काठमाडौं । काठमाडौंको नक्सालमा परम्परागत पैदल मार्ग (ट्रेडिसनल वाक वे) बन्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्त कार्यालय काठमाडौंले करिब ५ करोडको लागतमा उक्त मार्ग बनाउन लागेको हो ।
आयुक्त कार्यालयले काठमाडौं महानगरसँगको सहकार्यमा काठमाडौं महानगरपालिको वडा नम्बर १ नक्साल क्षेत्रमा उक्त पैदल मार्गको निर्माण गर्न लागेको हो । जसको लागि ठेक्का समेत लगाइ सकेको छ ।
परम्परागत पैदल मार्ग निर्माण ठेक्का लगाइ आयोजनाको अध्ययनको काम समेत भइरहेको जिल्ला आयुक्त कार्यालय काठमाडौंका इन्जिनियर राजिव श्रेष्ठले बताए । पैदल मार्ग निर्माणको लागि महानगरको वडा नम्बर १ ले पनि अध्ययन गरिरहेको बताइएको छ ।
इन्जिनियर श्रेष्ठका अनुसार परम्परागत पैदल मार्ग निर्माणको प्रक्रिया अहिले द्रुत गतिमा अगाडि बढी रहेको छ । नक्साल क्षेत्रको सांस्कृतिक गुरुयोजना तयार गर्न डीयूडीबीसीले एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी कम्पनीलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।
नक्साल क्षेत्रमा कमलपोखरीबाट नक्साल पुलिस हेडक्वार्टर हुँदै नागपोखरीदेखि भगवती मन्दिरसम्म पैदल मार्गको निर्माण हुने छ । करिब ६ सय मिटरको क्षेत्रमा यो मार्ग बन्न लागेको हो । यो काम स्थानीय तहको मागअनुसार नै हुन लागेको हो ।
पैदल मार्ग निर्माण भए पश्चात् सो ठाउँमा हिँड्न मात्र मिल्ने छ । यातायात भने सञ्चालन गर्न पाइँदैन । ‘पैदल माग निर्माण हुने भनिएको ठाउँ एउटा छुटै इतिहास बोकेको ठाउँ रहेछ, त्यहाँ अहिले पिच बाटो नै छ, गाडी कुदी रहेका छन्, त्यसलाई रोकेर, स्थानीयको माग अनुसार हिँड्न मात्र मिल्ने बनाउन लागेका हौं,’ उनले भने ।
नक्साल क्षेत्र परम्परागत पैदल मार्ग निर्माण गर्नको लागि अनुमानित ५ करोड रुपैयाँ बजेट छ । यो काम गर्नको लागि आयुक्त कार्यालयले केही समय अगाडि ठेक्का लगाएको छ । अहिले उक्त आयोजना मूल्याङ्कनको चरणमा रहेको पनि श्रेष्ठले जानकारी दिए ।
आयोजनाको काम अगाडि बढाउनको लागि अझै केही समय लाग्ने पनि जिल्ला आयुक्त कार्यालयले बताएको छ ।
‘आयोजना काम अगाडि बढाउने ठाउँ प्लस जस्तो एरिया छ, त्यो ठाउँमा ४ ठाउँमा गेट राखी पीच निकालेर त्यहाँभित्र परम्परागत सामग्रीको प्रयोग गरी वाक वे बनाउने हो,’ उनले भने ।