‘हाम्रो पात्रो’ सामाजिक सञ्जाल हो भन्दै सरकार ‘झुक्किएपछि बन्द गर्न’ पुग्यो
काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धसँगै हाम्रो पात्रो एप पनि बन्द हुने हल्ला चलेपछि कम्पनीले स्पष्टीकरण दिएको छ । कम्पनीका अनुसार एप बन्द भएको छैन र यो केवल एक भ्रम मात्र हो। हाम्रो पात्रोकी निर्देशक सुदिना गौतमले बताएअनुसार एप बन्द भएको कुरामा कुनै सत्यता छैन । उनले भनिन्, ‘हाम्रो एप बन्द भएको छैन, यो केवल एक गलत बुझाइका कारण फैलिएको हल्ला हो ।’ पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि सरकारले कडा निगरानी राख्दै दर्ता अनिवार्य गरेपछि हाम्रो पात्रोले पनि आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएको निर्देशक गौतमले बताइन् । तर कम्पनीले आफूलाई परम्परागत सामाजिक सञ्जाल नभई एक युटिलिटी एप भएको दाबी गरेको छ । ‘हामी खासमा सामाजिक सञ्जाल होइनौं, हामी एक युटिलिटी एप्लिकेसन हौं, ’ उनले भनिन्, ‘तर सरकारको निर्णय आएपछि हामीले त्यसको सम्मान गर्दै आफूलाई सामाजिक सञ्जालको रूपमा दर्ता गराएका हौं ।’ हाम्रो पात्रोले आफू बन्द नभएको र नियमित रूपमा सञ्चालनमा रहेको जनाउँदै प्रयोगकर्ताहरूलाई ढुक्क हुन आग्रह गरेको छ ।
एससीटीको एसीएस सेवा सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले एसेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ । एसीएस विश्वव्यापी थ्रीडी सेक्यूर प्रोटोकलको महत्त्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्चस्तरको सुरक्षा सुनिश्चित गर्छ । ग्लोबल आईएमई बैंक नेपालमा एससीटीको थ्रीडीएस एसीएस सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै एनएमबी बैंकमा पनि यो सेवा प्रदान भइसकेको छ । अब ग्लोबल आईएमई र एनएमबी बैंकका कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् । एससीटीले सु? गरेको एसीएस सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रूपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ ।
'सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौँ'
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आपत्ति जनाएका हुन् । यसको माओवादी केन्द्रले विरोध गर्ने बताए । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको जिकिर गरे । नियमनको कुरा आवश्यक रहेको र तर केके र कहाँ समस्या हो पहिचान गर्न जरुरी रहेको बताए । उनले भने, ‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ । यसको हामी विरोध गर्दछौँ । नियमन गर्नेकुरा आवश्यक छ । तर यसका लागि सरकारले कहाँ समस्या हो, केके हो हेरेर बल्ल नियमन गर्नुपर्छ । सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ ।’ उनले सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताए ।