ्चकोट, कुँडूलेमा रहेको शालग्राम सङ्ग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, श्री लक्ष्मीहरि मन्दिर, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानव निर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने रत्नेचौरका युवा भरत खत्रीले बताए । यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने तीन सय ६५।८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । म्याग्दीका ग्रामीण तथा पिछडिएका क्षेत्रमा झोलुङगे पुललाई पक्की पुलको विकल्पको रूपमा समेत लिइएको छ । रासस

नारायणी नदीमा मोटरबोट चढ्न दैनिक १ हजार पर्यटक आउने

काठमाडौं । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ । कालिका नगरपालिका– ५ बाट आएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताइन् । उनले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रामइलो लागको अनुभव सुनाइन् । खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार आउनेको सङ्ख्या उत्तिकै छ । नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् । नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरु धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताए। नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् । मुलुककै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनमा नारायणी नदीको मोटरबोटले छुट्टै आकर्षण थपेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । उनले मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको वृद्धि भएसँगै व्यवसायीले मोटरबोटमा करोडौँको लगानी गरेको जानकारी दिए । नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चितवनको नयाँ मनोरञ्जन केन्द्रको रुपमा स्थापित हुँदै गएको युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी बताउँछन् । नारायणी नदीमा मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए । मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको उनले जानकारी दिए । शनिबारको दिन भने बढी आउने गरेका छन् । भरतपुर महानगरपालिका–१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताए । उनले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिए । केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उनले बताए । नारायणी नदीमा हाल विभिन्न कम्पनीका २३ मोटरबोट सञ्चालनमा रहेका छन् । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक रहेको छ । रासस