टेलिकमले भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क दिने
काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा हिजो रातिदेखि नै सक्रिय गरिएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउनका लागि यो पहल गरिएको उनले बताए । ग्राहकहरूले निशुल्क डेटा सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ । यससम्बन्धी जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइसकिएको पनि प्रवक्ताले जानकारी दिए । निशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ भने भ्वाइस कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त
काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।
युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।