डिशहोम र ‘डल्ले’ बीच साझेदारी, उपत्यकाका सबै आउटलेटमा ग्राहकलाई छुट
काठमाडौं । डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा छुट पाउनेछन् । यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने बताइएको छ । कम्पनीकाअनुसार, भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपबाट डाउनलोड गर्न सकिनेछ । यसपछि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् । यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डाइरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।
तिलिचो बेसक्याम्पमा टुजी र फोरजी सेवा सुरु, च्छो रोल्पामा भोइस सेवा
काठमाडौं । नेपाल टेलिकमले मनाङको प्रसिद्ध पदयात्रा र पर्यटन क्षेत्र तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस (बेस ट्रान्सीभर स्टेशन) स्थापना गरी टुजी र फोरजी मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ । करिब ४ हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा विस्तार गरेको हो । यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती क्षेत्रका स्थानीय बासिन्दा, पदयात्री र व्यवसायीहरू अब सजिलै सञ्चार सम्पर्कमा रहन सक्ने भएका छन् । टेलिकम सेवाको विस्तारपछि उक्त क्षेत्रका पर्यटन, होटल र व्यवसायिक सेवा प्रदायकहरूले डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन सजिलो हुने भएको छ । साथै पदयात्राका क्रममा स्वास्थ्य समस्या परेमा आपतकालीन उद्धार कार्यमा पनि नेपाल टेलिकमको सेवा जीवनरक्षक हुने स्थानीयवासीहरूको विश्वास रहेको छ । यसै क्रममा नेपाल टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सुरु गरेको छ । सो सेवा मिति असोज २८ गतेदेखि भी–एसएटी प्रविधिमार्फत सुचारु गरिएको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा अवस्थित नागाउँ साइटबाट च्छो–रोल्पा, बेदिङ–ना, दूधकुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्प लगायतका क्षेत्रका स्थानीय तथा पर्यटकहरूले अब सहज सञ्चार सम्पर्क गर्न पाउनेछन्। उच्च उचाइ, कठोर मौसम र जनशक्ति अभावबीच पनि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरूले गरेको अथक प्रयासका कारण दुर्गम हिमाली क्षेत्रमा आधुनिक सञ्चार सेवा विस्तार सम्भव भएको हो । नेपाल टेलिकमले भविष्यमा पनि देशका अन्य दुर्गम पर्यटन र सीमावर्ती क्षेत्रमा आधुनिक प्रविधियुक्त सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल टेलिकमले ल्यायो पोस्टपेड ग्राहकका लागि ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग र सहजताका लागि जीएसएम पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नयाँ योजना २०८२ असोज ३१ गतेदेखि लागू हुनेछ । टेलिकमले पहिले सञ्चालनमा रहेका सजिलो अनलिमिटेड प्याकेजहरू — ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याक — लाई मुख्य अफरका रूपमा लिएर स्वचालित रूपमा रिन्यु हुने सुविधा सुरु गरेको हो । अब यी प्याकेजहरूको समयावधि समाप्त भएपछि स्वतः पुनः खरिद (रिन्युवल) हुनेछ । नयाँ प्रणालीअन्तर्गत पहिलो पटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेटेड आधारमा रकम काटिनेछ । त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा स्वचालित रूपमा सोही प्याकेज रिन्यु हुनेछ। यद्यपि उक्त मितिमा बिल तयार गर्दा ग्राहकको उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभए सेवा अवरुद्ध हुनेछ । भुक्तानी गरेपछि मात्रै सेवा पुनः सुचारु हुने व्यवस्था गरिएको छ । ग्राहकले आवश्यक परे थप डाटा वा एसएमएसका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् । त्यस्तै, बढी वा कम संसाधन भएका अन्य रिकरिङ प्याकेज वा साबिकका नर्मल डेटा र एसएमएस प्याकेज पनि प्रयोग गर्न सकिनेछ। यदि एउटा रिकरिङ प्याकेज सक्रिय अवस्थामा अर्को रिकरिङ प्याकेज खरिद गरियो भने नयाँ प्याकेज पेन्डिङ स्थितिमा रहनेछ र आगामी अंग्रेजी महिनाको १५ तारिखमा मात्रै सक्रिय हुनेछ । तर, सामान्य प्याकेज लिएको अवस्थामा छोटो भ्यालिडिटी भएको प्याकेजको संसाधन पहिले खर्च हुनेछ । ग्राहकले चाहेमा जीएसएम पोस्टपेड अफर सब्सक्राइब गरी ‘रिकरिङ सेवा’ बन्द गर्न पनि सक्नेछन् । रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न *1415*2*4# डायल गरी छनोट गर्नुपर्नेछ । नेपाल टेलिकमले उक्त योजनाबाट ग्राहकले सजिलै आफ्ना सेवाहरू निरन्तर उपयोग गर्न सक्ने र समयमै रिन्युवलका झन्झटहरू कम हुने अपेक्षा व्यक्त गरेको छ ।