काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै रात्रीकालिन उडान हुने भएको छ । यसअघि दिउँसोको ३ बजेपछि उडान बन्द हुने पोखरामा आगामी फेब्रुअरीदेखि रात्रीकालिन उडानको तयारी थालिएको हो ।
नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनवरी १ तारिखदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औैपचारिक रुपमा सञ्चालन गर्दैछ । औपचारिक रुपमा विमानस्थल सञ्चालन भएपछि रात्रीकालिन उडानका लागि केही समय लाग्ने कार्यालयले जनाएको छ ।
‘हामी जनवरी १ देखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा आउँछ, रात्रीकालिन उडानका लागि आवश्यक प्रविधि जडान गर्न केही समय लाग्नेहुँदा फेब्रुअरी २३ देखि रात्रीकालिन उडान सुरु गछौँ’, क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भने ।
क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् ।
बुद्धले क्यानले तोकेकै दिन अर्थात फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्ने जनाएको छ । बुद्धपछि यती, श्रीएयरलाइन्स तथा सौर्य एयरलाइन्सले समेत उडानको तयारी थालिएको जनाएका छन् ।
यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्याम्प बस चढ्नुपर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा मात्रै यात्रुहरुका लागि ¥याम्प बस राखिएको थियो ।
पोखरा विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ । तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन् । जसका कारण पैदल हिंड्न लामो समय लाग्छ ।
नयाँ विमानस्थल सञ्चालनमा आएसँगै जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । अन्य सबै उडान नयाँ विमानस्थलमा सर्नेछन् । सोहीअनुसार तयारी गरिएको वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएका छन् ।